ad ad

राजनीति


कमिसन प्रकरणमा मुछिएपछि पनि भ्रष्टाचारविरुद्ध भाषण दिँदै थिए बाँस्कोटा

कमिसन प्रकरणमा मुछिएपछि पनि भ्रष्टाचारविरुद्ध भाषण दिँदै थिए बाँस्कोटा

गोकुल जोशी
फागुन ८, २०७६ बिहिबार ११:१२,

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार पदबाट राजीनामा दिएका छन्।

राजीनामा दिनुपूर्वका २४ घण्टा मन्त्री बाँस्कोटाले कञ्चनपुरका विभिन्न ठाउँका कार्यक्रममा बिताए।

मन्त्री बाँस्कोटा गोरखापत्र प्रकाशनद्वारा आयोजित कोहलपुर संस्करणको शुभारम्भ समारोहमा सहभागी हुन् बुधबार कोहलपुर आएका थिए। त्यहीबाट कञ्चनपुरको आउने कार्यक्रम जुराए। उनी बुधवार दिउँसो कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आइपुगेका थिए।
महेन्द्रनगरस्थित सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव–२०७६ का प्रमुख अतिथि थिए, बाँस्कोटा।

व्यंग्यात्मक शैलीमा निकै चोटिलो अभिव्यक्ति राख्ने बाँस्कोटाले कञ्चनपुरका कार्यक्रममा सरकारको विरोध गर्नेको कडा प्रतिवाद मात्रै गरेनन्, भ्रष्टाचारविरुद्ध चर्को आवाज समेत उठाए। यद्यपी अहिले उनै बाँस्कोटाले ‘ सेक्युरिटी प्रेस खरिद गर्न कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड घुस मागेको अडियो सार्वजनिक’ भएपछि पदबाट राजीनामा दिनुपर्‍यो।

उनले महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सरकार भ्रष्टाचारविरुद्ध रहेको उल्लेख गर्दै बालुवाटार प्रकरणजस्ता अनेकौँ प्रकरणको खुलासा हुँदै जाने बताएका थिए। ‘बालुवाटार प्रकरण के आएको थियो सरकारले गर्दिए जस्तो जाइलागेका छन्। अब वाइडवडी आउँदै छ, क–कसको रुवाबासी चल्छ हेरौँला’, उनले भनेका थिए।

नयाँ–नयाँ भ्रष्टाचारका प्रकरण बाहिरिने अभिव्यक्ति दिएका बाँस्कोटाकै ७० करोड कमिसनको एउटा अडियो रेकर्डका कारण मन्त्री पद खुस्कियो। अडियो सार्वजनिकपछि प्रमुख प्रतिपक्षी दल, अन्य दलहरु र आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले राजीनामा माग्दै कारबाहीको माग समेत गरेका थिए।

महेन्द्रनगरको होटल ओपेरामा रात बिताएका बाँस्कोटाको बिहीबार बिहान ७ः३० बजे प्रेस संगठनको आयोजनामा पत्रकार सम्मेलन तय भएको थियो। बुधवार बेलुकी नै ७० करोड कमिसनको अडियो सार्वजनिक भएपछि उक्त पत्रकार सम्मेलन स्थगित भएको थियो।
उनी बिहीबार बिहानै बेलडाँडीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी भए। त्यसपछि बेलौरीस्थित नेपाल टेलिकम दूरसञ्चार कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरे। महेन्द्रनगर, बेलडाँडी, बेलौरी र पुनर्वासका कार्यक्रममा बोल्दै बाँस्कोटाले सरकार भ्रष्टाचार नियन्त्रणमा दृढ रुपमा अगाडि बढेको बताएका थिए।

‘हामी भ्रष्टाचार नियन्त्रणमा दृढ रुपमा अगाडि बढेका छौँ, धेरै कुरा उजागर हुँदै जाने छन्’, सेक्युरिटी प्रेस खरिद सम्बन्धमा सार्वजनिक ७० करोड कमिसन मागेको अडियोबारे बोल्दै मन्त्री बाँस्कोटाले भनेका थिए, ‘हाम्रै बारेमै आए पनि केही डर छैन, यसमा छानबिन होला, बहस होला, तर्क होला, वितर्क होला, सबैभन्दा महत्वपूर्ण कुरा त तथ्य हो, त्यसबाट जानु पर्‍यो।’

गत संसदीय चुनावमा काभ्रे क्षेत्र नं. २ बाट निर्वाचित हुनुअघि बाँस्कोटा एमाले सर्कलमा मात्रै परिचित थिए। सञ्चार मन्त्री नियुक्त भएपछि बाँस्कोटा लगातार मिडिया र सामाजिक सञ्जालमा छाइरहेका छन्। काभ्रेबाट पहिलो पटक सांसदमा विजयी भएका बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी पाएका थिए। उनले केही दिन अगाडि मात्रै शहरी विकास मन्त्रालयको जिम्मेवारी समेत पाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .