सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाका क्रममा भएको सम्वादमा राष्ट्रसेवक कर्मचारीलाई आपत्तिजनक शब्द प्रयोग गर्दै मुखछाडेकोमा नेपाल निजामती कर्मचारी (संघ)ले आपत्ति जनाएको छ।
‘निजामती कर्मचारीलाई अश्लिल/उपेक्षा बोधक शब्द सम्बोधन गरिएको अडियो रेकर्डका सम्बन्धमा संघको केन्द्रीय समिति खेद व्यक्त गर्दछ’, संघ उपमहासचिव दुर्गाप्रसाद फुँयालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
मन्त्री पदमा रहेको व्यक्ति भ्रष्टाचारको सेटिङमा संलग्न भएको तथ्य बाहिरिनु तथा भ्रस्टाचार सुरक्षार्थ आम राष्ट्रसेवकलाई अश्लिल शब्द प्रयोग गर्नु दुःखको विषय भएको विज्ञप्तिम उल्लेख छ। ‘प्रधानमन्त्रीका विश्वासपात्र नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी लिएका व्यक्तिबाट बोलिएको यस्तो अश्लिल शब्दले आम राष्ट्रसेवकको मान मर्दन गरेको छ’, विज्ञप्तिमा भनिएको छ, 'यो कारवाही योग्य अपराध हो।'
विज्ञप्ति

मन्त्री बाँस्कोटामाथि कारवाही नभए नेपाल सरकारको भ्रस्टाचार नियन्त्रण र सुशासन नारामा मात्र सीमित हुने विज्ञप्तिमा उल्लेख छ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाका क्रममा मन्त्री बाँस्कोटाले ७० करोड रुपैयाँ कमिसन मागेको अडियो आज सार्वजनिक भएको थियो। सो अडियोको एउटा प्रसंगमा उनले राष्ट्रसेवक कर्मचारीलाई अश्लिल शब्द प्रयोग गरेका छन्।

प्रतिक्रिया