राजनीति


इलाम–२ : रास्वपा र पहिचान पक्षधरको हस्तक्षेपकारी अभियानले एमाले–कांग्रेसलाई मत जोगाउन हम्मे

इलाम–२ : रास्वपा र पहिचान पक्षधरको हस्तक्षेपकारी अभियानले एमाले–कांग्रेसलाई मत जोगाउन हम्मे

सहरी क्षेत्रको मत नयाँ उदाएका दलतिर, पहिचान पक्षधरको मत मुढातिर ढल्कँदा कांग्रेस–एमालेलाई आफ्नो पुरानो मत जोगाउनुपर्ने चुनौती छ (तस्बिर : सरोज नेपाल)


रुपक चौलागाईं
बैशाख ९, २०८१ आइतबार १७:२, इलाम

इलाम क्षेत्र नम्बर २ मा ४२ वटा वडा छन्। ७९ मतदान केन्द्र तोकिएका छन्। यीमध्ये ०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले २२ वटा वडामा जित हात पार्‍यो। 

इलाम नगरपालिकाका १२ मध्ये ८, देउमाई नगरपालिकामा ४, चुलाचुली गाउँपालिकाका ५, फाकफोकथुम गाउँपालिकाका ४, माई नगरपालिकाका १ गरी २२ वडाको अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका थिए। 

इलाम नगरपालिकाको १० नम्बर वडा भने यस क्षेत्रमा पर्दैन, जुन वडामा यसअघि कांग्रेसले नै जितेको थियो।

बाँकी २० वडामध्ये नेकपा एमालेले १७ वटा जित्यो। 

इलामका ३, देउमाईका ५, माङ्सेबुङका ४, फाकफोकथुमका ३ र माईका २ गरी १७ वटा वडाको अध्यक्ष एमालेले आफ्नो पोल्टामा पारेको थियो। 

बाँकी तीनमध्ये माङ्सेबुङको वडा नम्बर ३ मा माओवादी केन्द्र, वडा नम्बर ५ मा संघीय लोकतान्त्रिक र चुलाचुलीको वडा नम्बर १ मा राष्ट्रिय जनमुक्तिका उम्मेदवार विजयी बनेका थिए। 

अघिल्लो स्थानीय तहको मत केलाउँदै अहिले इलाम–२ को निर्वाचनमा खटिएका दलका कमान्डरहरू हिसाबकिताब गरिरहेका छन्।

एमालेले स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाङ्फे, नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई चुनावी कमान्डर बनाएर खटाएको छ। 

यी तीनै कमान्डरहरू आफ्नो पक्षमा चुनावी नतिजा रहेको दाबी गर्छन्। तर, इलाम–२ को यसपटकको निर्वाचन बुझ्न त्यति सहज छैन। 
१७०३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस जिल्लामा पहिला तीनवटा निर्वाचन क्षेत्र थिए। ०७४ देखि दुईवटा बनाइएको छ। 

अहिले दलहरूले प्रतिष्ठाको विषय बनाएको यो क्षेत्र एमालेका स्व. नेता सुवास नेम्बाङको गढ मानिन्थ्यो। २५ वर्षसम्म नेम्बाङ यही क्षेत्रबाट अनवरत जिते। 

संविधान सभा अध्यक्ष तथा सभामुखसम्म नेम्बाङ यहीँका मतदाताको आशिर्वादले पुगे।

यसपटक उनै नेम्बाङपुत्र सुहाङसहित नेम्बाङसँग हारेका कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बुलगायत प्रतिस्पर्धामा उत्रिएका छन्। 

इलाम–२ का लगभग ६० प्रतिशत भूगोल डुलिसकेपछि यो निर्वाचनमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बु (थेगिम) लाई नजरअन्दाज गर्न सकिँदैन।

थेगिम पहिचानपक्षधर उम्मेदवार हुन्। विशेष गरी, पहिचानको आन्दोलनलाई मुख्य मुद्दा बनेको भूगोलमा मतदाताको उल्लेख्य हिस्सा थेगिमका पक्षमा देखिन्छ। 

स्वतन्त्र उम्मेदवारी दिएका थेगिमलाई निर्वाचन आयोगले मुढा चुनाव चिन्ह प्रदान गरेको छ।
०००

इलाम–२ बाट एक जना संघीय सांसद भित्र्याउनेमा मात्रै यो चुनाव सीमित छैन। ०८४ को निर्वाचनको शक्ति परीक्षणका रूपमा पनि हेरिएको छ। 

यसबारे चर्चा गर्नुअघि यहाँका ६ वटामा पालिकामा पर्ने ४२ वटा वडाको मत विश्लेषण गरौँ। 

इलाम नगरपालिकाका १२ मध्ये ११ नम्बर वडा यस क्षेत्रमा पर्दैन। बाँकी ११ मध्ये कांग्रेसले ८ र एमालेले ३ वटामा जितेको थियो। 

कांग्रेसले १, ४, ५, ६, ७, ८, ९ र १२ मा वडाध्यक्ष जितेको थियो। एमालेले भने २, ३ र ११ नम्बरमा जित्यो। 

कांग्रेसले जितेका यी वडामा वडाध्यक्षले पाएको मत जोड्दा ९ हजार ३ सय ११ हुन आउँछ। त्यस्तै, एमालेको २ हजार ५ सय ४१ मत पुग्छ। 

यहाँ कुल मतदाता ३४ हजार ४५ छन्। मेयरमा कांग्रेसका केदार थापा १३ हजार १६५ मतसहित विजयी बनेका थिए। निकटतम् प्रतिद्वन्द्वी एमालेका धीरेनकुमार चेम्जोङले १० हजार ५ सय ८७ मत ल्याएका थिए। 

इलाम नगरपालिका सुवास नेम्बाङको स्थायी घर भएको स्थानीय तह पनि हो। यहाँको वडा नम्बर ७ स्थित सुन्तलाबारीमा अहिले पनि नेम्बाङको पुरानै शैलीको घर छ। 

नेम्बाङकै वडामा कांग्रेसले जित्दा त्यतिखेर निकै चर्चाको विषय बनेको थियो। 

यसपटक पनि यस वडाबाट उल्लेख्य मत पाउन सक्ने आशा एमालेलाई छैन। सहरी क्षेत्र भएकाले पनि नयाँ दलप्रति मतदाता ‘मुभ’ हुने एमाले नेतृत्वपंक्तिको बुझाइ छ। त्यसैले आफ्नो मतको सुरक्षा नै एमालेले मुख्य रणनीति बनाएको छ।

यस नगरपालिकामा कांग्रेसको सांगठनिक मत बलियो देखिन्छ। तर, उम्मेदवार तय गर्ने बेलामा देखिएको कचिंगलको प्रभाव मतमा पर्न सक्नेछ। 

रास्वपाले यसैलाई अवसरमा परिणत गर्न खोजिरहेको छ। पहिलो नम्बरको सिफारिसमा परेर टिकट नपाएका भेषराज आचार्यतर्फको असन्तुष्ट समूहको भोट घण्टीतिर तानिने रास्वपाको बुझाइ छ। 

‘यसपालि भोट त घण्टीमा हाल्ने हो भन्छन्, तर खुल्नचाहिँ मिलेको छैन भन्छन्,’ इलाम नगरपालिकाको चुनाव प्रचारमा खटिएका रास्वपाका एक स्थानीय नेताले भने।

इलामपछि धेरै मतदाता भएको पालिका हो, देउमाई नगरपालिका। यहाँ २६ हजार ३ सय ६५ मतदाता छन्। 

देउमाईका ९ वटा वडामध्ये १, २, ४, ५ र ८ गरी एमालेले ५ वटा वडामा जितेको थियो। त्यस्तै, ३, ६, ७ र ९ मा गरी ४ वटामा कांग्रेसले जितेको थियो। 

एमालेका वडाध्यक्षले पाएको मत जोड्दा यहाँ ५ हजार २ सय २४ पुग्छ। त्यस्तै, कांग्रेसको ४ हजार २ सय ८३ मत हुन्छ।

प्रमुखमा एमालेका सूर्यप्रसाद पोखरेले ८ हजार ६ सय ९५ मतसहित विजयी हुँदा कांग्रेसका होमबहादुर दुलाल ७ हजार ६ सय २२ मत ल्याएर पराजित बनेका थिए।

त्यतिबेला यहाँ कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन पनि थियो। कांग्रेसले प्रमुखमा दुलाललाई अघि सार्दा माओवादीले रामकुमार राईलाई उपप्रमुखको उम्मेदवार बनाएको थियो। 

कांग्रेस र माओवादी मिल्दा पनि त्यतिबेला देउमाईमा ठूलो मतान्तरसहित एमालेले जितेको थियो। अहिले माओवादीले एमालेलाई सघाएको छ। 

यस्तो अवस्थामा देउमाईबाट एमालेले मतान्तर बढाउने बुझाइ नेतृत्वपंक्तिमा छ। 

देउमाईलाई एमालेले अहिले पनि आफ्नो गढ मान्छ। 

यस निर्वाचनमा पनि एमालेले यहीँबाट मतान्तर बढाउने तयारीमा जुटेको छ। यही नगरपालिकामा पर्ने मंगलबारे बजारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितलाई बोलाएर एमालेले बृहत् सभासमेत गरिसकेको छ। 

सो सभाबाट ओलीले सुहाङलाई जिताएर पठाए यहाँको विकासको जिम्मा आफूले नै लिने उद्घोषसमेत गरेका थिए। 

इलाम र देउमाईपछि यस क्षेत्रको धेरै भोट चुलाचुली गाउँपालिकामा छ। चुलाचुलीमा १८ हजार ५ सय ४५ मतदाता छन्। 

चुलाचुलीलाई कांग्रेसले आफ्नो गढ मान्छ। स्थानीय निर्वाचनको मत हेर्दा पनि त्यस्तै देखिन्छ।

त्यतिबेला यहाँका ६ मध्ये ५ वटा पालिकामा कांग्रेस एक्लैले जितेको थियो। २, ३, ४, ५ र ६ नम्बर वडाको अध्यक्ष कांग्रेसले आफ्नो पोल्टामा पार्‍यो। 

यहाँ वडाध्यक्षले पाएको मत जोड्दा ४ हजार ३ सय ८७ पुग्छ। 

सबै वडामा एमालेकै उम्मेदवारसँगको प्रतिस्पर्धा देखिन्छ तर एमालेका कुनै उम्मेदवार विजयी भएनन्। झण्डै ३ हजार मत एमालेको पक्षमा परेको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ। 

वडा नम्बर १ मा भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार विजयी भए। 

चुलाचुलीमा अहिले भएकै मत जोगाउने एमाले नीति छ। कांग्रेसलाई घण्टीतिर भोट जाने चिन्ता बढी छ। कांग्रेसको बलियो उपस्थिति रहेको यस पालिकाबाट असन्तुष्ट मत तान्ने रास्वपाको प्रयास छ। 

उता, फाकफोकथुम गाउँपालिकामा १६ हजार ३ सय २ जना मतदाता छन्। 

यहाँका वडा नम्बर ३, ५ र ६ गरी तीनवटा वडामा एमालेले जितेको थियो। १, २, ४ र ७ मा भने कांग्रेसका वडाअध्यक्ष विजयी भए। 
वडाध्यक्षको मात्रै मत हेर्दा, एमालेको २ हजार ९० र कांग्रेसको ३ हजार २ सय ९६ मत देखिन्छ। 

फाकफोकथुम इलाम बजारबाट सुदूरपश्चिममा पर्छ। 

यहाँ एमालेले वडा तीनवटा मात्रै जिते पनि पालिका अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो। 

त्यतिबेला यहाँ पनि कांग्रेस–माओवादीको गठबन्धन थियो। 

अध्यक्षमा माओवादीले कांग्रेसलाई र उपाध्यक्षमा कांग्रेसले माओवादीलाई सहयोग गरेको थियो।

एमालेका दीपेन्द्र खनाल ५ हजार ३ सय २२  मतसहित विजयी हुँदा कांग्रेसका डिकबहादुर थापाले ४ हजार ८ सय २१ म्त मात्रै पाएका थिए।
उपाध्यक्षमा एमालेकी कल्पना राई ५ हजार १ सय ५८ मतसहित विजयी हुँदा माओवादी केन्द्रका कुलबहादुर राईले ४ हजार १ सय ७४ मत ल्याएका थिए। 

थापा र राईले प्राप्त गरेको मत कांग्रेस–माओवादी दुवैको हो। कांग्रेस र माओवादीको गठबन्धन हुँदा पनि जितेका कारण यहाँ एमालेको अवस्था बलियो देखिन्छ।

यसपटक यहाँको माओवादी मत पाउने विश्वासका साथ एमाले झन् बढी उत्साही देखिन्छ।

चुनावमा मत कता जान सक्छ भन्ने यकिन नभएको ठाउँ हो, माङ्सेबुङ गाउँपालिका। 

यहाँ ६ वटा वडा छन्। कुल मतदाता १२ हजार ५ सय ३६ रहेको यस पालिकामा ११ वटा मतदान केन्द्र छन्। 

गत स्थानीय तहको निर्वाचनमा यहाँ एमालेले वडा नम्बर १, २, ४ र ६ गरी ४ वटामा नेतृत्व पाएको थियो। माओवादी केन्द्रले वडा नम्बर ३ र राष्ट्रिय जनमुक्ति पार्टीले वडा नम्बर ५ मा जित हात पारेको थियो। 

माङ्सेबुङबाट एमालेका ४ जना वडाध्यक्षले २ हजार ४ सय ९९ मत ल्याएका थिए। माओवादी केन्द्रले वडा नम्बर ३ मा ७ सय ६० मत ल्याएर जितेको थियो। 

यहाँको पालिका अध्यक्षमा एमालेका हेमन्त राई ३ हजार ८ सय १७ मत ल्याएर जितेका थिए भने उपाध्यक्ष जनता समाजवादी पार्टीले हात पारेको थियो। 

त्यतिबेला जसपा र कांग्रेसबीच पनि सहकार्य थियो। अध्यक्षमा जसपाले कांग्रेस उम्मेदवार डिकेन्द्र इन्दिङ्गोलाई र उपाध्यक्षमा जसपाका विनोदकुमार नेम्बाङलाई कांग्रेसले सहयोग गरेको थियो। नेम्बाङ ३ हजार ७ सय २९ मतसहित विजयी बने।

यहाँ जसपाले उपाध्यक्ष जित्दा कांग्रेसले हार्‍यो। एमालेले उपाध्यक्षमा ३ हजार ४६ मत प्राप्त गरेको थियो। 

माङ्सेबुङ विकट पालिका हो। यही पालिकाको वडा नम्बर २ मा रास्वपा उम्मेदवार मिलन लिम्बुको घर छ। 

माङ्सेबुङका वडा नम्बर २ को धेरैजसो भोट घण्टीतिर जाने देखिन्छ। स्थानीय उम्मेदवार र कांग्रेसभित्रको आन्तरिक लडाइँको प्रभाव माङ्सेबुङका १, २, ४ र ६ नम्बर वडामा पर्न सक्ने देखिएको छ। 

यही पालिकाको वडा नम्बर ५ मा भने अवस्था निकै फरक छ। वडा नम्बर ५ धर्मगुरु फाल्गुनन्दका चेला आत्मानन्द लिङ्देनको समेत प्रभाव क्षेत्र हो।

यहाँका स्थानीयहरू यतिबेला बलियोसँग पहिचानको मुद्दा स्थापित गर्ने पक्षमा छन्। 

वडा नम्बर ५ को लारुम्बामा धर्मगुरुको ठूलो प्रभाव छ। 

सरस्वती मावि, भालुटार, लारुम्बा मतदान केन्द्रमा २ हजार ७ जना मतदाता छन्। यो भोट धर्मगुरुकै निर्देशनबाट चल्छ। 

रोचक कुरा के छ भने यस वडाको निर्वाचनमा एमाले, कांग्रेस, माओवादी लगायतका दल उम्मेदवारी नै दिँदैनन्। 

गत स्थानीय तहको निर्वाचनमा पनि यहाँ अन्य दलका उम्मेदवार नै थिएनन्।

२ हजार मतदाता रहेको यो क्षेत्रमा राष्ट्रिय जनमुक्ति पार्टीका नरेन्द्रकुमार राई एक्लैले ८ सय ३७ मत ल्याएका थिए। खरायो चुनाव चिन्ह लिएर सुव दल सेलिङ पनि स्वतन्त्र उठेका थिए। 

उनले २ सय २८ मत ल्याएको निर्वाचन आयोगको तथ्यांकमा छ। 

अहिले पनि यहाँ शतप्रतिशत  धर्मगुरुमाथि आस्था राख्छन्। लारुम्बाका स्थानीय बुद्धि नेम्बाङका अनुसार, यसपटक पहिचानको सम्बोधन नहुने ठाउँमा यस क्षेत्रबाट भोट जाँदैन। 

‘हामीलाई पहिचान चाहिन्छ। पहिचान सम्बोधन हुँदैन भने हामी भोट हाल्न सक्दैनौँ, क्लियर कुरा, यो क्षेत्रलाई कसैले भोटको बैंक मात्रै नबनाऊन्,’ उनले प्रश्न गरे।

उनै नेम्बाङले रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछाने लारुम्बा पुग्दा पनि पहिचानबारे प्रस्ट धारणा माग गरेका थिए। 
यहाँको भोट पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह लिम्बु थेगिमले पाउने सम्भावना छ। अन्य दलहरूका शीर्ष नेताहरू पनि त्यही आकलनमा छन्। 

रास्वपाले पार्टी सभापतिलाई नै लारुम्बा पुर्‍याएर मतदाता आकर्षित गर्न खोजे पनि पहिचानको विषय स्पष्ट नभएसम्म यस क्षेत्रको भोट पाउन सहज छैन।

बाँकी रह्यो, माई नगरपालिका।

माई नगरपालिकाका जम्मा तीनवटा वडा मात्रै यस क्षेत्रमा पर्छन्। 

जसमध्ये वडा नम्बर ६ मा कांग्रेसले जितेको थियो। ७ र ८ मा भने एमालेले जितेको थियो। 

यी तीन वडामा कुल ८ हजार ९६ मतदाता छन्। 

७ र ८ मा एमालेका वडाध्यक्षहरूले १ हजार ७९८ मत बटुलेका थिए। ६ नम्बर वडामा कांग्रेसका वडाध्यक्षले ८ सय ५८ मत पाएका थिए। 
यी वडाहरूमा पहिचान पक्षधरको पनि केही प्रभाव देखिन्छ। तर, माङ्सेबुङको वडा नम्बर ५ मा जस्तो भने छैन। 

कांग्रेसले जितेको वडामा एमालेको र एमालेले जितेको वडामा कांग्रेसको प्रतिस्पर्धात्मक मत छ। पालिकाभरि हेर्दा एमालेको मत राम्रो देखिन्छ। त्यसैले एमाले यहाँ आफ्नो मत जोगाउने रणनीतिका साथ लागेको छ।
०००

यस्तो परिदृश्य रहेको इलामको चुनावी परिणामबारे देशकै ध्यान खिचेको छ। 

सहरी क्षेत्रको मत नयाँ उदाएका दलतिर, पहिचान पक्षधरको मत मुढातिर ढल्कँदा कांग्रेस–एमालेलाई आफ्नो पुरानो मत जोगाउनुपर्ने चुनौती छ।

इलामकै अग्रज पत्रकार धर्म गौतमका अनुसार, यसपटक सहरी क्षेत्रको मत पाउन पुराना दललाई सहज छैन। 

गौतम इलाम बजारमा बसेर यहाँको चुनावी माहोललाई नजिकबाट केलाइरहेका छन्। 

‘म रास्वपा सदस्य होइन, म बीपीसँग राजनीति गरेको मान्छे हुँ। तर यसपटक रास्वपाप्रति केही आशा छ,’ उनले सुनाए। यहाँको निर्वाचनले मिसन–०८४ को रास्वपा अभियानलाई पनि कम्तीमा ५० प्रतिशत असर गर्ने उनको बुझाइ छ। 

रास्वपाको कमजोर संगठन हुँदाहुँदै एमाले–कांग्रेसको असन्तुष्ट मत तानेर प्रतिस्पर्धामा पुग्न सकिने रास्वपा नेताहरूको बुझाइ छ।

यस क्षेत्रमा पहिचानको मुद्दा पेचिलो देखेका कारण रास्वपाले लिम्बु समुदायको उम्मेदवार खोज्ने क्रममा मिलनलाई अघि सारेको हो।

त्यसो त, कांग्रेसले भूगोल बुझेको उम्मेदवार भन्दै पुरानै उम्मेदवार डम्बरबहादुर खड्कालाई मैदानमा उतारेर पुरानो मत संरक्षण हुने आकलन गरेको छ। र, यति गर्न सके चुनाव जित्न सकिने उसको बुझाइ छ। 

एमालेले पहिचान पक्षधरले भोट काट्न सक्ने क्षेत्रमा मिहिनेत गर्नुपर्ने निष्कर्ष निकालेको छ। 

एमालेले नयाँ, युवा तथा पहिचान पक्षधरतिर मत ढल्किन नदिनु र एमाले तथा सुवास नेम्बाङको विरासत पनि कायम राख्नु नै खास चुनौती ठानेको छ। त्यसैले एमाले नेतृत्वले युवा उमेरका, लिम्बु समुदायका र सुवास नेम्बाङकै छोरा सुहाङलाई अघि सारेको देखिन्छ।  

उता, पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह भने धरानका मेयर हर्क साम्पाङलाई चुनावी मोर्चामा अघि सार्दै जनतालाई मुढा चिन्हसँग परिचित गराउन खोजिरहेका छन्। पूर्वशिक्षक डकेन्द्र विभिन्न धार्मिक एवं सामाजिक संस्थाहरूमा आबद्ध छन्। उनले लामो समय सुवास नेम्बाङलाई सहयोग गर्दै आएका थिए।

जित्ने गरी नै नभए पनि निर्णायक भोट काट्न सक्ने गरी डकेन्द्रसिंहले अभियान चलाएको देखिन्छ।

यसरी हेर्दा कांग्रेस र एमालेको प्रतिस्पर्धा रहेको इलाम–२ मा रास्वपा र पहिचान पक्षधरको हस्तक्षेपकारी प्रवेशले चुनावी दृश्य निकै रोचक बनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .