ad ad

राजनीति


ओलीनिकट हुँदा अञ्जानलाई अवसरै अवसर, ‘नमूना केस’ बनाउँदैछन् एमालेकै नेता

प्रतिष्ठानको उपनिर्देशक, इजरायलको राजदूतपछि अब ६ वर्षका लागि राष्ट्रिय सभा सदस्य
ओलीनिकट हुँदा अञ्जानलाई अवसरै अवसर, ‘नमूना केस’ बनाउँदैछन् एमालेकै नेता

नेपालखबर
चैत ३०, २०८० शुक्रबार १६:५४, काठमाडौँ

नेकपा एमालेमा केपी शर्मा ओली शक्तिमा उदाएपछि सीमित नेता–कार्यकर्ताले  प्रायः दोहोर्‍याएर अवसर पाइरहेका छन्। यसरी बारम्बार अवसर पाइरहनेमध्ये पर्छिन्, अञ्जान शाक्य।

२०६४ मा ओलीले आफू परराष्ट्रमन्त्री हुँदा शाक्यलाई परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा उपकार्यकारी निर्देशक बनाएका थिए। त्यतिखेर अन्तर्राष्ट्रिय मामिला तथा सुरक्षासम्बन्धी विज्ञको ठाउँमा असम्बन्धित क्षेत्रबाट शाक्यलाई नियुक्त गरिएको भनेर ओलीको आलोचना भएको थियो।

ओली प्रधानमन्त्री भएपछि २०७५ कात्तिकमा शाक्यलाई इजरायलको राजदूत बनाइदिए। २०७८ मा ओली सरकार ढलेपछि कांग्रेस–माओवादी गठबन्धनबाट शेरबहादुर देउवा प्रधानमन्त्री बने। देउवा सरकारले ओलीका पालामा नियुक्त राजदूतहरूलाई फिर्ता बोलाउने क्रममा शाक्य पनि फिर्ता भएकी थिइन्।

ओलीनिकटस्थतहरूका अनुसार, उनले आफ्नो पहिलो प्रधानमन्त्रीकाल २०७२ मै शाक्यलाई जापानका लागि राजदूत सिफारिस गर्न खोजेका थिए। तर, त्यो कार्यकाल लामो समय चलेन। दोस्रोपटक दुई तिहाई बहुमतको सरकारका प्रधानमन्त्री बनेपछि ओलीले इजरायल पठाए।

२०७९ को आमनिर्वाचनपछि फेरि एमाले–माओवादी गठबन्धन बन्यो। पुसमा पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएका ओलीले माघमा शाक्यलाई राष्ट्रिय योजना आयोगको सदस्य बनाउन प्रस्ताव गरेका थिए। तर शाक्यले नै सो नियुक्ती लिन अस्वीकार गरेकी थिइन् त्यसबेला। 

अहिले ओली पुनः सत्ता गठबन्धन सञ्चालन गर्ने ठाउँमा पुगेपछि उनले चुनाव लड्नु नपर्ने तर ६ वर्षसम्म ढुक्कसँग सांसद बन्न पाउने गरी शाक्यलाई अवसर दिएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने राष्ट्रिय सभा सदस्यको एक मात्र खाली सिटमा शाक्यलाई पठाइएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राष्ट्रिय सभा सदस्य मनोनयनका लागि सिफारिस गरेको छ।  

शाक्य ‘यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा’ बोलको चर्चित गीतकी गायिका हुन्। उनले व्यवस्थापनमा विद्यावारिधि गरेकी छन्। पद्मकन्या क्याम्पसमा अध्यापन पनि गरिन्। 

उनको योग्यता र प्रतिभा आफ्नो ठाउँमा छ। तर, खासै धेरै दुःख गर्नु नपर्ने, एउटा सिफारिसका भरमा उच्च तहको पदीय अवसर पाइरहनुचाहिँ ओलीको नेतृत्वमा पार्टी सञ्चालन कसरी हुन्छ भन्ने कुराको एउटा ‘केस स्टडी’ मान्न सकिने एमाले नेताहरू बताउँछन्।

ओलीको यो शैलीसँग असन्तुष्ट नेताहरू खुलेर आलोचना गर्न भने तयार छैनन्। पार्टीको विदेश विभागमा लामो समय रहेर काम गरेका एक नेता भन्छन्, ‘आफ्ना निकटस्थलाई अधिक संरक्षण गर्ने र आलोचकलाई भित्तामै पुर्‍याउने ओलीको कार्यशैली अध्ययनका लागि यो केस स्टडी हो। पार्टी एकता नटिक्नु र विभाजनसम्म पुग्नुमा पनि यस्तै शैली जिम्मेवार थियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .