ad ad

राजनीति


‘हिट खबर’ बनेका २०८० का १३ उथलपुथल

‘हिट खबर’ बनेका २०८० का १३ उथलपुथल

सागर न्यौपाने
चैत ३०, २०८० शुक्रबार १९:५१, काठमाडौँ

नेपाली राजनीति अनिश्चयको यात्राजस्तो छ– के हुन्छ, अनुमान गर्न कठिन हुन्छ। वर्ष ०८० मा पनि नेपाली राजनीतिमा यस्तै आरोह–अवरोह अनि अनपेक्षित घटनाक्रम देखिए।

सत्ता गठबन्धनमा अदलाबदली, प्रदेशका सरकार परिवर्तनजस्ता घटनाक्रममले निरन्तरता पाए। आम चुनावबाट नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्ष पनि शक्ति विस्तार गर्‍यो। केही शक्तिशाली नेताहरू ठूला अपराध र भ्रष्टाचार काण्डमा जेल परे। एकपछि अर्का घोटाला र तस्करी काण्ड सार्वजनिक भए। 

यो वर्ष समाचारमा छाएका प्रमुख राजनीतिक घटनाक्रम यसप्रकार छन् :

१. ओली–प्रचण्ड पुनर्मिलन
०७९ पुस १० मा बनेको एमाले–माओवादी गठबन्धन २ महिनामा भत्कियो। २०७९ चैत १७ गते कांग्रेस–माओवादी गठबन्धन बन्यो। तर, सो गठबन्धन २०८० फागुन २१ मा टुटेर फेरि एमाले–माओवादी गठबन्धन बन्यो।

यी दुई पार्टीका शीर्ष नेता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पुनर्मिलन भयो। 

अघिल्लो वर्ष (२०७९ पुस १०) मा बनेकै गठबन्धनमध्ये राप्रपा, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबाहेक अन्य पाँच दल सत्ता साझेदारी गरिरहेका छन्। 

कांग्रेस–माओवादी गठबन्धन किन टुट्यो? यसको प्रष्ट जवाफ अझै सार्वजनिक भइसकेको छैन। यसका विभिन्न कारण अड्कलकै तहमा छन्। 

यसका पृष्ठभूमिमा केही घटना भएका थिए, जो उल्लेख्य छन्।

पहिलो, कोसीमा मुख्यमन्त्री बन्न सहमति गरेका माओवादीका इन्द्र आङ्बोलाई रोक्न कांग्रेसकै शेखर कोइराला पक्षले एमालेसँग मिलेर मुख्यमन्त्री फुत्काउनु।

दोस्रो, कांग्रेसको ललितपुरको गोदावरीमा सम्पन्न फागुन ७–१० को महासमिति बैठकमा प्रस्तुत उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापाका प्रतिवेदन। 

तेस्रो, सरकारको कामले गति नलिएको भन्दै प्रधानमन्त्री प्रचण्डले केही मन्त्री फेर्न गरेको प्रयासमा कांग्रेसको अनिच्छा। प्रचण्डले अर्थमन्त्री डा. प्रकाशशरण महतलगायतका मन्त्री फेरेर क्याबिनेटमा नयाँ अनुहार लैजाने योजना बनाए पनि कांग्रेस तयार नभएपछि रोकिनुपरेको थियो।

कांग्रेससँग मतभेद भएपछि प्रचण्ड ०७९ पुस १० मै फर्किए। एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले प्रचण्डलाई साथ दिए। पाँच दलबाट १५७ जना सांसदको साथ पाएर प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीको कुर्सीमा छन् र प्रचण्ड–केपीबीच पनि पुनर्मिलन भएको छ।

प्रधानमन्त्री भएको १६ महिनामा प्रचण्डले तीनपटक त विश्वासको मत नै लिए र आरामदायी समर्थन पाए। 

२. कांग्रेसलाई दोस्रो झट्का 
संसदमा ८९ सांसद रहेको कांग्रेस सबैभन्दा ठूलो दल हो। त्यस आधारमा सरकारको नेतृत्व उसैले गर्नुपथ्र्याे। त्यही भएर उसले ०७९ मंसिरमा सम्पन्न चुनाव लगत्तै आफनै नेतृत्वमा सरकार निर्माणको पहल गरेको पनि हो।

तर, गठबन्धनको अर्काे घटक माओवादी सहमत भएन। अध्यक्ष प्रचण्डले पहिलो कार्यकालको प्रधानमन्त्री हुने अडान राखे। त्यसमा कांग्रेस सभापनि शेरबहादुर देउवा तयार नहुँदा गठबन्धन भत्कियो। 

पुस १० मा बनेको फागुन १५ मै भत्काएर देउवाले प्रचण्डकै नेतृत्व स्वीकार गरी कांग्रेसलाई सत्तामा फर्काए। 

यो गठबन्धन एक वर्ष चल्यो। २०८० फागुन २१ गते एमाले–माओवादी गठबन्धन बन्यो। र, कांग्रेस अर्को झट्का बेहोर्दै प्रतिपक्षमा पुग्यो। 

३. उपचुनावमा रास्वपाको प्रभाव विस्तार 
०८० वैशाख १० मा तनहुँ १, चितवन २ र बारा–२ मा उपचुनाव भयो। तनहुँमा कांग्रेसको किल्ला भत्काएर रास्वपाले बाजी मार्‍यो।

चितवन २ मा रास्वपा सभापति रवि लामिछानेले झन् बढी मत पाएर क्षेत्र सुरक्षित गरे। 

२०७९ असार ७ मा बनेको रास्वपाले १० महिनामै कांग्रेस–एमाले गढमा धावा मात्र बोलेन, त्यो क्षेत्र नै खोस्न सफल भयो। 

बारा–२ मा भने जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जिते। सो क्षेत्रमा रास्वपाले उठाएका रमेश खरेलले थोरै मत पाए। वर्षको अन्तिमतिर (चैत २०८०) रमेशले रास्वपा छोडेका छन्। 

यादवले भने आफ्नै पार्टीका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर बारा २ खाली गराएका थिए। उनी सो क्षेत्र जोगाउन सफल भए।

उनी २०७९ मंसिरको चुनावमा सप्तरी २ बाट चन्द्रकान्त राउतसँग पराजित भएका थिए। हारेका व्यक्तिलाई फेरि उपनिर्वाचनको टिकट दिइएको राजनीतिमा गलत अभ्यास भएको भन्दै उपेन्द्रको विरोध भएको थियो।

४. १५ वर्षपछि राष्ट्रसंघ महासचिवको भ्रमण
संयुक्त राष्ट्रसंघका अध्यक्ष एन्टिनियो गुटरेस कात्तिक १२ गते नेपालको चार दिने भ्रमणमा आए। राष्ट्रसंघबाट उच्च तहमा १५ वर्षपछि नेपाल भ्रमण भएको हो।

प्रधानमन्त्री प्रचण्डको निमन्त्रणमा नेपाल भ्रमणमा आएका उनले शान्ति प्रक्रिया, जलवायु परिवर्तनले नेपाललाई पारेको असर लगायतका विषयमा कुरा उठाए।

कात्तिक १४ गते उनले संसदको दुवै सदनलाई सम्बोधन गरे। नेपालको शान्ति प्रक्रिया टुंगो लगाउन उनले दलहरुलाई सुझाव पनि दिए। 

५. प्रदर्शनमा प्रहरी दमन, चार युवाको मृत्यु
यो वर्ष प्रहरीको गोली प्रहारबाट चार युवाले ज्यान गुमाए। 

पुस १३ गते ललितपुरको बालकुमारीमा कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा युवाहरुले आन्दोलन गरे।

त्यसक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भयो।

आन्दोलन चर्किएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर वीरेन्द्र शाह र सुजन रावत मारिए।

सो घटनाको छानबिन गर्न गठित समितिले मन्त्री र प्रहरीलाई दोषी रहेको ठहर गरेको थियो। 

यस्तै, पुस २० मा सर्लाहीको बरहथवा नगरपालिकामा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ३२ वर्षीय जयशंकर साहको मृत्यु भयो। 

नगर अस्पताललाई प्रादेशिक अस्पताल बनाउने विषयमा बरहथवा नगरपालिकाका कार्यालयअगाडि शुक्रबार प्रदर्शन भएको हुँदा प्रहरीसँग स्थानीयबासीको झडप भएको हो। प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा साह मारिएका हुन्। 

उता, बाराको सिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षक–कर्मचारी र प्रहरीबीच झडपका क्रममा एक जनाको मृत्यु भएको छ। 

मंसिर २७ गते बारामा प्रहरीको गोली लागेर सिम्रौनगढ–१ ननसगराढाँटका २५ वर्षीय लक्ष्मी मुखिया बिनको मृत्यु भयो। 

६. ज्ञानेन्द्रको सक्रियता
गणतन्त्र स्थापनापछि नागार्जुनमा बसिरहेका पूर्वराजा ज्ञानेन्द्र शाहले यही वर्ष केही ठाउँमा पुगेर नागरिक अभिनन्दन गराए।

दलहरुप्रति जनतामा चुलिँदो निराशालाई आफूतिर तानेर राजनीतिमा आउने उनको प्रयास देखिन्छ। त्यसका लागि राप्रपा र केही अभियन्ताले माहोल बनाइरहेका छन्। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आन्दोलन नै गरे। ज्ञानेन्द्रलाई झापा लगेर अभिनन्दन गरे।

यस्तै, राप्रपाले राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र स्थापना, संघीयता लगायतका विषयमा असहमति जनाउँदै सरकारलाई ४१ बुँदे ज्ञापनपत्र बुझाएको छ। राप्रपाकै जुम्लाका सांसद ज्ञानेन्द्र शाहीले ज्ञानेन्द्रलाई जुम्ला लगेर अभिनन्दन गराए। 

७. प्रभावशाली नेता जेलमा
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएपछि नेपाली कांग्रेस र एमालेका प्रभावशाली नेता जेलमा पुगे।

पूर्वगृहमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र बालकृष्ण खाँण वैशाख २७ गते पक्राउ परे। सात महिनाको जेल बसाइपछि खाण मंसिर २८ गते उच्च अदालत पाटनको आदेशमा धरौटीमा रिहा भएका छन्।

यस्तै, सोही मुद्दामा एमालेका सचिव टोपबहादुर रायमाझी वैशाख ३१ पक्राउ परे। उनी अझै केन्द्रीय कारगारमा छन्। 

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अझै अधुरै छ।

पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक नक्कली भुटानी शरणार्थी काण्डमा फरार छन्। टोपबहादुर रायमाझीका छोरा सन्दीप यही काण्डमा पक्राउ परेका थिए। जिल्ला अदालतले थुनामा राख्न भने पनि उच्च अदालतले ३० लाख धरौटी लिएर छाडेको छ। 

८. बहालवाला दुई सांसदको निधन
नेकपा एमालेका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष एवं इलाम–२ बाट निर्वाचित सांसद सुवास नेम्वाङको असोज २५ गते राति हृदयाघातबाट निधन भएको थियो। 

असार ५ गते सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका तत्कालीन कानुनमन्त्री पृथ्वीबहादुर सिंहको ज्यान गयो।

यी दुवै क्षेत्रमा वैशाख १५ मा उपचुनाव हुँदै छ।

९. प्रचण्डका भ्रमण 
प्रधानमन्त्री प्रचण्डले केही मुलुकको भ्रमण गरे। उनी चीन, कतार, भारत, यूएई र इटली पुगे।

विकाससम्बन्धी सम्मेलनमा भाग लिन फागुन २० गते कतार गएका प्रधानमन्त्री तीनदिनसम्म त्यहीँ रहे।

२०८० जेठ २० मा चार दिने भ्रमणमा भारत गए।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को मुख्यालय रोममा आयोजित युनाइटेड नेसन्स फुड सिस्टम्स २०२३, स्टकिङ मोमेन्टमा भाग लिन साउन ६ गते इटली गए।

उक्त कार्यक्रम साउन ८ देखि १० गतेसम्म आयोजना गरिएको थियो। त्यहाँबाट उनी साउन १२ गते स्वदेश फर्किए।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भदौ ३० गते अमेरिकाको न्युयोर्क गए।

न्युयोर्कमा ६ दिन बिताएपछि असोज ५ गते सिधै चीन पुगे। चीनमा एक हप्ता बिताएपछि प्रचण्ड असोज १३ गते स्वदेश फर्किए। 

त्यसपछि प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २८औँ सम्मेलनमा भाग लिन मंसिर १३ गते यूएई गए।

मंसिर १६ र १७ गते यूएईमा सम्मेलनका क्रममा आयोजित विभिन्न छलफलमा उनी सहभागी भए। 

१०. सुन काण्ड
नेपालमा राजनीतिक दलदेखि व्यापारी, कलेजका लगानीकर्ता सबै जोडिएको सुन काण्डले वर्षभरि तहल्का मच्चायो। जसमा उच्च पदस्थ कर्मचारी, नेता, नेताका छोराछोरीसमेत जोडिए। 

६० किलो सुन, ९ किलो सुन काण्डमा प्रहरी अधिकारी, सरकारी कर्मचारी पनि जोडिए। पूर्वसभामुख कृष्णबहादुर महरा यही प्रकरणमा पक्राउ परे र रिहा भए। 

सुन तस्करी छानबिनको लागि बनेको समितिले विभिन्न व्यक्तिको नाम मुछेको छ। यद्यपि, अझैसम्म अनुसन्धान जारी छ।

सुन तस्करीका विषयमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान विभागलाई जिम्मा दिइएको थियो। 

११. ललितानिवास जग्गा फिर्ता 
०८० फागुन ३ गते विशेष अदालतले ललिता निवास र त्यसले चर्चेको करिब १ सय ३६ रोपनी जग्गा नेपाल सरकारका नाममा कायम हुने गरी फैसला गर्‍यो।

विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले सरकारले पञ्चायतकालमा मुआब्जा दिएर अधिग्रहण गरेको सबै जग्गा नेपाल सरकारका नाममा हुनेगरी फैसला गरेको हो।

विशेष अदालतको फैसलासँगै हाल विभिन्न व्यक्तिका नाममा रहेको सबै जग्गा जफत गरी फिर्ता ल्याउन सरकारलाई बाटो खुलेको छ। २०४९, २०६२ र ६३, २०६६–६७ र २०७९ का मालपोत, भूमिसुधार, मन्त्रालय र मन्त्रिपरिषद्का गैरकानुनी निर्णयका आधारमा तत्कालीन भोगाधिकारी, बिचौलिया, व्यापारी र कर्मचारीले सरकारी जग्गा हडपेका थिए। पूर्व सचिवहरु दीप बस्न्यात, छविराज पन्त दोषी ठहर हुँदा सो प्रकरणमा मुछिएका विजयकुमार गच्छदार, पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी र पूर्वसचिव दिनेशहरि अधिकारीले सफाइ पाए।

१२. सहकारी ठगी, जनताका अर्बाैँ ठगेर सञ्चालक फरार
यो वर्ष सहकारी ठगी प्रकरण अर्काे ठूलो काण्डका रुपमा देखियो। देशभरका केही सहकारीले खर्ब बढी सर्वसाधारणको बचत रकम हिनामिना गरेर फरार भएका छन्। 

पोखराको सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु राई सर्वसाधारणको अर्बाैं रकम अपचलन गरेर फरार भए। देशका विभिन्न सहकारीका रकम लिएर उनी मलेसिया बसेको प्रहरीले जनाएको छ। तर, उनलाई पक्राउ गर्न रेड कर्नर नोटिस जारी हुँदा पनि प्रहरीले नेपाल ल्याउन सकेको छैन। इमेज सहकारी बाग्लुङका अध्यक्ष समेत रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली डेढ अर्ब रकम ठगी गरेर फरार छन्। उनको नाममा रेड नोटिस जारी भएको छ। 

यस्तै, शिव शिखर सहकारी, सुमेरु, देउराली सहकारीले सर्वसाधारणको अर्बाैं रकम अपचलन गरेका छन्। सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको नाम समेत मुछिएको भन्दै कांग्रेसले संसद्‌मा अवरोध गरिररहेकै छ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन बुटवलको एक सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परे। 

१३. माथिल्लो सदनमा फेरियो नेतृत्व
राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष दुवै फेरिएका छन्। 

माओवादी केन्द्रका स्थायी समिति सदस्य नारायण दाहाल फागुन २९ गते भएको चुनावबाट राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भए। 

यसैगरी चैत २८ मा भएको चुनावमा एमालेकी विमला घिमिरे उपाध्यक्ष चुनिएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .