राजनीति


नागरिक उन्मुक्तिको बैठकमै कुटाकुट, टीकापुरका मेयर भन्छन् : हामी भाग्न बाध्य भयौँ

नागरिक उन्मुक्तिको बैठकमै कुटाकुट, टीकापुरका मेयर भन्छन् : हामी भाग्न बाध्य भयौँ

फाइल तस्बिर


नेपालखबर
चैत १९, २०८० सोमबार १३:१२, काठमाडौँ

संस्थापक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठ समूहबीचको विवाद नागरिक उन्मुक्ति पार्टीमा उग्र रुप लिएको छ।

खासगरी फागुन २१ गते बनेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको नयाँ गठबन्धनलाई लिएर चर्किएको विवादले सोमबार उग्र रुप लियो। 

सोमबार काठमाडौंको अनामनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा रेशम पक्षका नेताहरूबाट रञ्जिता पक्षका दुईजना नेताहरूमाथि कुटपिट भएको छ।

सुदूरपश्चिममा नेपाली कांग्रेसको गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा रहेका रेशम र मुख्यमन्त्री लिएर नयाँ गठबन्धनबाट अघि बढ्नुपर्ने पक्षमा रहेको रञ्जिता पक्षबीचको विवादले बैठकमा कुटाकुटको अवस्था ल्याएको हो।

आइतबार अनामनगरमा बसेको उक्त बैठकका क्रममा कैलालीको टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारु र अर्का नेता रमेश विकमाथि हातपात भएको छ। कुटपिट गरिएका दुवैजना रञ्जिता पक्षधर नेताहरू हुन्।

अध्यक्ष रञ्जिता र संस्थापक रेशमबीचको विवादले पार्टी फुटको संघारमा पुगेका बेला दुई पक्षबीच कुटाकुट भएको हो। 

पार्टी केन्द्रीय कार्यालय अनामनगरमा कुटाकुट हुनुअघि दुई पक्षबीच सुदूरपश्चिम सरकारमा सहभागी हुने र नहुने विषयमा चर्को विवाद भएको थियो। 

रञ्जिता पक्ष संघीय सरकारमा सहभागी हुँदै सुदूरपश्चिमको मुख्यमन्त्री लिने गरी नयाँ गठबन्धनमा मिसिने पक्षमा उभिएको छ। उता रेशमलाल भने संघमा प्रतिपक्षमा बस्दै सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारालई निरन्तरता दिनुपर्ने अडानमा छ।

यस्तोमा अनामनगरमा बसेको बैठकका क्रममा रञ्जिता पक्षका दुई नेता कुटिएका हुन्। कुटपिट भएपछि रञ्जिता पक्षले बैठकस्थल नै छाडेर हिँडेको छ।

टीकापुरका मेयर भन्छन् : हामी भागेर हिँड्यौँ
बैठकस्थलमै कुटपिटको अवस्था आएपछि अहिले रञ्जिता पक्षका ५ जना नेताहरू त्यहाँबाट बाहिरिएका छन्। 

‘अनामनगरको बैठकमा हामी ५ जना सहभागी थियौँ। बैठकमा नै हाम्रो टिमलाई नै आक्रमण गरिएको हो’, टीकापुरका मेयर रामलाल डगौराले नेपालखबरसँग  भने, ‘मसहित साथी रमेश विकमाथि आक्रमण भयो। हामी टीकापुर महाधिवेशनको सन्देश र निर्वाचन आयोगको निर्णयअनुसार अघि बढ्नुपर्ने पक्षमा थियौँ। रेशमजीलाई अध्यक्षको मान्यता नदिएको अवस्थामा निर्वाचन आयोगको निर्णयअनुसार चल्नु पर्ने कानुनी बाध्यता पनि छ। त्यही कुरा हामीले राख्दा बैठकमै आक्रमण गरियो।’

डगौराले आफूहरू सुदूरपश्चिममा मुख्यमन्त्री लिएर नयाँ गठबन्धनमा जोडिनुपर्ने पक्षमा रहेको बताए। ‘हामी सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीसहितको एजेन्डा लिएर अघि बढ्ने पक्षमा छौँ। तर रेशमजीले मन्त्री लिएर पुरानै गठबन्धनमा जाऔँ भन्नु भयो। तर हामीले नयाँ समीकरण बनेकोले पार्टी पनि पश्चगमनमा होइन अग्रगमनमा जानुपर्छ भन्ने अडानमा छौँ।’

उनले पार्टीको अहिलेको विवाद अग्रगमनलाई सहयोग गर्ने कि पश्चगमनलाई भन्ने रहेको बताए।

‘हामी नयाँ गठबन्धनमा अगाडि बढ्दै गर्दा रेशमजीले कांग्रेस नेतृत्वको मुख्यमन्त्रीलाई अघि बढाऊँ भनिनरहनु भएको थियो’, उनले भने, ‘महाधिवेशनबाट अध्यक्ष बने पनि रेशम चौधरीलाई निर्वाचन आयोगले बदर गर्‍यो। त्यसो भएकाले अब आयोगको निर्णयअनुसार रञ्जिताकै नेतृत्वमा अगाडि बढ्न तयार थियौँ। तर कानुनी निर्णयभन्दा बाहिर गएर अर्को समूहले हामीमाथि आक्रमण गरेको छ।’ 

उनले संस्थापक केन्द्रीय समितिबाट छानिएर आएका प्रतिनिधिहरूलाई वैधानिक बनाउन जाँदा कानुनी रुपमा निर्वाचन आयोगले प्रश्न उठाइसकेको पनि बताए। 

‘हामीले यी कुरा पार्टी बैठकमा उठाउँदा आक्रमण भएको छ’, उनले भने, ‘हामी बैठकस्थलबाट भागेर हिँड्यौँ। अब पार्टीले यसबारेमा बैठक बसेर उचित निर्णय लिन्छ। हामी अहिले अध्यक्षज्यू (रञ्जिता) सँग छलफलमा छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .