ad ad

राजनीति


इलाम २ को उपनिर्वाचनमा डकेन्द्रसिंह लिम्बु पहिचानवादीका उम्मेदवार

इलाम २ को उपनिर्वाचनमा डकेन्द्रसिंह लिम्बु पहिचानवादीका उम्मेदवार

नेपालखबर
चैत १, २०८० बिहिबार १८:२५, काठमाडौँ

आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनमा पहिचान पक्षधरहरूले डकेन्द्रसिंह थेगिम लिम्बुलाई साझा उम्मेदवार बनाउने भएका छन्। 

प्रदेश १ पुनःनामकरण संयुक्त संघर्ष समितिले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी लिम्बुलाई साझा उम्मेदवार घोषणा गरेको हो।

‘इलाम जिल्ला क्षेत्र नं. २ मा प्रदेश १ पुनःनामाङ्कन संयुक्त संघर्ष समितिको तर्फबाट २०७९ फागुन १७ गतेबाट जारी आन्दोलनको अग्रपङ्क्तिमा सशक्त नेतृत्व गर्दै आउनुभएका सङ्घर्ष समितिका वर्तमान अध्यक्ष डकेन्द्रसिंह लिम्बुलाई पहिचान पक्षधरहरूको सर्वसम्मत साझा स्वतन्त्र उम्मेदवार घोषणा गरिएको छ,’ उनीहरूले भनेका छन्। 

थेगिम इलामे जनताको दुःख–सुख बुझ्ने नेता भएको उनीहरूको जिकिर छ। थेगिमलाई किरात याक्थुम चुम्लुङ, नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा, नेपाल शेर्पा संघ र पहिचानसहितको प्रदेश न. १ पुनः नामाङ्कन अभियान समितिले समर्थन गरेका छन्।

उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै थेगिमले आफू सबैको साझा उम्मेदवार बनेको बताए।

उनले राम्रो मत प्राप्त गरेर प्रतिनिधि सभा सदस्यमा विजयी हुने दाबी गरे। अहिले प्रदेश नं. १ मा उठिरहेको पहिचानको मुद्दा र संघर्षलाई निष्कर्षमा पुर्‍याउन आफूलाई मत दिन उनले आग्रह गरे।

आफू निर्वाचित भएपछि प्रदेशको नाम खारेजी गरी पहिचानसहितको प्रदेश नामाङ्कन र सबै भाषाभाषी, धर्म, संस्कृति र इतिहासलाई सम्मान गर्ने गरी प्रदेशको नामाङ्कन गर्न पहल गर्ने उनले बताए।

एमाले उपाध्यक्ष सुवास नेम्वाङको गत भदौमा निधन भएपछि इलाम २ मा रिक्त प्रतिनिधि सभा सदस्य चयनका लागि आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .