राजनीति


टीकापुरबाट रेशमको अलग्गै निर्णय : केन्द्र सरकारमा सहभागी नहुने, प्रदेशका हकमा वार्ता गर्ने

टीकापुरबाट रेशमको अलग्गै निर्णय : केन्द्र सरकारमा सहभागी नहुने, प्रदेशका हकमा वार्ता गर्ने

फाइल तस्बिर


नेपालखबर
फागुन २९, २०८० मंगलबार १९:३, कञ्चनपुर

फागुन २१ गते बनेको नयाँ सत्ता गठबन्धनमा सहभागी हुने नहनुे विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीमा द्वन्द्व चुलिएको छ।

कैलालीको टीकापुरमा भएको महाधिवेशनबाट अध्यक्षमा बनेका रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएसँगै उक्त पार्टीमा विवाद बढेको थियो।

नागरिक उन्मुक्तिको अध्यक्षमा रञ्जिता श्रेष्ठ नै कायम भएपछि उनका पतिसमेत रहेका रेशम चौधरी असन्तुष्ट थिए। यस्तोमा नयाँ गठबन्धन बनेपछि यी दुईजनाबीचको विवाद मंगलबारसम्म आइपुग्दा झन् बढेको छ।

सोमबार मात्रै रेशमले गृहनगर टीकापुरमा पार्टीका बहुमत केन्द्रीय सदस्यहरू उपस्थित गराउँदै तत्कालै नयाँ गठबन्धनमा नजाने र सरकारमा पनि सहभागी नहुने निर्णय गराएको बताएका थिए। उक्त बैठकमा रेशम स्वयम् पनि उपस्थित थिए।

तर निर्वाचन आयोगले नाउपा अध्यक्षको मान्यता नदिएका रेशमको निर्णयको भोलिपल्ट मंगलबार रञ्जिताले बुधबार प्रतिनिधिसभामा अनिवार्य उपस्थित भएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन चारजना सांसदहरूलाई निर्देशन दिएकी छन्।

रञ्जिता काठमाडौंमा सक्रिय रहेका बेला उनको उपस्थितिबिना टीकापुरमा भएको भनिएको उक्त केन्द्रीय समिति बैठकले केन्द्र सरकारको नयाँ गठबन्धनमा नजाने तर प्रदेश सरकारमा सहकार्य गर्न अन्य दलहरूसँग वार्ता गर्ने निर्णय गरेको छ।

उक्त पार्टीको संस्थापक केन्द्रीय समितिको नाम दिएर राखिएको बैठकले केन्द्र सरकारको नयाँ गठबन्धनमा तत्काल सहभागी नहुने निर्णय गरेको हो।

संस्थापक केन्द्रीय सदस्यहरुको दुईतिहाइ बहुमतले केन्द्र सरकारको नयाँ गठबन्धनमा तत्काल सहभागी नहुने  निर्णय गरेको जेष्ठ संस्थापक केन्द्रीय सदस्य दामोदर पण्डितले जानकारी दिए।

प्रतिपक्षमा बस्ने र सरकारलाई समर्थन पनि नदिने निर्णय नाउपाको नाममा रेशमले गराएका छन्। 

पण्डितकै नेतृत्वमा संस्थापक केन्द्रीय सदस्यको बैठक बसेको थियो। निर्वाचन आयोगले रेशमलाई अध्यक्षमा मान्यता दिएर रञ्जितालाई पुनःस्थापित गरेपछि बैठक बसेको हो।

रञ्जिता सहभागी नभए पनि सहमतिमै निर्णय गरिएको केन्द्रीय सदस्य रामलाल डगौँराले बताए। 

यस्तै बैठकले प्रदेश सरकारको हकमा विभिन्न दलहरूसँग सहकार्य र समन्वय गरेर संवाद अघि बढाउन पण्डितको संयोजकत्वमा वार्ता समिति बनाउने निर्णय पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .