राजनीति


धनराजको प्रतिक्रिया : प्रचण्डजी एमालेको काँधमा चढ्नुभो, अहिले नै झारेर मिलौँ भन्न मिल्दैन

धनराजको प्रतिक्रिया : प्रचण्डजी एमालेको काँधमा चढ्नुभो, अहिले नै झारेर मिलौँ भन्न मिल्दैन

फाइल तस्बिर


नेपालखबर
फागुन २२, २०८० मंगलबार १८:१४, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले समयको मागअनुसार नै नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेको बताएका छन्।

माओवादीले सोमबार मात्रै कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग सत्ता सहकार्य गरेपछि मंगलबार बूढानीलकण्ठमा बसेको पार्टी बैठकपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। 

‘माओवादीसँगको सहकार्य समयको माग थियो। समयको माग बमोजिम हामीले काँध थाप्यौँ। अहिले उहाँले आफैँ झार्नुभयो। हामीले गल्ती गर्यौँ जस्तो भएको लाग्दैन’, गुरुङले भने, ‘सधैँ अरुलाई कसरी काँध थाप्ने? हामीलाई पनि चढ्न मन लाग्छ होला नि त।’

गुरुङले पार्टी सभापति शेरबहादुर देउवाको निजी निवासमा बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको बताए।

‘अब हामी प्रतिपक्षीमा बसेर पनि संविधानको रक्षार्थ लागिरहनेछौँ’, उनले भने, ‘हामीले अब उतातर्फ गएपछि संविधान जोगिन्छ त भनेर सोध्नुपर्ने भयो।’

उनले गठबन्धन तोडिनुमा कारणहरू धेरै रहेका बताए। ‘धेरै कारण छन्, त्यतातिर नजाऔँ, अहिलेलाई हामीले दिएको समर्थन फिर्ता लियौँ,’ उनले भने।

उपसभापति गुरुङले प्रचण्ड आफूहरूको काँधबाट एमालेको काँधमा चढेको पनि बताए। उनी पनि प्रचण्ड नेतृत्वको सरकारमा कानुन मन्त्री थिए। 

‘भर्खरै प्रचण्डजी हाम्रो काँधबाट एमालेकोमा चढ्नुभएको छ। अहिले नै हामी काँधबाट झारेर हामी दुई मिलौँ भन्न मिल्दैन’, उनले भने, ‘त्यो नैतिकताले दिँदैन। हामी त्यस्तो अनैतिक काम गर्दैनौँ। सत्ताको चलखेललाई केन्द्रमा नराखौँ भन्ने हाम्रो कुरा हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .