ad ad

राजनीति


सभापति लामिछानेलाई केन्द्रीय सदस्य कार्कीको प्रश्नः एमालेसँग अँगालो हाल्दै किन बालुवाटार गयौँ?

सभापति लामिछानेलाई केन्द्रीय सदस्य कार्कीको प्रश्नः एमालेसँग अँगालो हाल्दै किन बालुवाटार गयौँ?

फाइल तस्बिर : रास्वपाका केन्द्रीय सदस्य गणेश कार्की र सभापति रवि लामिछाने


नेपालखबर
फागुन २२, २०८० मंगलबार १४:१२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले आफ्नो पार्टी वर्तमान सत्ता गठबन्धनमा सामेल भएकाप्रति लिखित असहमति जनाएका छन्। 

सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन भंग गर्दै चार पार्टीको नयाँ गठबन्धन बनाएका छन्।

जसमा माओवादी केन्द्र, नेकपा एमाले र जनता समाजवादी पार्टीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी पनि सहभागी छ।

सोमबारै प्रधानमन्त्रीले पुनर्गठन गरेको मन्त्रिपरिषद्‌मा एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङसँगै रास्वपाबाट डोलप्रसाद अर्यालले पनि मन्त्री पदको शपथ खाइसकेका छन्। 

सोप्रति तीव्र असन्तुष्टि जनाउँदै रास्वपा केन्द्रीय सदस्य कार्कीले पार्टीको केन्द्रीय कार्यालयलाई असहमति पत्र लेखेका हुन्।

बोधार्थमा रास्वपा सभापति रवि लामिछानेलाई पनि उल्लेख गर्दै उनले प्रश्न गरेका छन्, ‘प्रचण्ड नेतृत्वमा कांग्रेस हटाएर एमाले हुँदैमा के फरक पर्छ? र, पुरानाकै नेतृत्वमा सरकार बन्दा कुन आशाको सञ्चार हुन्छ? यो नखोजी एमालेसँग अँगालो हाल्दै किन बालुवाटार गयौँ?’ 

यस्तो छ कार्कीको पूरा पत्र-

मैले कुरा फेर्न नजानेका कारण साथीहरूमा पर्न गएका वा पर्न जाने असुविधाका लागि क्षमाप्रार्थी छु।

मिति : २१ फागुन २०८०

श्री कार्यालय सचिवज्यू

राष्ट्रिय स्वतन्त्र पार्टी

केन्द्रीय कार्यालय, घण्टी घर, वनस्थली

विषय : असहमति पत्र।

नमस्कार,

हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गएछ, समाचारहरूबाट थाहा पाएँ। ... नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता श्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पदमा हाम्रो समर्थन रहेको समाचार र सामाजिक सञ्जालहरूमा देख्न पाएँ। चुनाव अगाडिका हाम्रा रणनीति, हामीबाट सार्वजनिक भएका विचार र व्यक्तव्यहरू, हाम्रा वाचापत्र र केही अगाडि पनि अब यिनलाई बोक्दैनौँ भनेको सम्झना भयो। 

थाहा छ- एकथान केन्द्रीय सदस्यलाई भएको सम्झनाले पार्टीको निणर्यमा फरक पर्दैन। उसो त अनौपचारिक रूपमा अनेकौँ पटक तथा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा औपचारिक रूपमा सांसदको सरकार बनाउने/ढाल्नेभन्दा अन्य धेरै जनमुखी कामहरू हुन सक्छन्, तिनलाई प्राथमिकता दिऊँ भन्ने मेरो धारणाले पनि फरक पारेन।

त्यो मेरो व्यक्तिगत धारणामा सीमित रह्यो। तर यसमा मलाई व्यक्तिगत रूपमा अन्याय भएको भन्ने लागेको छैन, किनभने स्वयम् पार्टी सभापतिबाट व्यक्त भएका असंख्य विचारहरू पनि केवल व्यक्तिगत धारणामा सीमित भएका देखिए। ती संस्थागत हुन्थे भने 'रोक्ने यिनीहरूलाई भनिएका नेताहरू'लाई उनीहरूभन्दा पहिले पुगेर 'जंगलबाट आएकाहरूले पनि जंगलीराज पुग्यो' भनिएकाहरूकै 'राज'लाई झन् सहज बनाइन्न थियो कि! त्यस्तो के बाध्यताले 'रोक्ने भनिएकाहरूलाई नै बोक्ने’ कित्तामा समाहित नभई जनमुखी काम गर्नै सकिन्न भन्ने निष्कर्षमा पुगियो? यो प्रश्नको जवाफ मसँग छैन।

सत्ता-स्वार्थकै कारण जोसँग पनि मिल्ने र छुट्टिने गरेको देखेर 'जुन जोगी आए पनि कानै चिरेको' भनेर आमनागरिकहरूको निराश मनस्थितिमा हामी अलग छौँ, अलग रहनेछौँ र अलग गर्नेछौँ भनेर मत मागेका थियौँ। हामी पनि उनीहरूजस्तै छौँ भन्न 'आफ्नै कान किन आफैँले चिर्न थाल्यौँ?' यो प्रश्नको जवाफ मसँग छैन। 

प्रचण्ड नेतृत्वमा कांग्रेस हटाएर एमाले हुँदैमा के फरक पर्छ? र, पुरानाकै नेतृत्वमा सरकार बन्दा कुन आशाको सञ्चार हुन्छ? यो नखोजी एमालेसँग अँगालो हाल्दै किन बालुवाटार गयौँ? यसको जवाफ मसँग छैन। 

अधिकतम २५ जनाको मन्त्रिपरिषद् हुने नेपालमा प्रतिनिधिसभामा मात्रै २७५ सांसद हुन्छन्। मन्त्री नभई केही गर्नै नसकिने भाष्य निर्माण गर्ने हो भने त्यसले मन्त्री हुनबाट बाँकी रहने २५० सांसदहरूको उपस्थितिलाई अर्थहीन, बेकाम्मे भन्छ कि भन्दैन? यसको जवाफ मसँग छैन।

वाचापत्रमा फाइल खोल्ने भनेर हाम्रो वाचापत्रमा नै लेखिएका मुद्दाहरू ललिता निवास सरकारी जग्गा किनबेच काण्ड, वाइडबडी विमान खरिद काण्ड, कोभिड भ्याक्सिन खरिद काण्ड, यति र ओम्नीकाण्ड, प्रिन्टिङ प्रेस खरिदको ७० करोड रुपैयाँ काण्डलगायतका काण्डहरू अब के हुन्छन्?

हामीले दस्तावेजमा गरेको गत ५ वर्षको राजनीतिक समीक्षा केवल मतदातालाई झुक्याउने प्रपञ्च मात्रै थियो कि के थियो? त्यसमा संलग्न भनेर विवादित रहेका व्यक्तिहरूकै सहभागितामा यी काण्डहरूको निष्पक्ष छानबिन हुन सम्भव होला? राष्ट्रपति गैरराजनीतिक व्यक्ति हुनुपर्ने भन्दै वकालत गरेका हामीले आफ्नोतर्फबाट गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाउँन सकौँला? खारेजै गर्नुपर्छ भनिएको संवैधानिक परिषद्‌मा रहने पद हाम्रो भागमा पर्‍यो भने हामी नाइँ भनौँला? हाम्रो पार्टीको चरित्र हिजो हामीले नै आलोचना गरेका पार्टीहरू भन्दा भिन्न के भयो? 

यस्ता धेरै प्रश्नहरू दिमागमा खेलिरहेका छन्, नागरिकहरूले सोधिरहेका छन्, जसको जवाफ मसँग छैन। यी प्रश्नहरूको जवाफ दिन नसकेपछि आफ्नो नैतिकताले सरकारलाई समर्थन गर्ने कुरामा सहमत हुन सकिनँ। यसैले सरकारलाई समर्थन गर्ने वा सरकारमा जाने निणर्यमा असहमत रहेको जानकारी गराउन यो असहमति पत्र लेखेको हुँ। कृपया! दर्ता गरिदिनु हुन अनुरोध गर्दछु।

गणेश कार्की, केन्द्रीय सदस्य

बोधार्थ :

१. सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी

२. संसदीय दलको नेता, राष्ट्रिय स्वतन्त्र पार्टी

३. नेपाली नागरिक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .