नेपाली कांग्रेसको महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डा तय गर्न युवा नेताहरूले छलफल सुरु गरेका छन्।
राजधानीमा एक कार्यक्रम आयोजना गर्दै युवा नेताहरूले आसन्न महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाबारे ‘महासमिति मन्थन’ छलफल थालेका हुन्।
पार्टीलाई मजबुत बनाउन संगठन सुधारका लागि पहल गर्नुपर्ने अपरिहार्य रहेको जनाउँदै उनीहरूले महासमिति बैठकलाई कर्मकाण्डी मात्रै बनाउन नहुने उल्लेख गरेका छन्।
कांग्रेस युवा नेता भूपेन्द्र जंग शाहीले पार्टीलाई बलियो बनाउन संस्थागत सुधार आवश्यक रहेको बताए।
सरकारमा रहँदा र अन्य अवस्थामा पनि पार्टीले देश र जनताका जल्दाबल्दा समस्या समाधानका लागि पार्टीभित्रका सबै पक्षलाई समेटेर छलफल गर्नुपर्ने निष्कर्ष उनीहरूले निकालेका छन्।
पछिल्ला केही वर्षयता पार्टीभित्र गुटबन्दीको चरम प्रभाव देखिएका त्यसको अन्त्यका लागि पार्टीका शीर्ष नेताहरूले भूमिका खेल्नुपर्ने उनीहरूले जनाएका छन्।
छलफलमा कांग्रेसका युवा नेताहरु गुरुराज घिमिरे, रञ्जित कर्ण, भूपेन्द्रजंग शाही, वंशलाल तामाङ, मैना कार्की, गोमा केसी, रमिला महत, टेकराज पौडेल, नारायण भट्टराई, विनोद खनाल, मनोहरि श्रेष्ठ, मोतिलाल भण्डारी, प्रेमिका राना, किरणकिशोर घिमिरे, भुवन भट्ट, धर्मराज शाही र विनिता खड्कालगायत उपस्थित थिए।
Shares
प्रतिक्रिया