ad ad

राजनीति


जनयुद्धको जगमा स्थापित अधिकार राष्ट्रका साझा सम्पत्ति हुन् : प्रधानमन्त्री

जनयुद्धको जगमा स्थापित अधिकार राष्ट्रका साझा सम्पत्ति हुन् : प्रधानमन्त्री

नेपालखबर
फागुन १, २०८० मंगलबार ८:७, काठमाडौँ

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन्।

जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले माओवादीले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीको साझा दिवसका रुपमा रहेको उल्लेख गरेका छन्।

उनले जनयुद्धको अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली एवं विश्वभरिका परिवर्तनप्रेमी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। 

‘यस ऐतिहासिक दिनमा देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति आफ्नो अमूल्य जीवनको बलिदान गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, बेपत्ता योद्धाहरूप्रति स्मरणसहित उच्च सम्मान र घाइते योद्धाहरूमा स्वास्थ्यलाभ र दीर्घजीवनको कामना गर्दछु,’ प्रचण्डको शुभकामना सन्देशमा भनिएको छ, ‘महान् जनयुद्धले साहस, वीरता र उत्सर्गको त्यो ऐतिहासिक क्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, देशप्रेम एवम् राष्ट्रियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात गरेको थियो।’

उनले जनयुद्धको जगमा जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको चर्चा गर्दै जसले समावेशी लोकतन्त्र संस्थागत भएको उल्लेख गरेका छन्। 

‘मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, जनजाति, थारू समुदाय लगायत उत्पीडित वर्ग, जाति, लिंग, क्षेत्र र समुदायमा उच्च राजनीतिक जागरणसहित उनीहरूको पहिचान र अधिकार स्थापित भएको छ,’ उनले सन्देशमा भनेका छन्, ‘सामाजिक न्यायको उन्नत व्यवस्थासहित समाजवादोन्मुख संविधानको निर्माण र कार्यान्वयन सम्भव भएको छ। यसर्थ, युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैमा ऐतिहासिक र गौरवशाली थियो भन्ने तथ्य प्रमाणित हुन्छ।’

जनयुद्धको जगमा जुन अधिकार स्थापित भएका छन्, ती अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन्।

‘नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीको साझा दिवस हो,’ प्रचण्डको सन्देशमा अगाडि भनिएको छ, ‘तसर्थ, जनयुद्ध दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन म सम्पूर्ण जनसमुदायमा हार्दिक अपील गर्दछु।’

जनयुद्धको २९ औँ वार्षिकोत्सवको अवसरमा माओवादी केन्द्र प्रथम विधान सम्मेलनमा होमिएको बताएका छन्। ‘यस अधिवेशनले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित र सुदृढ तुल्याउँदै समाजवादी क्रान्तिको नेतृत्व गर्न योग्य पार्टी निर्माणका पक्षमा गुणात्मक योगदान गर्ने विश्वास छ,’ उनले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .