राजनीति


क्यानडाका सभामुख नेतृत्वको टोलीद्वारा राष्ट्रिय सभा बैठक अवलोकन, अध्यक्षसँग भेटवार्ता

क्यानडाका सभामुख नेतृत्वको टोलीद्वारा राष्ट्रिय सभा बैठक अवलोकन, अध्यक्षसँग भेटवार्ता

नेपालखबर
माघ २७, २०७६ सोमबार ९:२१,

क्यानडाको उपल्लो सदन सिनेटका सभामुख जर्ज जे फ्युरी नेतृत्वमा नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलले नेपालको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक अवलोकन गरेको छ।

सोमबारको बैठकमा नेपाली कांग्रेसका राष्ट्रिय सभाका संसदीय दल नेता सुरेन्द्रराज पाण्डे र सत्तारुढ दलका दिनानाथ शर्मा लगायतले आफ्ना धारणा राखिरहेका बेला भ्रमणरत् क्यानडाली टोलीले अवलोकन गरेको हाे।

त्यसअघि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका फ्युरी नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ।

तिमिल्सिनाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा रहेको फ्युरी नेतृत्वको प्रतिनिधमण्डले सोमबार सिंहरबारमा अध्यक्षसँग भेटवार्ता गरेको हो।

भेटका क्रममा नेपाल र क्यानडाबीच कूटनीतिक सम्बन्ध, मित्रता, समझदारी, संसदीय सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो।

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले उच्चस्तरीय भ्रमणले दुई देश बीचको सम्बन्ध र सहकार्यलाई मजबुत बनाउन सहयोग पुर्‍याउने बताए।

‘दुईदेशबीच संसदीय सम्बन्धमा यो अहिलेसम्मकै उच्चस्तरीय भ्रमण हो,’ उनले भने, ‘म आशा गर्छु भविष्यमा दुवैतर्फबाट यस किसिमका भ्रमणहरुको निरन्तरता हुनेछ।’

National Assembly Chair with Canadian Speaker1

तिमिल्सिनाले नेपाल सरकारको विकासका प्रथामिकता र उद्देश्यमा क्यानडालगायत अन्तर्राष्ट्रिय समुदायको साथ र सहयोगको हामीले अपेक्षा गरेको बताए।

भेटका क्रममा फ्युरीले नेपालसँगको सम्बन्धलाई उच्च महत्वका साथ लिएका बताएका थिए। उनले नेपालले संघीय प्रणाली अपनाएको र त्यसका चुनौतीबारे बताएका थिए।

क्यानडा पनि संघीय मुलुक भएको बताउँदै सभामुख फ्युरीले नेपालको विकासका लागि आफ्नो देशको सहयोग रहने प्रतिबद्धता जनाएका थिए। ‘नेपालले पर्यटनलाई उच्च प्राथमिकता दिएको छ,’ उनले भने। ‘पर्यटनसँगै जलविद्युत, वायु उर्जा र सौर्य उर्जा विकासमा हाम्रो तर्फबाट सहयोगहुन्छ।’

सभामुख फ्युरी नेतृत्वको टोलीले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञावली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग भेटघाटगरी स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad