प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका भाषणलाई चिनियाँ भाषामा अनुवाद गरी पुस्तक प्रकाशन गरिएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डका २५ वटा भाषणलाई चिनियाँ भाषामा अनुवाद गरिएको हो। जसलाई इन्टरकन्टीनेन्टल कम्युनिकेसन सेन्टर (सीआईसीसी) ले ‘सेलेक्टेड स्पिच अफ नेप्लिज प्राइमिनिस्टर प्रचण्ड’ नामको पुस्तक बनाएको हो।
प्रोफेसर ली ताओको संयोजनमा प्रकाशन गरिएको पुस्तकमा समेटिएका प्रचण्डका भाषणलाई सिज्या ओयु, लियु सिर्चा, डा. गाओ लियाङ, कुई च्याउ, लिउ सिजीले अंग्रेजीबाट चिनियाँ भाषामा अनुवाद गरेका हुन्। यस्तै नेपालीबाट चिनियाँ भाषामा चाहिँ प्रशान्तकुमार विक, हरिप्रकाश चन्द र निरोज लाउजुले गरेका हुन्।
सिचुवान युनिर्भसिटीका पीएचडी स्कलर विक र त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध विषयका विद्यार्थी एसास यासिर खम्बुले उक्त अनुवादित पुस्तक प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यलाई हस्तान्तरण गरेका छन्।
सन् २०१४ देखि २०२३ सम्म प्रचण्डले गरेका भाषणमध्ये छनोट गरेर अनुवाद गरिएको हो। नेपाल–चीन सम्बन्धलाई बलियो बनाउन र नेपालबारे चिनियाँ नागरिकलाई जानकारी दिने उद्देश्यले प्रधानमन्त्री प्रचण्डका भाषण चिनियाँ भाषामा अनुवाद गरिएको अनुवादकर्ताले बताएका छन्।
Shares
प्रतिक्रिया