नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार एक कार्यक्रमममा आफ्नो दैनिकी रोचक पारामा सुनाए।
युद्धकालमा भूमिगत रुपमै दौडादौडमै आफ्नो दिन बित्ने गरेको सुनाउँदै प्रचण्डले भने, ‘कुन बेला मारिने हो भन्ने केही टुंगो हुँदैनथ्यो।’
शान्तिपूर्ण राजनीतिमा आइसकेपछि संविधान बनाउने बेलासम्म आफ्नो जीवन एक खालको रहेको र त्यसपछि अलि अर्को खालको बनेको प्रचण्डले शनिबार काठमाडौंमा ‘कान्तिपुर कन्क्लेभ’ परिसंवादमा बताए।
‘म बिहान सामान्यतः ५ बजे उठ्छु र आधा घण्टा संगीत सुन्छु’, प्रचण्डले भने, ‘पहिला पहिला गाउँथें, अहिले गाउँदिन। पुराना नेपाली गीतहरू सुन्छु। अहिलेका लोक गीतहरू पनि सुन्छु।’
विरामी श्रीमति सीता पनि लोक गीतमै भूल्ने गरेको प्रचण्डले बताए।
बिहान आधा घण्टा गीत–संगीत सुनेपछि व्यायाममा जाने प्रचण्डको बानी रहेछ।
‘नियमित रुपमा पसिना नआएसम्म टेबल टेनिस खेल्छु। आधा घण्टा खेलेपछि खलखल पसिना बग्छ अनि छोडिदिन्छु’, प्रचण्डले भने, ‘आएर नुहाउँछु, त्यसपछि भेटघाट सुरु हुन्छ।’
भेटघाटका लागि बिहान साढे ७ बजेसम्म प्रचण्डको निवास खुमलटारमा भीड लागिसकेको हुन्छ। दिउँसो भने प्रचण्ड बाहिर बैठक र कार्यक्रममा बढी देखिन्छन्।
‘बिहानको कार्यक्रम सकेपछि दिउँसो बाहिर ननिस्कँदा मेरो काम पढ्ने नै हुन्छ’, उनले आफ्नो पढ्ने बानीबारे सुनाए, ‘घर बसेको बेलामा सामान्यतः एकदेखि चार बजे सम्मको समय पढ्ने नै हुन्छ।’
प्रचण्डले किताबको नाम नलिइ अहिले भारतीय लेखकका संस्कृति, राजनीति, इतिहाससँग सम्बन्धित किताबहरू पढिरहेको सुनाए।
‘बेलुका सुत्ने बेलामा चाहिँ सदगुरुका प्रवचनहरू पनि हेर्छु। कहिलेकाहीँ सदगुरुका प्रवचन सुन्दासुन्दै निदाउँछु’, प्रचण्डले थपे, ‘तपाईंहरू भ्रममा नपर्नु होला, म धर्म, अन्धविश्वासतर्फ लागेको होइन, सदगुरु जति भौतिकवादी कोही छैन।’
धार्मिक प्रवचन, यज्ञतिर संलग्नताबारे प्रचण्डले झन् खुलेर जवाफ दिए।
‘परिस्थितिअनुसार हुन्छ, भोट चाहिन्छ अनि जहाँपनि जानै पर्यो नि’, प्रचण्डले भोटको राजनीतिमा आउँदाको बाध्यता सुनाए, ‘जसले बोलाउँछ त्यहीँ जानुपर्छ।’
‘अहिले हामी लोकप्रिय मतद्वारा नै सामाजिक रुपान्तरणतिर लागेको हुनाले जहाँ जनता छन् त्यहाँ जानैपर्छ, यो माक्र्सवाद विरोधी कुरा होइन’, प्रचण्डले थपे।

प्रतिक्रिया