ad ad

राजनीति


नेपाल-चीन सम्बन्धमा खेल्नेहरू धेरै छन् : सीपीसी उपमन्त्री हाइयान

नेपाल-चीन सम्बन्धमा खेल्नेहरू धेरै छन् : सीपीसी उपमन्त्री हाइयान

नेपालखबर
माघ १४, २०८० आइतबार १५:२, काठमाडौँ

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले नेपाल र चीनको सम्बन्धमा अन्य मुलुकले खेल्न खोजेको बताएकी छन्।

नेपालको तीन दिने भ्रमणमा काठमाडौंमा विभिन्न राजनीतिक दलका नेताहरूसँग अन्तरक्रिया गर्दै हाइयानले दुई देशको राजनीतिक सम्बन्ध राम्रो रहेको बताउँदै अन्य केही मुलुकले यस्तो देख्न नचाहेको बताएकी हुन्।

उनले नेपाल भ्रमणमा आएर राजनीतिक दलसँग संयुक्त परामर्श गर्नुको कारण दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउनु रहेको बताइन्।

उनले दुवै देशका राष्ट्राध्यक्षले सम्बन्धलाई सुदृढीकरण गर्न प्रयासरत रहेको भन्दै सहमती र समझदारी पत्रमा भएको हस्ताक्षरले पनि दुई देशबीचको सम्बन्ध प्रगाढ बनाएको बताइन्।

‘मैले यसपटक सीपीसीको नेतृत्व गर्दै धेरै भेटघाट गरें। हाम्रो राजदूतले पनि धेरै मेहनत साथ काम गरिराख्नु भएको छ,’ उनले भनिन्, ‘नयाँ युगमा चीन नेपाल सम्बन्धलाई कसरी राम्रो बनाउने र सहकार्य  गर्न भन्नेमा हामीले काम गर्न जरुरी छ।’

उनले नयाँ परिस्थितिमा नेपाल चीन सम्बन्ध कस्तो बनाउने? त्यसमा राजनीतिक दलको भूमिका कस्तो हुने? भन्ने विषयमा पनि गृहकार्य गर्नुपर्ने आवश्यक्ता औंल्याइन्।

‘नेपालमा चिनियाँ पर्यटक धेरै आउनु भएको छ। यो नेपाललाई पनि महसुस भएको हुनुपर्छ,’ उनले भनिन्, ‘तर एउटै क्षेत्रमा मात्रै भर पर्नु हुँदैन। म नेपाल आउनुअघि चिनियाँ उद्यमीसँग छलफल गर्दा नेपालमा लगानी गर्नुपर्ने कुरा राखेको थिएँ। तर त्यसका लागि यहाँ नीतिगत सुधारको जरुरी छ।’

उनले छिमेकी मुलुकका विकास पूर्वाधारमा चीनले लगानी गरेको र त्यसको एउटा उदाहरण इन्डोनेसिया भएको बताइन्।

साथै, कोभिड मात्रै नभै विभिन्न कारणले काम नेपालमा चिनियाँ लगानीमा सम्पन्न भइरहेका योजना सम्पन्न गर्न ढिलाइ भैरहेको बताइन्।

‘हामी बसेर यसको समाधान गर्नुपर्छ। हामी धेरै भन्दा धेरै साँस्कृतिक आदानप्रदान गर्नुपर्छ। धेरैभन्दा धेरै छात्रवृत्ति नेपाली विद्यार्थीलाई दिने चाहना अनुरुप काम गरिरहेका छौँ,’ उनले भनिन्, ‘जिविकोपार्जनका लागि पनि नेपालमा परियोजना आवश्यक रहेको बुझेका छौँ। त्यसका लागि पनि हामी काम गरिरहेका छौँ। तर त्यसका लागि नीतिगत सुधार जरुरी छ। यहाँको जनताले त्यो पाउनुपर्छ।’

उनले दुई देशका राजनीतिक दलबीच सम्बन्ध सुधार हुनुपर्ने र कतिपय मुलुक चीन नेपालबीच राम्रो सम्बन्ध भएको देख्न नचाहिरहको उनको भनाइ थियो।

‘उनीहरू आउँछन् र जान्छन्। त्यसले असर गर्ने भनेको नेपाल र चीनका जनतालाई नै हो,’ उनले भनिन्, ‘त्यसैले यसको लक्ष्य निर्दिष्ट गरेर अघि बढ्न जरुरी छ। कठिनाइको सामना गर्न मिलेर काम गर्नुपर्छ। सहकार्यलाई अझ व्यवहारीक बनाउनुपर्छ।’

गएको वर्षदेखि चीनको आर्थिक सुधार भएको भन्दै त्यसलाई नेपालले सदुपयोयोग गर्न सक्ने प्रचुर सम्भावना रहेको उनको भनाइ थियो। विशेषगरि चिनियाँ शैलीको विकास निर्माण गर्ने र बीआरआईलाई कार्यन्वयन गर्नुपर्नेमा उनको जोड थियो।

यस्तै नेपालका लागि चिनियाँ राजदूत छन संगले आफू पहिलोपटक नेपाल आउँदा चिनियाँ नागरिक खै भनेर सोध्ने गरेको, तर अहिले नेपालमा चिनियाँ आउन थालेका बताए।

‘खुसीको कुरा हो। राष्ट्रपति सीले भनेजस्तै महामारीले सम्बन्धमा कुनै असर गर्दैन,’ उनले भने, ‘हामी दुई देशको सम्बन्ध सुधार गर्न लागेका छौँ। प्रम प्रचण्डको भ्रमणमा नयाँ सहमती भए, त्यसले सम्बन्धमा नयाँ उचाइमा पुर्याएको छ।’

उनले नेपाल चीनबीचको सम्बन्ध अझ कसरी अगाडि बढाउने भनेर सल्लाह गर्न आवश्यक रहेको बताए।

साथै, चीन नेपालको औद्योकिरणका लागि सघाउन तत्पर रहेको भन्दै नीतिगत रुपमा रहेका समस्या हल गर्न नेपालले काम गर्नुपर्ने बताए।

उनले नेपालबाट १५० जनालाई छात्रवृत्ति दिने कार्यक्रम बनाएको जानकारी दिँदै नेपाली युवालाई चीन गएर अध्ययन गर्न अनुरोध समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .