राजनीति


राष्ट्रिय सभामा एमाले : २ वर्षमा तीन चौथाई शक्ति गुम्यो, संवैधानिक परिषद्‌मा पनि कमजोर

राष्ट्रिय सभामा एमाले : २ वर्षमा तीन चौथाई शक्ति गुम्यो, संवैधानिक परिषद्‌मा पनि कमजोर

नेपालखबर
माघ ११, २०८० बिहिबार २२:२२, काठमाडौँ

राष्ट्रिय सभाको निर्वाचनले दलहरूको हैसियत पनि फेरबदल भएको छ।

स्थायी सदन भनेर चिनिने राष्ट्रिय सभामा ६ वर्षे पदावधि पूरा गरेका २० जना बिदा भएर नयाँ चुनिँदा हालसम्मको पहिलो दल अब एमाले तेस्रोमा खुम्चिन पुगेको छ।

बिहीबार १९ सांसदको निर्वाचनबाट टुंगो लागिसकेको छ भने अब एक जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन्। 

राष्ट्रिय सभामा १८ सिटसहित पहिलो दल रहेको नेकपा एमाले १० सिटमा खुम्चिएको छ। उसले निर्वाचनमा ८ मध्ये ७ सिट गुमाइसकेको छ भने मनोनित कोटा पनि उसले पाउने सम्भावना छैन।

एमालेबाट यसअघि मनोनित विमला राई पौड्यालको ठाउँमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई पठाउने समझदारी सत्ता गठबन्धनमा बनेको चर्चा छ।

पहिलो दल माओवादी

१६ सिटसहित दोस्रो दल रहेको माओवादीका अब उपाध्यक्षसहित १८ सांसद हुने छन्। यस्तै, १० सिटसहित तेस्रोमा रहेको नेपाली कांग्रेस दोस्रोमा उक्लिएको छ। याे चुनावबाट कांग्रेसले ५ सिट थपेकाे छ।

नेकपा एकीकृत समाजवादी पार्टीको पनि सिट संख्या ८ नै कायम हुने छ। उसले गुम्नै लागेका २ सिट यसपालि गठबन्धनको सहारामा जोगाएको छ।

तर कोसी प्रदेशमा सत्ता गठबन्धनमै अन्तर्घात भएकाले माओवादी केन्द्रले एउटा सिट भने यसपालि जित्न सकेन। त्यहाँ उसले जित्न सक्ने सिटमा पराजय बेहोरेको छ र त्यो सिट एमालेले हात पारेको छ। एमाले खाली हात हुनबाट पनि कोसीले नै जोगाएको छ।

माओवादीबाट राष्ट्रिय सभामा ३ जनाको पदावधि आउँदो फागुन २० गतेबाट सकिँदै छ। विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरीको ६ वर्षको अवधि सकिँदै छ। 

गठबन्धनका दलले आफ्ना रिक्त हुने सिट आफैसँग राखेर एमालेबाट रिक्त हुने ८ सिटको भागबण्डा गरेका थिए। कांग्रेसले ५ र माओवादीले ३ सिट बाँडेका थिए। तीमध्ये कांग्रेस ५ वटै सिट र माओवादीले २ सिट थप्न सके।

एमाले निरन्तर ओरालो
२०७२ मा नेपालको संविधान जारी भएपछि राष्ट्रिय सभा ५९ सदस्यीय बनाइएको छ। जसमा तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था छ। बाँकी ५६ जना निर्वाचनबाट चुनिन्छन्। यसमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहन्छन्।

२०७४ माघ २४ मा सम्पन्न निर्वाचनमा एमालेका २७ जना राष्ट्रिय सभामा चुनिएका थिए। दोस्रोमा नेपाली कांग्रेसका १३ र तेस्रो माओवादी केन्द्रका १२ जना निर्वाचित भए।

उनीहरूमध्ये एक तिहाइका दरले गोला प्रक्रियाबाट २ वर्ष, ४ वर्ष र ६ वर्षको कार्यकाल तोकियो।

एमालेबाट निर्वाचित गणेशप्रसाद तिमिल्सिना अध्यक्ष चुनिए। २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी बन्यो। जसको ३९ सिट थियो।

२०७६ फागुनमा १९ जनाको २ वर्षे पदावधि सकियो। दुई वर्षे कार्यकाल सकिनेमध्ये एकजना मनोनित थिए, बाँकी १८ सिटका लागि ०७६ माघ दोस्रो साता चुनाव भयो।

यो चुनावमा कांग्रेसले ७ सिट गुमायो। एक सिट जनता समाजवादी पार्टी (जसपा)ले गुमायो। एमाले र माओवादी मिलेर बनेको नेकपाले रिक्त ८ सहित थप ८ सिट जित्यो र राष्ट्रिय सभामा ४७ सदस्य बनायो।

२०७८ मा नेकपा फुटेर एमाले र माओवादी भए। त्यतिबेला अध्यक्षसहित एमालेका ३१ र उपाध्यक्षसहित माओवादीका १५ सदस्य राष्ट्रिय सभामा रहे।

२०७८ भदौ ९ देखि एमाले ओरालो लाग्न थाल्यो। ३१ सांसद रहेको एमालेबाट माधवकुमार नेपाल, झलनाथ खनालसहित केही प्रभावशाली नेताले नेकपा एकीकृत समाजवादी गठन गरे। 

राष्ट्रिय सभाका ८ सदस्य एकीकृत समाजवादीमा लागे। बाँकी एमालेमा रहे।

२०७८ कै माघ ११ गते चार वर्षे कार्यकाल पूरा गरेकामा एमालेकै ८ सदस्य थिए। जसमा एकजना मात्र जित्दा ७ सदस्य पराजित भए। यसरी एमाले राष्ट्रिय सभामा खुम्चिँदै गयाे।

एमालेलाई धक्का लगाउन कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)बीच बनेको गठबन्धनले मुख्य भूमिका खेल्यो।

एकै वर्ष एमालेले विभाजन र चुनावबाट १५ जना राष्ट्रिय सभा सदस्य गुमाएको थियो।

यद्यपि, १७ सिटसहित एमाले राष्ट्रिय सभाको पहिलो दल नै रह्यो।

राष्ट्रिय सभामा उपाध्यक्षसहित १५ सदस्य रहेको माओवादी त्यतिबेला दोस्रो शक्ति बन्यो। १० सदस्य रहेको कांग्रेस तेस्रो र ८ सदस्य रहेको एकीकृत समाजवादी चौथो शक्ति रहँदा जसपाका तीन, लोसपाका एक, राष्ट्रिय जनमोर्चाका एक, स्वतन्त्र एक र मनोनित तीनजना थिए।

यसपटक ६ वर्षे कार्यकाल पूरा गरेका २० सदस्यमध्ये एमालेले राष्ट्रिय सभा अध्यक्षसहित ७ सिट गुमाउने छ। अब एमालेसँग १० सिट मात्र बाँकी हुनेछ।

राष्ट्रिय सभा अध्यक्ष नहुँदा एमाले संवैधानिक परिषद्‍मा पनि कमजोर हुने भएको छ। यति मात्र होइन, संसदीय समितिमा पातलो उपस्थिति र सभापति पनि नपाउने अवस्था बन्न सक्नेछ।

२ वर्षअघिसम्म एमालेसँग राष्ट्रिय सभामा ३१ सांसद थिए। अहिले १० जना मात्र बाँकी भएका छन्। यसबीचमा उसले करिब तीन चौथाई हिस्सा गुमाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .