राजनीति


दिल्ली सरकार परिवर्तन गर्न मतदान सुरु, को आउला सत्तामा?

दिल्ली सरकार परिवर्तन गर्न मतदान सुरु, को आउला सत्तामा?

नेपालखबर
माघ २५, २०७६ शनिबार ५:१९,

भारतको राजधानी नयाँ दिल्लीमा आज (शनिबार) विधानसभाको चुनाव भइरहेको छ।

दिल्ली सरकारको कार्यकाल यही फेब्रुअरी २२ तारिखमा सकिने भएकाले मतदान भइरहेको हो।

बिहान ८ बजे सुरु मतदान साँझ ६ बजेसम्म जारी रहने बीबीसीले जनाएको छ।

मदतानको परिणाम २ दिनपछि आउनेछ र त्यहाँको सत्ता कसको हातमा जानेछ भन्ने टुङ्गो लाग्नेछ।

दिल्ली सरकार बनाउन कूल ७० सिटमध्ये ३६ सिट जित्नुपर्नेछ।

यसअघिको चुनावमा भ्रष्टाचारविरोधी आन्दोलनकारीहरूले स्थापना गरेको एउटा नयाँ दल आम आदमी पार्टीले दिल्ली विधानसभाका लगभग सबै सिट जितेकाले याे चुनावलाई निकै महत्त्वसाथ हेरिएको छ।

दिल्ली विधानसभामा कूल ७० सिट छन्। सन् २०१५ मा भएको निर्वाचनमा आम आदमी पार्टीले ६७ सिट जितेको थियो।

यसपटक चुनावी मैदानमा कूल ६७२ उम्मेदवार छन्।

तर दिल्लीको सत्ताधारी आम आदमी पार्टी, केन्द्रको सत्ताधारी भारतीय जनता पार्टी भाजपा र विपक्षी कङ्ग्रेसबीच त्रिपक्षीय भीडन्त हुने विश्लेषण गरिएकाे छ।

आम आदमी पार्टी दोस्रो पटक पनि सत्ता हत्याउने कोसिसमा छ।

बीबीसीका अनुसार लगातार तीनपटक दिल्लीको सत्तामा रहेको कङ्ग्रेस पनि पुन: आफ्नो विरासत फर्काउने प्रयासमा छ।

केन्द्रको सत्ताधारी भाजपाले पनि सत्ता हत्याउन सम्पूर्ण शक्ति लगाएको छ।

दिल्लीमा सन् २०१३ डिसेम्बरमा पनि विधानसभा चुनाव भएको थियो। तर त्यसबेला कुनै पनि पार्टीले बहुमत ल्याउन सकेका थिएनन्।

त्यसबेला भ्रष्टाचारविरोधी आन्दोलनबाट उदाएको आम आदमी पार्टी सबैभन्दा ठूलो दल बनेको थियो।

उसले कङ्ग्रेससँग मिलेर सरकार बनाएको थियो। तर उक्त सरकार ४९ दिन मात्र टिक्यो र पार्टीले स्वयम् सरकार छाडेर नयाँ चुनावको माग गर्‍यो।

नेताहरूका विवादित भाषण र उठाइएका मुद्दाका कारण यसपालिकाे याे निर्वाचन निकै चर्चामा छ।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .