ad ad

राजनीति


शीतल निवासमा नेताहरूलाई राष्ट्रपतिले भने : संविधान कार्यान्वयन नहुँदा जनता निराश देखिए

शीतल निवासमा नेताहरूलाई राष्ट्रपतिले भने : संविधान कार्यान्वयन नहुँदा जनता निराश देखिए

नेपालखबर
माघ १, २०८० सोमबार १२:४८, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयन नभएकाले जनतामा निराशा देखिएको बताएका छन्। 

सोमबार शीतल निवासमा बोलाएर संघीय संसद्‍मा रहेका दलहरूलाई संविधान कार्यान्वयनका लागि तत्काल कानुन बनाउन उनले आग्रह गरेका छन्। 

माघी पर्वको उपलक्ष्यमा शीतल निवासमा सोमबार आयोजित शुभकामना आदानप्रदानका क्रममा संघीय संसद्‍मा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूलाई सम्बोधन गर्दै उनले समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र साकार पार्छौँ भन्ने प्रण गर्न पनि भने।

‘यो संविधानले उत्पीडित, उपेक्षित, पिछडिएका जनतालाई अधिकार सम्पन्न बनाएको छ। विश्व समुदायले पनि हाम्रो संविधानको प्रशंसा गरेको छ। तर यसको व्यावहारिक रूपमा पूर्ण कार्यान्वयन हुन बाँकी छ’, उनले भने, ‘जनताको निराशा अरु कारणले होइन, संविधान कार्यान्वयन नभएर हो। संविधान कार्यान्वयन गर्न छिटो कान'न बनाएर जनताको निराशालाई आशामा परिणत गरौँ।’ 

पौडेलले नेपाली जनताले कहिल्यै पछाडि फर्कन नचाहेको स्पष्ट पारे। ‘नेपाली जनताको चाहना मैले पनि बुझेको छु। नेपाली जनता कहिल्यै पछाडि फर्कन चाहँदैनन्। उनीहरूको चाहना अगाडि बढ्ने नै हो। त्यसैले समावेशी संघीय लोकातान्त्रिक गणतन्त्र साकार पारेर जनताको त्यो चाहना पूरा गर्ने तपाईं हामी सबै मिलेर आजको दिनमा प्रण गरौँ’, उनले भने। 

पौडेलले माघी थारु र मगर समुदायका साथै सम्पूर्ण नेपालीको मौलिक पर्व भएको बताउँदै माघीले ऋतु परिवर्तनको समेत प्रतिनीधित्व गर्ने भएकाले विषेश महत्व रहेको बताए।

कार्यक्रममा उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, राष्ट्रिय सभाका उपाध्यक्ष, संघीय संसदमा प्रतिनीधित्व गर्ने संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू र स्वतन्त्र सांसदहरू उपस्थित थिए। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने काठमाडौं बाहिर जाने कार्यक्रम भएकाले शुभकामना दिएर निस्किएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .