राजनीति


गठबन्धन बैठकमा प्रचण्डले भने : ओलीजीले राष्ट्रिय सभामा हामीलाई शून्य बनाएर नजानू भन्नुभयो

गठबन्धन बैठकमा प्रचण्डले भने : ओलीजीले राष्ट्रिय सभामा हामीलाई शून्य बनाएर नजानू भन्नुभयो

फाइल तस्बिर


नेपालखबर
पुस १८, २०८० बुधबार १८:५१, काठमाडौँ

बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनका चार दलको बैठकमा नेकपा एमालेलाई राष्ट्रियसभाको केही सिट दिने विषयमा छलफल भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बसेको उक्त बैठकमा राष्ट्रिय सभामा एमालेलाई पनि समेटेर लाने गरी छलफल भएको नेताहरूले बताएका छन्।

प्रधानमन्त्रीले एमालेलाई समेट्ने विषयमा कुरा अघि बढाएको बैठकपछि अध्यक्ष केपी शर्मा ओली पनि बालुवाटार पुगेका  थिए। 

गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्डले एमालेलाई राष्ट्रिय सभामा शून्य बनाएर अघि नबढ्न आग्रह गरेको ब्रिफिङ प्रधानमन्त्री दाहालले गरेका छन्। 

गठबन्धन बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले राष्ट्रिय सभामा एमालेलाई शून्य बनाएर नजान ओलीले गरेको आग्रहबारे प्रचण्डले ब्रिफिङ गरेको बताए। 

‘राष्ट्रिय सभामा एमालेलाई शून्य बनाएर नजान ओलीजीले प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्नु भएको छ', पाण्डेले बालुवाटारमा भने, 'ओलीजीको प्रस्तावलाई लिएर अझै गठबन्धनमा छलफल हुन्छ। गठबन्धनमा छलफलपछि यसबारे ठोस निर्णय हुनेछ।’

राष्ट्रियसभामा एमालेलाई समेट्ने गरी प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि संवाद गरेका छन्। यस्तोमा बुधबार अपरान्ह यसबारे प्रचण्ड र देउवासँग छलफलका लागि ओली बालुवाटार पुगेका थिए। त्यहीँ उक्त कुरा राखिएको हो। 

एमालेलाई राष्ट्रियसभामा सिट दिनका लागि गठबन्धनले सर्त राख्न सक्ने पाण्डेले बताए। केही सर्तसहित एमालेलाई सिट दिने दिशामा गठबन्धन रहेको उनले जानकारी दिए। 

प्रधानमन्त्री प्रचण्ड संक्रमणकालीन न्यायसम्बन्धी प्रक्रियालाई टुंगोमा पुर्‍याउने तयारीमा छन्। त्यसमा एमालेलाई सहमतिमा ल्याएर अघि बढ्ने उनको योजना छ। यस्तोमा उनले राष्ट्रियसभामा एमालेलाई पनि भाग छुट्याउने गरी केही दिनयता छलफल गरिरहेका छन्। 

एमालेले आफूलाई पनि राष्ट्रियसभामा भाग छुट्याउनुपर्ने कुरा प्रचण्डसँग राखेको हो। एमालेको प्रस्तावपछि अब गठबन्धनको बैठक बिहीबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी सकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .