राजनीति


मध्यपहाडबाट फर्किएपछि एमालेको निष्कर्ष : गाउँमा विकास पुग्यो तर बसाइँसराइले रित्तै

राजावादी, प्रतिगामी र अतिवादीको भ्रम चिरेको दाबी
मध्यपहाडबाट फर्किएपछि एमालेको निष्कर्ष : गाउँमा विकास पुग्यो तर बसाइँसराइले रित्तै

फाइल तस्बिर


रुपक चौलागाईं
पुस ८, २०८० आइतबार १९:२, काठमाडौँ

नेकपा एमालेले गत मंसिर १४ देखि पुस १ गतेसम्मको पुष्पलाल (मध्यपहाडी) राजमार्ग ‘संकल्प यात्रा’का निष्कर्षहरू आइतबार सार्वजनिक गरेको छ।

पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमालेले यात्रा उत्साहप्रद र सफल भएको दाबी गरेको छ।

अभियानका क्रममा ४२ वटा जनसभा, एक सयभन्दा बढी संक्षिप्त सभा, जनभेला र भेटघाट भएको एमालेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

यात्रापछिको निचोड सुनाएको एमालेले पहाडी क्षेत्रबाट हुने बसाइँसराइलाई मुख्य समस्या भनेको छ। पहाडबाट जनसंख्याको ठूलो हिस्सा तराई र ठूला सहर हुँदै विदेशिने चुनौतीलाई ‘अर्थ राजनीतिको सबैभन्दा जटिल प्रश्न’का रूपमा एमालेले अर्थ्याएको छ।

जनताको मायाले भावुक र ऊर्जायुक्त!
एमालेले यो अभियानका क्रममा जनताबाट पाएको मायाले भावुक र ऊर्जायुक्त बनाएको दाबी गरेको छ। 

‘अक्सिजन सिलिन्डर बोकेर, ह्विलचेयरको साहरा लिएर र लठ्ठीको भरमासमेत नेतृत्वलाई भेट्न र कुरा सुन्न आउनुभएका नागरिकहरूबाट प्राप्त मायाले हामीलाई अत्यन्त भावुक र ऊर्जायुक्त बनाएको छ,’ एमालेले बताएको छ। 

साथै, एमालेले निर्वाचनको बेला नभई ‘अफसिजन’मा पनि जनताको सहभागिता हुनुलाई अभूतपूर्व भनेको छ।

‘राजावादी, प्रतिगामी र अतिवादीको भ्रम चिरियो’
एमालेले अभियानका क्रममा पूर्वराजावादी, प्रतिगामी र अतिवादीहरूलाई केन्द्रमा राखेर बनेका जनविरोधी चर्चा मेटाउने प्रयास भएको जनाएको छ। 

‘यस अभियानमा भएको विशाल जनसहभागिताले धेरै भ्रम र अन्यौल चिर्ने काम गरेको छ,’ एमालेले भनेको छ, ‘केही समययता केही पूर्व राजावादी, पश्चगामी, अतिवादीहरूलाई केन्द्र बनाएर निर्माण गरिएका जनविरोधी चर्चा र प्रयास खण्डित भएको छ।’

पार्टी र नेतृत्वपंक्ति एकताबद्ध
एमालेले यो अभियानले आफ्नो पार्टीको नेतृत्व र पार्टीपंक्तिलाई एकताबद्ध बनाउन सहयोग गरेको जनाएको छ। 

‘नेतृत्व र कार्यकर्ता तथा पार्टी र जनताबीचको भावनात्मक सम्बन्धलाई सुदृढ बनाएको छ,’ एमालेले भनेको छ। 

पार्टी नेतृत्वलाई आफूसँगै पाउँदा र केही समय बिताउन पाउँदा कार्यकर्ता पंक्ति पनि उत्साहित भएको एमालेले उल्लेख गरेको छ।

मेसमा खाना, जनताको घरमा वास!
यो अभियानका क्रममा एमालेले जनसहभागिता र जनताकै साथ–सहयोगमा खानपिन तथा आवासको व्यवस्थापन गरिएको जनाएको छ। 

‘एकाध स्थानबाहेक अधिकांश ठाउँमा हामीले स्थानीय जनताले सामूहिक रुपमा व्यवस्थापन गरेको मेसमा खाना खायौँ,’ एमालेले भनेको छ, ‘जनताकै घरमा आवास र आश्रय लियौँ, कतिपय ठाउँमा सामूहिक रुपमा रातको विश्राम लियौँ।’

त्यस्तै, स्थानीय परम्परा, संस्कृति र भेषभूषालाई ग्रहण गर्दै जनतासँगको सम्बन्ध बलियो बनाउन अभियानले सहयोग गरेको एमालेले बताएको छ। 

एमालेले देखेको विकास र समृद्धि
एमालेले यो यात्राका क्रममा मध्यपहाडका गाउँ र बस्तीहरूमा ठूलो परिर्वतन आएको विश्लेषण गरेको छ। 

‘प्रायः सबै पालिका र वडाहरूमा कच्ची नै भए पनि सडकको पहुँच पुगेको छ,’ एमालेले भनेको छ, ‘हिजो पाँच छ दिनसम्म लगाएर मात्रै पुथिने गाउँ बस्तीहरू आज सडक पूर्वाधारका कारण केही घण्टाको पहुुँचभित्र आएका छन्।’

खानेपानी, बिजुली र टेलिफोन सुविधाले आमजनताको चेतनास्तरमा आश्चर्यजनक वृद्धि गरेको एमालेको बुझाइ छ। 

जब लुकुममा महिलालाई फोटो मन परेन...
संकल्प यात्राकै क्रममा एमालेले नेतृत्व पंक्तिको स्वागतमा पूर्वी रुकुमको भूमे गाउँपालिका–१ स्थित लुकुम गाउँ पुगेको थियो। 

जहाँ स्वागतका लागि उभिएकामध्ये एक प्रौढ महिलासँग एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले तस्बिर खिचे। 

तस्बिर खिचिसकेपछि ती महिलालाई एंगल मन नपरेर पुनः खिच्न लगाइन्। जुन कुरालाई पछिल्लो समय सूचना र प्रविधिको विकासका रुपमा एमालेले उदाहरण पस्किएको छ। 

‘लुकुम गाउँमा ऊनीको धागो कात्दै स्वागतमा उभिनुभएकी एकजना प्रौढ महिलाको फोटो खिचियो। उहाँले खै खै देखाऊ भन्नुभयो, फोटोको एंगल नराम्रो लागेकोले फेरि खिच्न भन्नुभयो,’ उदाहरण प्रस्तुत गर्दै एमालेले भनेको छ, ‘उहाँलाई चित्त बुझ्नेगरी खिचेको फोटो त्यहीँका स्थानीय नेतामार्फत् पठाइदिन्छौँ भन्दा फेसबुकमा हाल्नू नि, हामी त्यहीँबाट तानिहाल्छौं भन्नुभयो।’

एमालेले देखेका समस्या
एमालेले अभियानका क्रममा कतिपय गाउँहरू रित्तिँदै गएको, विद्यालय बन्द हुने अवस्थामा पुगेको, खेतीयोग्य जमिन बाँझो बन्दै गएको र बसाइँसराइँको समस्या बढ्दै गएको लगायत समस्याहरू औंल्याएको छ। 

मध्यपहाडका विभिन्न भूभागमा भूमिहीनहरूको संख्या उल्लेख्य देखिएको भन्दै त्यो  समस्या समाधान गर्नुपर्ने एमालेले उल्लेख गरेको छ। 

त्यस्तै, पछिल्लो समय बाँदर, बँदेल, दुम्सी, घोरल लगायत वन्यजन्तुका कारण बालीनाली नष्ट भइरहेकोबारे पनि एमालेले चिन्ता गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .