ad ad

राजनीति


सोविता गौतमको संसदीय अनुभव : शून्य समयमा उठाइएका गम्भीर विषय पनि सुनुवाइ हुँदैन

सोविता गौतमको संसदीय अनुभव : शून्य समयमा उठाइएका गम्भीर विषय पनि सुनुवाइ हुँदैन

नेपालखबर
पुस ८, २०८० आइतबार ९:४८, काठमाडौँ

प्रतिनिधिसभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै मुद्दामा एक हुनुपर्ने बताएकी छन्।

राससको ‘सांसदसँग संवाद’ कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गौतमले जनताको वृहत्तर हितका विषयमा प्रस्तुत हुने मुद्दामा सांसद सत्तापक्ष र प्रतिपक्षका आधारमा बाँडिनु ठीक नभएको बताइन्। ‘संसद्मा प्रस्तुत हुने जनचासोका विषयलाई पनि मतदानका आधारमा स्वीकार वा अस्वीकार गर्ने परिपाटी र संस्कारको अन्त्य हुनुपर्छ,’ उनले भनिन्।

‘सरकारले कुनै पनि विषयवस्तु संसद्मा लिएर आउँदा सरकार पक्ष वा सरकार बनाउन मत हालेका सांसदले राम्रो–नराम्रो नहेरी बाध्यात्मक परिस्थितिबाट पक्षमा बोल्नुहुन्छ र मतदान गर्नुहुन्छ । प्रतिपक्षले जतिसुकै राम्रा विषय उठान गरे पनि उहाँहरु हुँदैन नै भन्नुहुन्छ,’ उनले भनिन्, ‘मुद्दामा भन्दा पनि सरकारमा छ कि प्रतिपक्षमा छ भन्ने कुरा ध्यानमा राखेर विधेयक पारित हुन्छ। सत्तापक्ष र प्रतिपक्षका आधारमा मात्रै ‘फेल र पास’ गर्ने हो भने सांसदको भूमिकाको अर्थ छैन, संसद् सरकारको कठपुतलीजस्तो मात्र हुन्छ।’

काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित सांसद गौतमले पहिलो संसदीय अभ्यासको अनुभव सुनाउँदै संसद्को आगामी अधिवेशनको तयारीबारे बताइन्। 

कानुनमा स्नातक उनले नेपाल टेलिभिजनमा पाँच वर्ष कार्यक्रम निर्माता एवं प्रस्तोता भई काम गरेकी थिइन्। पहिलोपटक संसदीय अभ्यास गरिहरको जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउन सांसदको रचनात्मक भूमिकाको आवश्यकता औँल्याइन्। उनले समयमा नै परिणाम प्राप्तिका लागि सबै पक्षको साझा प्रयासमा जोड दिइन्।

‘हामीले मन्त्रीहरूलाई ध्यानाकर्षणपत्र कति बुझाउने, कति प्रश्न गर्ने, संसद्मा कति बोल्ने? त्यसको कार्यान्वयन शून्य छ’, सांसद गौतमले भनिन्, ‘ध्यानाकर्षण गराइएको विषयमा कार्यान्वयनका लागि सबैको साझा पहल आवश्यक हुन्छ । कतिपय अवस्थामा जनता सडकमा उत्रिने र सांसद बोल्ने सँगसँगै भएपछि मात्र सरकारको ध्यानाकर्षण हुँदोरहेछ। त्यही विषय सञ्चारमाध्यममा आइरह्यो भने ध्यानाकर्षण भइरहन्छ।’

सांसद गौतमले अघिल्लो दुई अधिवेशनको अनुभवबाट सिक्दै आगामी अधिवेशनमा जनचासोका विषय समेटेर गैरसरकारी विधेयक संसद्मा प्रस्तुत गर्ने तयारी गरिरहेको जानकारी पनि दिइन्।

‘हामीलाई थाहा छ, गैरसरकारी विधेयक पारित हुने सम्भावना एकदमै न्यून हुन्छ, त्यसमाथि हामी प्रतिपक्षमा छौँ’, उनले भनिन्, ‘सरकारको ढिलासुस्ती नै कानुन बन्न नसक्नुको मुख्य कारण हो। अब सरकारलाई सबै प्रकारको दबाब सृजना गरेर कानुन बनाउन प्रयत्न गर्छौँ।’

उनले कानुन निर्माणमा सीमित स्वार्थ समूह हाबी हुने गरेको आशङ्कासमेत व्यक्त गरिन्। ‘नत्र कानुन निर्माणमा किन यति धेरै ढिलाइ भइरहेको छ? नेपाल अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा विगत १० वर्षदेखि युरोपेली युनियनको कालोसूचीमा छ । यो सूचीबाट हटाउन कानुनी अड्चन रहेको हामीले अनुभव गरेका छौँ । तर कानुन बनाउन र त्यसको कार्यान्वयन गर्न सरकारी उदासिनता प्रष्टै देखिएको छ । यसमा कहीँ न कहीँ स्वार्थ समूहले रोकेको आशङ्का छ,’ उनले भनिन्।

कानुन निर्माणमा भइरहेको ढिलाइमा सरकार नै मुख्य जिम्मेवार रहेको उनको धारणा छ। सांसद गौतमले भनिन्, ‘कतिपय अवस्थामा मन्त्रालयको विभागमै मस्यौदा अड्किन्छ, त्यहाँबाट निस्केर मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा गएर रोकिने हुन्छ । सम्पत्ति शुद्धीकरण विषयमा नेपाल खतराको सूची ‘ग्रे लिष्ट’मा पर्ला भन्ने खतरा भइसक्यो तर यससम्बन्धी कानुन बनाउने कुरामा हामी जुट्न सकिरहेका छैनौँ।’

उनले संसद्को नियमावलीअनुसार प्रधानमन्त्री र मन्त्रीहरूलाई जवाफदेही बनाउने अभ्यास फितलो भयो कि भन्ने लाग्छ । सदनमा उठेका विषयप्रति सरकार संवेदनशील बन्नुपर्नेमा जोड दिँदै उनले भनिन्, ‘शून्य समयमा राखिएका विषयमा खासै सुनुवाइ भएन। सांसदले सदनमा बोलेर खास अर्थ रहेनछ भन्ने पनि देखाइयो । हामीले उठाएका विषयमा उहाँहरूले सुनेजस्तो गर्नुहुन्छ तर कार्यान्वयन हुँदैन।’

सदन र संसदीय समितिको बैठकबाहेकको समय आफूले जनताले भोग्दै आएका समस्या र सुझाव सङ्कलनमा बिताउने गरेको उनले बताइन्। जनगुनासो सुन्नका लागि उनले ‘सोबितासँग संवाद’ कार्यक्रम नै सञ्चालन गर्दै आएकी छन्।

विधायिकाको रूपमा आफ्नो मुख्य भूमिका कानुन निर्माण भए पनि जनताको अपेक्षाअनुसारको कानुन बनाउनकै लागि जनताका दैनिकीसँग सम्बन्धित विषयवस्तुसँग जानकार हुनुपर्ने उनको बुझाइ छ।

‘कानुन निर्माण मेरो पहिलो भूमिका हो । संसदीय क्षेत्रका विकास निर्माणका काममा मेरो खासै भूमिका नहुनुपर्ने हो, तर मलाई थाहा छैन भन्दा नमीठो लाग्नेरहेछ’, उनले भनिन्, ‘जनताको अपेक्षा जनप्रतिनिधि विकासको काममा आउनुपर्छ र जोडिनुपर्छ भन्ने हुँदोरहेछ । त्यसो हुँदा उहाँहरूसँग कुनै न कुनै रूपले संवादलाई निरन्तरता दिनका लागि यो कार्यक्रम सुरु गरेको हुँ।’

संवादका क्रममा उनले घरदैलो अभियानदेखि प्रवाससम्मको अनुभव साटिन्।  देश बनाउने सवालमा नेता मात्र इमान्दार र दूरदर्शी भएर नपुग्ने उनको बुझाइ छ।

‘हरेकपटक कोही न कोहीसँग भेट हुँदा उहाँहरू तपाईँसँग धेरै अपेक्षा छ भन्नुहुन्छ । मैले सबैसँग एउटै उत्तर फर्काउने गरेकी छु, ‘मलाई पनि तपाईँहरूसँग आशा छ है’, उनले भनिन्, ‘म एक जनप्रतिनिधि हुँ, त्यसैले उहाँहरु मसँग अपेक्षा स्वाभाविकरूपमा राख्नुहुन्छ । त्यस्तै उहाँहरू कुनै पनि पेसामा आबद्ध हुनुहुन्छ, त्यसमा इमान्दार हुनुहोस् भन्ने मेरो पनि अपेक्षा छ।’

उनले राजनीतिक नेतृत्वको दृष्टिकोणलाई कार्यान्वयनमा लैजान पनि जनताको साथ सहयोग चाहिने बताइन्। ‘कुनै व्यक्तिले केही निर्णय गर्दा ऊ स्वयंलाई कति फाइदा हुन्छ र त्यसले समाज र देशलाई कति बेफाइदा गर्छ भन्ने सोच्नु आवश्यक छ’, उनले भनिन्। 

अठ्ठाइस वर्षीया सांसद गौतमले तीनै तहका सरकार र जनप्रतिनिधिले समय–समयमा सार्वजनिक सुनुवाइ गरिरहने र सबै जनप्रतिनिधि एक ठाउँमा भेला भएर जवाफदेहिताको कसीमा आफूलाई उभ्याउनुपर्ने बताइन्।

उनले भनिन्, ‘तर तीनै तहका जनप्रतिनिधि एक ठाउँमा आएर जवाफ दिने किसिमको कानुनमा त्यस्तो कुनै विधि र प्रक्रिया छैन । म आफैँले जनताप्रति जवाफदेही हुनुपर्छ भनेर यो संवाद कार्यक्रम राखेको छु । जसले गर्दा हाम्रा कानुनमा भएका छिद्रहरूबारे समेत उहाँहरूबाट जानकारी बटुल्ने अवसर मिलेको छ।’

प्रवाससम्म पुगेर नेपाली नागरिकको अवस्थाबारे जानकारी लिएकी गौतमले विदेशी भूमिमा गर्ने परिश्रम देशभित्रै उपयोग गर्न सके सबैले चाहेको समृद्धि प्राप्त हुने विश्वास व्यक्त गरिन्। उनले भनिन्, ‘विभिन्न देशमा रहेका नेपालीको अनुभव देशअनुसार फरक छ । तर खाडी मुलुकमा वैदेशिक रोजगारमा जानेलाई निःशुल्क भिसाको व्यवस्थाबारे जानकारी नभएको, भाषा र सीप, ज्ञान नभएका कारण समस्या भोग्नुपरेको देखियो।’

पछिल्लो समय युवा जनशक्ति विदेशिने क्रम बढेकोप्रति चिन्ता प्रकट गर्दै उनले भनिन्, ‘यो देश कुनै विदेशीले आएर बनाइदिँदैन । सबैले देश छाड्ने हो भने देश शून्य हुन्छ । त्यसैले यो देश बनाउन हामी आफैँले पहल गर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .