प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले धनकुटाको लेगुवामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण प्रयास गरेका महेश राईसहितलाई तत्काल रिहा गर्न माग गरेको छ।
एमालेको मध्यपहाडी यात्राका क्रममा विरोधमा उत्रिएका झापाको बुद्धशान्ति गाउँपालिकाका बुलेट किराँती 'अञ्जेस राई' र धनकुटाका महेश राईलाई तत्काल रिहा गर्न पहिचानवादीले माग गरेका हुन्।
उनीहरूलाई बिनाशर्त तत्काल रिहा नगरेमा संयुक्त सङ्घर्ष समितिदे सशक्त आन्दोलन गर्न बाध्य जनाएको छ।
समितिले वक्तव्य निकालेर इलाममा बन्दका बेला पिकअप भ्यानमा गजनी गरेको आरोपमा पुस २ गते प्रहरीले बुलेट किराँती 'अञ्जेस राई'लाई झापाको अर्जुनधारा-११ बाट पक्राउ गरेको जनाएको छ।
उक्त आगजनीमा संयुक्त सङ्घर्ष समितिको संलग्नता नभएको जनाएको छ। बुद्धशान्ति गाउँपालिकाका उनलाई झुटो मुद्दा लगाइएको दाबी समितिले जनाएको छ।
पहिचानको आन्दोलन कमजोर बनाउन इलामको रोङ गाउँपालिका-४ किटानीमा मे १ ज ११४० पिकअपमा आगजनी गरी त्यसको दोष संयुक्त सङ्घर्ष समिति बुद्धशान्तिका संयोजक बुलेट किराँती 'अन्जेस राई'लाई लगाइएको दाबी उनीहरूले गरेका छन्।
गत मङ्सिर २८ गते धनकुटाको लेगुवामा ओलीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका राईलाई हप्ता बितिसक्दा धनकुटाका प्रमुख जिल्ला अधिकारीले रिहा गर्न नमानेको उल्लेख छ।
महेश राई र उनकी श्रीमतीको मानवअधिकार रक्षाका लागि मानवअधिकारवादी संस्थाहरूको ध्यानाकर्षण गराइएको छ।
‘घटनाकै दिन पनि एमाले कार्यकर्ताबाट निर्घात कुटिएका र प्रहरीले हत्कडी लगाएर हिरासतमा राखिएका महेश राईको श्रीमतीलाई समेत एमाले कार्यकर्ताले धम्क्याएर वक्तव्यवाजी गर्न लगाएकोमा आपत्ति छ’, उनीहरूले भनेका छन्।
Shares

प्रतिक्रिया