राजनीति


महासमितिबाटै चुनावी गठबन्धन नगर्ने निर्णय ‍लिन महामन्त्री गगनको प्रस्ताव

भने : एक्लै उठे कांग्रेस र एमालेले एकअर्कासँग डराउनु पर्दैन
महासमितिबाटै चुनावी गठबन्धन नगर्ने निर्णय ‍लिन महामन्त्री गगनको प्रस्ताव

तस्बिर : सरोज नेपाल


नेपालखबर
पुस १, २०८० आइतबार १९:९, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी २०८४ को चुनावमा पार्टीका शुभेच्छुक र कार्यकर्तालाई रुख चिह्नमा मात्रै मतदानको ग्यारेन्टी गर्नुपर्ने बताएका छन्। 

नेपाली कांग्रेस पर्वत क्षेत्र नम्बर १ ले गरेको क्षेत्रीय सम्मेलनलाई आइतबार कुश्मामा सम्बोधनका क्रममा थापाले चुनावअगाडि हुने गठबन्धनलाई अब निषेध गर्नुपर्ने समेत बताए। 

गठबन्धनका नाममा कांग्रेका कार्यकर्ताहरूलाई अन्य दलको चुनाव चिह्नमा मतदान गर्न बाध्य बनाउँदा उनीहरूको चित्त दुखेको पनि थापाले बताएका छन्। 

‘अन्य दलको चुनाव चिह्नमा मतदान गर्न लगाउँदा हाम्रा समर्थक र शुभेच्छुकको सबैभन्दा चित्त दुखेको छ’, उनले अगाडि भने, ‘हामी धर्म मान्ने मान्छेलाई मन्दिर जसरी प्रिय छ, त्यसैगरी रुखमा आस्था हुनेलाई त्यो चुनाव चिह्न पनि उत्तिकै प्यारो छ।’ 

उनले यसअघिको चुनावमा हारिन्छ भन्ने डरले शुभेच्छुक र कार्यकर्तालाई लाइन लगाएर अन्य दलका चिह्नमा मत हाल्न बाध्य पारिएको पनि स्वीकारे।

‘चुनाव हारिन्छ कि भन्ने लाइन लगाएर अरुमा भोट हाल्न लगायौँ। कसैलाई हँसिया हथौडा, कसैलाई कलममा, कसैलाई साइकलमा मत हाल्न लगायौँ’, उनले भने, ‘यसमा म कसैलाई दोष दिन्नँ। यस कुरामा म पनि दोषी हो, हामीले के ठान्यौँ भने अरुसँग मिलेनौँ भने एमाले र माओवादी मिल्छन्। २०७४ मा जस्तै एमाले र माओवादी मिले हामीलाई ठूलो क्षति हुन्छ भन्ने ठान्यौँ।’ 

उनले गठबन्धनले कांग्रेसलाई भरोसा गर्ने बलियो पंक्तिको मनमा चोट पुगेको पनि बताए। 

‘तर, यो चुनावी नाफा-घाटाको कुरा होइन रहेछ। कति ठाउँमा जित्यौँ, कति ठाउँमा हार्‍यौँ भन्ने मुख्य होइन रहेछ। हामी नमिलेको भए के हुन्थ्यो भन्ने पनि होइन रहेछ’, थापाले भने, ‘यो के हो रहेछ भने कांग्रेसको जनाधार  छ, समर्थक र शुभेच्छुको बलियो पंक्तिको भरोसा कायम राख्ने कि नराख्ने भन्ने मुख्य कुरा रहेछ।’

उनले दोहोर्‍याउँदै यस सवालमा कसैलाई दोष दिनु उचित नहुने बताए। ‘यसमा म कसैलाई दोष दिन्नँ। हिजो जे भयो, नेपाली कांग्रेसले निर्णय गर्यो। मैले फरक मत राखेँ तर पार्टिले निर्णय गरेपछि सकियो, मैले पनि मानेँ’, उनले भने, ‘अनुभवले हामीलाई सिकायो। अब हामीले यसलाई सच्याए अघि बढ्नुपर्छ।’

महामन्त्री थापाले आगामी फागुनमा हुने महासमिति बैठकबाट अब कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गर्नुपर्ने पनि बताए। 

‘महासमिति बैठकबाट यसअघि नेपाली कांग्रेसले जे गरे पनि २०८४ को चुनावमा एक्लै लड्नुपर्ने निर्णय गर्नुपर्छ। अब योभन्दा अगाडिको यात्रालाई पूर्णविराम दिनुपर्छ’, उनले भने, ‘निर्वाचनभन्दा पहिला जस्तोसुकै अवस्था आओस्, सिंहासनबाट ओर्लिएर ५ या १० वर्ष धुलोमा बस्नुपरे पनि परोस्। तर कांग्रेसले अब देशभरका शुभेच्छुक र समर्थकलाई रुख चिह्नमै मतदान गर्न लाउनुपर्छ, महासमिति बैठकले यसको ग्यारेन्टी गर्नुपर्छ।’

थापाले अब कांग्रेसले रुख चिह्नबाहेक अरुमा मत हाल्न बाध्य पार्न नहुने दोहोर्‍याए। ‘रुखमा आस्थावान कार्यकर्तालाई अब अरु चिह्नमा मतदान गर्न बाध्य नपार्ने संकल्प र ग्यारेन्टी गर्नुपर्छ’, उनले भने, ‘त्यसका लागि हामीले कानुनी निर्णय लिन पनि तयार हुनुपर्छ।’

महामन्त्री थापाले राजनीतिक चतुर्‍याइँ र सुझबुझ अपनाएर निर्वाचन कानुनमा चुनावअगाडिको गठबन्धनलाई निषेध गर्नुपर्ने बताए। 

‘रणनीतिक चतुर्‍याइँ र सुझबुझ अपनाएर अब निर्णय लिनुपर्छ। निर्वाचन कानुन आउँदैछ, अब निर्वाचन कानुनमै चुनावभन्दा अगाडि गठबन्धन नगर्ने व्यवस्था गरौँ’, उनले भने, ‘अनि कांग्रेस र एमालेले एकअर्कासँग डराउनुपर्दैन। जसको जति तागत छ, त्यो आउँछ। जसले जित्छ, उही आउँछ, नयाँ आए नयाँ आउँछ, पुरानो आए पुरानो आउँछ।’

थापाले चुनावभन्दा अगाडि गठबन्धन गर्न पाउने व्यवस्था पूरै बन्द गर्नुपर्ने पनि सम्बोधनका क्रममा पटक पटक दोहोर्‍याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .