ad ad

राजनीति


नेकपाकै सांसदले मागे सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा

नेकपाकै सांसदले मागे सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा

नेपालखबर
माघ १९, २०७६ आइतबार ८:३७,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गरेका छन्।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिमा भएको छलफलमा नेकपा सांसद सुदन किँरातीले सञ्चारमन्त्री बाँस्कोटाले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै राजीनामाको माग गरेका हुन्।

‘सरकारका प्रवक्ताले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जुनसुकै हालतमा पास हुन्छ। चाह्यो भने अमेरिकाले सुलेमानी बनाइदिन्छ यो देशका नेताहरुलाई भन्ने अभिव्यक्ति आपत्तिजनक छ’, उनले भने। राष्ट्रियता स्वाधीनतामाथि आफ्नै सरकारका प्रवक्ता ग्रहण लगाउन खोजेको उनको आरोप छ। सञ्चारमन्त्रीको अभिव्यक्ति लेण्डुप दोर्जे प्रवृतिको भएको भन्दै उनले आपत्ति समेत जनाए।

‘लेण्डुप जोर्दे प्रवृति आत्मसमर्पण प्रवृतिका विरुद्धमा आपत्ति प्रकट गर्न चाहन्छु र उहाँले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’, उनले भने, ‘यो विषयमा समिति र सबैको ध्यानाकर्षण गर्न चाहन्छु।’

प्रवक्ता बाँस्कोटाले एमसीसीको विषयमा गत बिहीबार गलत हल्ला फैलाइएको बताउँदै भनेका थिए, ‘अमेरिकाले चाह्यो भने जुनसुकै कुनामा पनि क्षेप्यास्त्र प्रहार गर्न सक्छ। नेपालमा बेस क्याम्प राख्नुपर्ने अवश्यकता पर्दैन। अस्ति इरानमा देख्नुभएन कसलाई हानेको?’

सांसद भीम रावलले एमसीसीको विषयलाई धेरैले प्रतिष्ठाको विषय बनाएर राष्ट्रहित र स्वार्थभन्दा नीजि धारणा राख्ने गरेको बताए। राष्ट्रियहितमा हुनेगरी अगाडी बढ्नुपर्ने उल्लेख गर्दै रावलले समितिमा गहन अध्ययनको आवश्यकता औल्याए।

अर्का सांसद नारदमुनि रानाले चीनमा कोरोना र नेपाल एमसीसीको विषयमा निकै भाइरल भएको बताए। संसदमा समेत दुईथरी अतिवादी विचारहरु सार्वजनिक भइरहेको उनको भनाइ छ। ‘एउटा जसरी पनि पारित हुनैपर्छ भन्ने र अर्को पारित हुनुहुँदैन भन्ने अतिवादी शक्तिहरु संसदमा जुहारी खेलिरहेका छन्। राष्ट्रहितमा कसरी लान सकिन्छ। तपाई (सभामुख) को नेतृत्वमा यसले प्राथमिकता पावस’, उनले भने।

समिति सभापति पवित्रा निरौला खरेलले एमसीसीको विषयमा एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताएकी छन् गम्भीरतापूर्वक छलफल गरी राष्ट्रलाई घात नहुने किसिमले एकतावद्ध भएर पास गर्नुपर्नेमा उनले जोड दिइन्। ‘पास गर्दा पनि एकतावद्ध गर्नुपर्छ। पास गर्न सकिन्न भने पनि एकवतावद्ध नै हुनुपर्छ। मत विभाजन गरेर विभाजित हुनुहुँदैन्’, उनले भनिन्।

एमसीसीका विषयमा सत्तारुढ दलभित्र पारित गर्नुपर्ने र गर्न नहुने विचारहरु व्यक्त भइरहेका छन। जारी नेकपाको केन्द्रीय कमिटी बैठकमा समेत यो विषयले प्रवेश पाएको छ। बैठकमा एमसीसीका विषयमा अध्ययन गर्न समिति गठन गर्नुपर्ने र पार्टीका सबै नेताहरुको धारणा एउटै हुनुपर्ने आवाज उठेको छ। प्रधानमन्त्री ओलीले भने हिउँदे अधिवेशनबाट नै एमसीसी अनुमोदन गराउनुपर्ने धारणा राख्दै आएका छन्।

आइतबारको समिति बैठकले विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृति क्षेत्र अध्ययन अनुगमन उपसमितिको म्याद पनि २ महिना थप गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .