राजनीति


प्रधानमन्त्रीसँग कांग्रेसको प्रस्ताव : सार्वजनिक खर्च कटौती गरौँ, अनावश्यक संरचना र पद नराखौँ

प्रधानमन्त्रीसँग कांग्रेसको प्रस्ताव : सार्वजनिक खर्च कटौती गरौँ, अनावश्यक संरचना र पद नराखौँ

फाइल तस्बिर


नेपालखबर
कात्तिक २१, २०८० मंगलबार ११:५३, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसले राज्यलाई भार पर्ने गरी सक्रिय विभिन्न संरचना र पदहरू खारेज गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रस्ताव गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरू मंगलबार बालुवाटार पुगेर गत शुक्रबार गएको जाजरकोट भूकम्पपछिको अवस्थालाई लिएर बुझाएको २१ बुँदे सुझावमा उक्त कुरा उल्लेख छ।

कांग्रेसले भूकम्पपछि देशको अवस्था झन् जटिल भएको भन्दै सार्वजनिक खर्च कटौतीका लागि यो सही समय भएको उल्लेख गरेको छ।

कांग्रेस सभापति देउवाले सरकारले गठन गरेका विभिन्न समिति र आयोगका नाममा भइरहेका फजुल खर्च कटौती गर्न प्रधानमन्त्रीलाई सुझाएका छन्। 

‘यहीबेला विभिन्न सरकारले गठन गरेका समिति तथा आयोगका सार्वजनिक खर्च कटौतीका सुझाव लागू गरौँ, कतै पनि कुनै तहका सरकारले अनावश्यक संरचना र पदको सिर्जना तुरुन्त रोकौँ’, देउवाले भनेका छन्, ‘फजुल खर्च नगर्ने प्रतिबद्धता सबै सरकारसँगको समन्वयमा घोषणा गरौँ।’

कांग्रेसले अर्थमन्त्रालयले कार्यदल नै बनाएर फजुल खर्च घटाउने योजना ल्याउनुपर्ने सुझाएको छ। ‘अर्थ मन्त्रालयले कार्यदल बनाएर नै आन्तरिक रुपमा फजुल खर्च घटाएर र बाहिरी सहयोग परिचालन गरि पुनर्निर्माण र पुनर्स्थापनाका लागि आवश्यक बजेटको व्यवस्था गरौँ’, सुझावमा भनिएको छ।

कांग्रेसले आफूहरूसँग पुराना कार्य योजना, कार्यविधि, मापदण्ड, सफलता र विफलताका दस्तावेजहरु र अनुभावहरु रहेकाले भूकम्पपपछिको राहत र पुनर्निर्माण त्यहीअनुसार अघि बढाउनुपर्ने जनाएको छ।

‘ती अनुभवहरूको प्रयोग गरेर प्रभावित परिवार समुदाय र भविष्यमा प्रभावित हुनसक्ने जोखिमयुक्त समुदायलाई दरिलो र बलियो बनाउन राष्ट्रब्यापी अभियानमा राजनीतिक दल, संघ–संस्था, निजी क्षेत्र, डायस्पोरा, ब्यक्ति सबैलाई सहयोग र सहकार्यका लागि अपिल गरौँ’, कांग्रेसले सुझावमा भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad