ad ad

राजनीति


राजपा नेताको प्रश्नः माग्दै नमागेको उपसभामुख हामीलाई किन दिन खोजिँदैछ?

राजपा नेताको प्रश्नः माग्दै नमागेको उपसभामुख हामीलाई किन दिन खोजिँदैछ?

नेपालखबर
माघ १६, २०७६ बिहिबार ११:३८,

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले आफ्नो पार्टीले उपसभामुखमा दावी नगरे पनि सरकारले दिन खोजिरहेको बताएका छन्।

बिहीबार रिपोर्टर्स क्लबको साक्षात्कारमा संयोजक यादवले आफ्नो पार्टीले नेकपा र सरकारसँग उपसभामुख नमागे पनि नेकपा र सरकारले दिन खोजेको खुलासा गरे।

‘उपसभामुख हाम्रो पार्टीलाई देउ भनेर मागेका छैनौं। यो सरकारले हामीलाई उपसभामुख किन दिन चाहेको छ?’, संयोजक यादवले प्रश्न गर्दै भने, ‘यो हामीले बुझ्न सकेका छैनौं।’ उनले सदन र सडक आफूहरुको नीति भएको सुनाउँदै मधेस आन्दाेलनका सहिदहरुका सपना साकार पार्नका लागि र माग पूरा गराउनको लागि आफूहरु तत्काल कुनै पनि पदमा नजाने उनको भनाइ थियो।

 वर्तमान सरकारले संविधान संशोधन गर्छ भन्ने कुरामा आफूहरु अझै पनि विश्वस्त रहेको बताउँदै संयोजक यादवले त्यसपछि मात्रै सरकारमा जाने विषयमा सोच्न सकिने बताए। उनले आफ्ना माग पूरा भए सरकारलाई सहयोग गर्न आफूहरु तयार रहेको बताए।

‘हाम्रा माग र मुद्दा अहिले पनि यथावत छन्। ती माग र मुद्दा सम्बोधन नभएसम्म हामी सरकारलाई समर्थन गर्दैनौं’, उनले भने, ‘हाम्रा माग पूरा भए समर्थन गर्नेबारे विचार गर्छौं।’

यादवले प्रदेश नम्बर २ को राजपा नेपाल–समाजवादी पार्टीबीचको सरकारको वर्तमान गठबन्धन नटुट्ने पनि दाबी गरे । प्रदेश २  को सरकार भनेको मधेशी, उत्पीडन, विभेदमा परेका समूदायको जनताको सरकार हो। यो सरकार ५ वर्षसम्म रहन्छ', उनले भने, ‘तलमाथि हुँदैन। अहिले जसको नेतृत्वमा छ, त्यही नै रहन्छ।' 

उनले प्रदेश २ मा तत्काल सरकार परिवर्तन नहुने दावी गरे। राजपा यही सरकारको निरन्तरताको पक्षमा रहेको बताउँदै सरकार ढल्ने भन्ने कुरा हल्ला मात्रै भएको र राज्यमन्त्री डिम्पलकुमारी झाको राजीनामा पार्टीको आन्तरिक कारण भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .