ad ad

राजनीति


राष्ट्रसंघका महासचिव पोखरामा : हिमाल नियाले, बेलायती राजा सुतेको कोठामा बास

राष्ट्रसंघका महासचिव पोखरामा : हिमाल नियाले, बेलायती राजा सुतेको कोठामा बास

नेपालखबर
कात्तिक १३, २०८० सोमबार १५:५७, पोखरा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुगेका छन्। नेपाली सेनाको विशेष हेलिकोप्टरमार्फत् उनी पोखरा आइपुगेका हुन्।

४ दिने नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेसलाई पोखराको पुरानो विमानस्थलमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे,पोखराका मेयर धनराज आचार्यसहितको टोलीले झाँकी र सांस्कृतिक कार्यक्रमसहित भव्य स्वागत गरेको छ। पोखरा झरेसँगै उनी रहेको विशाल शिवजीको मूर्ति रहेको पोखरा २२ पुम्दीकोटतिर गएका छन्।

महासचिव गुटेरेसको आजको बास पोखरामै हुँदैछ। उनी यहाँको चर्चित फिस्टेल लजमा बास बस्ने पोखराका मेयर धनराज आचार्यले जानकारी दिए। फिस्टेल लजले महासचिव गुटेरेसको लागि बेलायती राजा चार्ल्स, अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरलगायतले रात बिताएको कोठा उपलब्ध गराएको छ।

ओच्छ्यानबाटै फेवाताल र हिमालको दृष्यावलोकन गर्न सकिने सो कोठामा सन् १९८१ को डिसेम्बरमा बेलायतका तत्कालीन युवराज र हालका राजा चार्ल्सले रात बिताएका थिए।

त्यसपछि पनि सो कोठामा विभिन्न देशका विशिष्ठ अतिथिहरु बस्दै आएका फिस्टेलका प्रबन्ध निर्देशक अनिल श्रेष्ठले जानकारी दिए। विशिष्ठ पाहुनाको स्वागतको लागि होटल व्यवस्थापन तम्तयार रहेको उनले बताए। खानेकुरा भने भ्रमण दलको माग अनुसार तयार पारिने उनले सुनाए।

फिस्टेलको रात्रीकालीन बसाइपछि महासचिव गुटरेस मंगलबार बिहानै अन्नपूर्ण आधार शिविर जानेछन्। उनको भ्रमणको सम्पूर्ण प्रबन्ध नेपाली सेनाले मिलाएको छ।

अन्नपूर्ण आधार शिविरबाटै उनले जलवायू परिवर्तनले पारेको प्रभाव कम गर्न विश्व जनसमुदाय र राष्ट्रहरुलाई आह्वान गर्नेछन्। त्यस्तै त्यहाँ रहँदा उनले स्थानीय नागरिकहरुसँग भलाकुसारी र जलवायू परिवर्तनले पारेको असरबारे बुझ्नेछन्।

अन्नपूर्ण आधार शिविर ४ हजार १ सय १० मिटर अग्लो छ।

‘उहाँ आउने हेलिकोप्टर कहाँ ल्याण्ड गर्ने भन्ने तयारी भएको छ। उहाँलाई गुरुङहरुको परम्परागत पोशाक लगाएका ३४ दिदीबहिनीहरुले स्वागत गर्नुहुनेछ। उहाँसँग हामी पछिल्लो क्रममा जलवायू परिवर्तनले पारेको असरबारे पनि कुरा गर्नेछौं,’छोमरोङ पर्यटन व्यवसायी समितिका महासचिव दीपिप गुरुङले भने,‘ हिमाल पग्लँदै छ, हामी उहाँमार्फत् हिमाल बचाउने आह्वानसहित हिमाल नपग्लँदै अन्नपूर्ण बेसक्याम्प आउनुहोस् भनेर विश्वभरका मान्छेलाई भन्नेछौं।’

यद्यपि,आज दिउसोदेखि मौसम बिग्रेकाले उनी चिन्तित देखिएका छन्।

‘अहिले १ बजेतिरबाट यता बादल लागेको छ, तयारीको लागि आएको एउटा हेलि बस्न नसकेर फर्क्यो तर भोलि बिहान त अवश्य आकास खुल्नेछ,’ उनले भने।

अन्नपूर्ण आधार शिविरबाट फर्केपछि महासचिवले पोखरा एयरपोर्टमा पत्रकारहरुसँग कुराकानी गर्नेछन् भने त्यसपछि होटल जानेछन्। फेवातालको किनारामा बसेर पनि उनले जलवायू परिवर्तनले पारेको असर न्यूनीकरण गर्न र प्रभावित राष्ट्रहरुलाई सघाउन उनले विश्व समुदायलाई आह्वान गर्ने कार्यक्रम तय भएको स्रोतले बताएको छ।

अति विशिष्ठ अतिथिको भ्रमणका अन्य कुराहरु भने बाहिर आएका छैनन्।

२०७६ सालमा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल अमिदपछि विशिष्ठ पाहुनाले पोखरा टेकेको यो दोस्रो पटक हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .