ad ad

राजनीति


एनआरएनएका पराजित उम्मेदवार नतिजा नमान्ने पक्षमा, हस्तक्षेपका लागि बालुवाटारसँग गुहार

परराष्ट्र मन्त्रालयबाट हस्तक्षेप गरी निर्वाचित कार्यसमितिलाई काम गर्न नदिने धम्की
एनआरएनएका पराजित उम्मेदवार नतिजा नमान्ने पक्षमा, हस्तक्षेपका लागि बालुवाटारसँग गुहार

नेपालखबर
कात्तिक ३, २०८० शुक्रबार ९:२७, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औँ महाधिवेशनमा सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रनिकट अधिकांश उम्मेदवार पराजित भएका छन्। पराजित उम्मेदवारहरूले यसको दोष भने अनलाइन मतदान प्रणालीलाई दिएका छन्।

पराजित उम्मेदवारको एक समूह निर्वाचनमा धाँधली भएको भन्दै प्रधानमन्त्रीलाई गुनासो गर्न पुगेको छ।

महाधिवेशनबाट बहालवाला अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। अधिकांश उम्मेदवार उनकै समूहबाट निर्वाचित भएका छन्।

केसी एमालेनिकट मानिन्छन्। तर, उनको समूहमा सबै दलनिकट उम्मेदवार समावेश छन्।

अध्यक्षका पराजित उम्मेदवार महेश श्रेष्ठ कांग्रेसनिकट र राजेन्द्रकुमार शर्मा (आरके) माओवादीनिकट हुन्।

बिहीबार प्रत्यक्ष र अनलाइन मतदान भएको थियो। डा. केसी १ हजार ३७८ मतसहित विजयी हुँदा शर्माले १ हजार २८१, श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

उपाध्यक्षमा डा. हेम राज शर्मा (२२६५), रोविन शेरचन (२१८०) रामशरण सिमखडा (१५५२), खगेन्द्र न्यौपाने (१३५७), राज रेग्मी (१९००) र डा।विनोद श्रेष्ठ (१५६०) मतसहित निर्वाचित भएका छन्।

यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधानले १९४७ मत प्राप्त गरेर विजयी भइन् भने सोही पदमा यसमिन वेगम सैयदले १९१४ मत प्राप्त गरिन्।
यस्तै युवा उपाध्यक्षमा रोसन थापाले २४६८ मत प्राप्त गरेर विजयी भए। सो पदमा अब्दुल बासिदले १३२२ मत प्राप्त गरे।

संघको महासचिवमा गौरीराज जोशीले २०३७ मत प्राप्त गरेर विजयी भए। महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १८१८ मत प्राप्त गरेका छन्। 
उपमहासचिवमा सोम सापकोटा (१७९०) र प्रविन गुरुङ (२१५०) मतसहित विजयी भए।

६ सचिव पदमा भिम केसी कमल (१६७३), डा। ज्ञानेन्द्र रेग्मी (१७८२), मनोज कुमार श्रेष्ठ (२०२४), डा. नवराज रोस्यारा (१८५३), पारमणि पोखरेल (१६५१( र स्वतन्त्रप्रताप शाह (१६६६) विजयी भएका छन्। 

महिला सचिवमा टीका गुरुङ (राधिका) (२३२०) विजयी भइन्।

संघको कोषाध्यक्षमा सुदन थापा १९१७ मत प्राप्त गरेर विजयी भएका छन् । सहकोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना (२०१५), अभिमन्यु बस्नेत (२०८१) र तिलकप्रसाद गैरे (२२३२) मत प्राप्त गरेर जित हासिल गरे। यस्तै महिला सहकोषाध्यक्षमा अमृत थापा २२८७ मत प्राप्त गरेर विजयी भइन्। 

अन्तर्राष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले २३३६ मत प्राप्त गरेर विजयी भइन्। संघको युवा संयोजकमा सुपेन्द्र घिसिङले २०३६ मत प्राप्त गरेर विजयी भए । सोही पदमा रविन अधिकारीले १७६५ मत प्राप्त गरे।

पराजित भएपछि डा. केशव पौडेलले काठमाडौंको होटल सोल्टीमै एक भेला गरी एनआरएनएमा फ्रड र माफियातन्त्र हाबी भएको आरोप लगाए। अभियन्ताहरूले सिन्डिकेट गरेको गुनासो पनि उनले गरे। ‘यो नतिजा कदापि मान्य हुँदैन,’ उनले भने।

यस्तै अध्यक्षका अर्का प्रत्यासी श्रेष्ठले पनि सिस्टम ह्याक गरेर आफूलाई हराइएको दाबी गरे।

अध्यक्षमा पराजित भएपछि मतदातालाई सम्बोधन गर्दै उनले भने, ‘यो निर्वाचन रद्द हुनुपर्छ, त्यति मात्र हैन यसमाथि गम्भीर छानबिन र दोषीलाई कडा कारबाही हुनुपर्छ ।’ 

निर्वाचित नयाँ कार्यसमिति भंग गरेर नयाँ निर्वाचन गराउनुपर्ने श्रेष्ठले बताए।

सरकारको नेतृत्वकर्ता दल माओवादीनिकट उम्मेदवार शर्माले त नवनिर्वाचित कार्यसमितिलाई काम गर्न नदिन परराष्ट्र मन्त्रालयमार्फत् हस्तक्षेप गर्ने धम्की नै दिए। उनले भने,‘अब गैरआवासीय नेपाली संघ शून्यमा गएको छ। परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि मात्र अगाडि बढ्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .