दोस्रोपटक म्याद थपिएका नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीलाई अतिरिक्त समूहमा सरुवा गरिएको छ।
नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार, अधिकारी अहिले सैनिक सचिव विभागको अतिरिक्त समूहमा छन्। सैनिक सचिव भने ज्योतीन्द्र महत छन्।
अधिकारी यसअघि वन तथा पर्यावरण सुरक्षा निर्देशनालयको नेतृत्वमा थिए। केही दिनअघि मात्र उनको सरुवा गरिएको भण्डारीको भनाइ छ। ‘सेनामा यस प्रकारको सरुवा नियमित भइरहन्छ,’ नेपालखबरसँग उनले भने।
२०६९ चैत ३० मा समायोजन हुँदा उनी नेपाली सेनाको महासेनानी पदमा नियुक्त भएका थिए।
पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाको सिफारिसमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को निर्णयबाट २०७६ असोज १ गते सहायक रथीमा बढुवा गरिएको थियो। उनलाई बढुवा गर्न विशेष दरबन्दी सिर्जना गरिएको थियो।
उनको ४ वर्षे पदावधि सकिन लागेपछि गत भदौ अन्तिममा बसेको मन्त्रिपरिषद् बैठकले भदौ ३१ बाटै लागू हुने गरी ३ वर्षका लागि पदावधि थप गरिदिएको हो। म्याद नथपिएको भए असोज १ बाट उनी ४ वर्षे पदावधि सकिएर अवकाशमा जाँदै थिए।
यसले सेनाभित्र असन्तुष्टि चुलिएको सेनाका पूर्वअधिकारीहरूको भनाइ छ।
यसैबीच, सेनाका पूर्वअधिकारीहरूले आज एक विज्ञप्ति जारी गरी सरकारको यस निर्णयमा विरोध जनाएका छन्।

सेनाका उच्च अधिकृतहरूको म्याद थप र बढुवाको निर्णय जंगी अड्डाको सिफारिस र रक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदबाट हुने गर्छ। तर, यो निर्णय जंगी अड्डाको सिफारिस थियो कि थिएन भनेर पनि पूर्वसैनिक अधिकारीहरूले प्रश्न उठाएका छन्।
हाल प्रधानसेनापति प्रभुराम शर्मा बेलायत भ्रमणमा छन्। उनी असोज २१ गते बेलायत प्रस्थान गरेका हुन्। असोज २७ गते फर्किने तालिका छ।

Shares

प्रतिक्रिया