राजनीति


एक वर्ष लगाएर भएपनि उल्टो शिक्षा विधेयकलाई सुल्टो बनाउनुपर्छ : गगन थापा

एक वर्ष लगाएर भएपनि उल्टो शिक्षा विधेयकलाई सुल्टो बनाउनुपर्छ : गगन थापा

नेपालखबर
असोज १९, २०८० शुक्रबार १७:४९, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय शिक्षा विधेयकले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गर्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभामा शुक्रवार विद्यालय शिक्षा विधेयक, २०८० विचार गरियोस् भन्ने प्रश्तावमाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गरेमात्रै शिक्षा विधेयकले सार्थकता पाउने बताएका हुन्।

उनले वृहत छलफल गरेर उल्टो भएको विधेयकलाई सुल्टो बनाउन जरुरी रहेको बताए। शिक्षण पेशालाई आकर्षक, मर्यादित पेशा बनाउनुपर्ने उनको भनाई छ।

थापाले भने, ‘२१ औं शताव्दीको युगमा एआई रोवर्टीक्सको युगमा जानुपर्ने बेलामा विज्ञान, गणितको गहिरो संकट छ। कक्षा १ मा एक सय जना विद्यार्थी भर्ना हुन्छ, १२ कक्षा पुग्दै गर्दा ३० जना विद्यार्थी बाँकी हुन्छ। भन्नुको मतलव विद्यार्थी टिक्दैन। विज्ञान र गणितको सिकाई २८ मात्रै छ । अंग्रेजीको त करिव करिब २५ मात्रै छ। जो विद्यार्थी टिक्छ उसले सिक्दैन। नसिकेको हुनाले बिक्दैन।’

उनले विद्यालयमा पढिरहेको विद्यार्थी पढिसके पछाडि त्रिभुवन विश्वविद्यालयतिर जान्छु भन्ने नभइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर जाने गरेको बताए। थापाले विद्यालय शिक्षा विधेयकलाई टुंगोमा पुर्याउनुपर्ने जिम्मा अब सांसदको हातमा रहेको बताए।

उनले भने, ‘विद्यालयमा पढिरहेको विद्यार्थीलाई पढिसकेपछाडि त्रिभुवन विश्वविद्यालयतिर जान्छु भन्ने होइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर जान्छु भन्ने रहर हुन्छ। अर्थात् त्यहाँ भित्र प्रेरणा पनि छैन। ५० जना भन्दा कम विद्यार्थी भएको विद्यालय ६ हजार भन्दा बढि छ। विद्यार्थी र शिक्षक सम्पूर्ण रुपमा पुगेको विद्यालय संख्या ६ सय पनि पुग्दैन। यो खालको व्यवस्थापनको अवस्था छ।’

उनले अपेक्षा, अवस्था दुईवटै कुरा नहेरीकन खण्ड खण्डमा हेरेर यो विधेयक आएको बताए। अब यो संसदको काम हो भन्दै थापाले समितिमा गएपछि हतार नगरि लगातार काम गर्ने बताए।

‘दुई महिना लागोस् पाँच महिना लागोस्, साथीहरुले जनतामा लैजानुपर्छ भन्नुभएको छ, समितिले पनि त्यो काम गर्नसक्छ’ उनले भने, ‘सबै सरोकारवालालाई बोलाउन सक्छ, छलफल गराउन सक्छ। वृहत छलफल गरेर उल्टो भएको विधेयकलाई सुल्टो बनाउनुपर्नेछ।’

शिक्षकहरुको तलब सबैभन्दा उच्च हुनुपर्ने भन्दै शिक्षकका सकारात्मक कुरालाई ग्रहण गर्नुपर्ने बताए। थापाले एक वर्ष नै लागेपनि यो संसदले विधेयक बनाइसकेपछि अर्को १५–२० वर्ष नेपालको विद्यालय शिक्षालाई यसले मार्ग दर्शन गर्ने बताए।

उनले भने, ‘विद्यार्थीलाई केन्द्रमा राख्नुपर्नेछ। शिक्षण पेशालाई आकर्षक पेशा, मर्यादित पेशा, सबैभन्दा हाईएस्ट पेड बनाउनुपर्नेछ। शिक्षकका सकारात्मक कुरालाई ग्रहण गर्नुपर्नेछ। स्कुलको गभरनेन्सका बारेमा सच्याउनुपर्नेछ। स्थानीय सरकारको कुरा योसँग मिलाउनुपर्नेछ। एक वर्ष नै लागेपनि यो संसदले यो कानून बनाइसकेपछि अर्को १५–२० वर्ष नेपालको विद्यालय शिक्षालाई यसले मार्ग दर्शन गर्नुपर्नेछ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad