राजनीति


एमसीसीबारे बहस सुनिरहेको छु, अध्ययन गरेको छैन : सभामुख सापकोटा

एमसीसीबारे बहस सुनिरहेको छु, अध्ययन गरेको छैन : सभामुख सापकोटा

नेपालखबर
माघ १३, २०७६ सोमबार ९:१,

नव निर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले आफूविरुद्ध भइरहेको विरोध प्रदर्शनलाई स्वभाविक रुपमा लिएको बताएका छन्।

सोमबार सपथग्रहणपछि पत्रकारहरुसँग कुराकानी गर्दै सभामुख सापकोटाले आफ्ना विरुद्ध सडकमा भइरहेको प्रदर्शनलाई स्वभाविक रुपमा लिएको बताएका हुन्।

सभामुख सापकोटाले लोकतान्त्रिक प्रकृयामा विरोध र समर्थन हुनु स्वभाविक भएको बताए।

‘यो लोकतन्त्र हो। लोकतान्त्रिक प्रकृयामा चलिरहने प्रकृया हो भनेर मैले यसलाई लिएको छु’, उनले भने।

सापकोटा सभामुखमा निर्वाचित भएसँगै मानवअधिकारकर्मीहरुले विरोध जनाइरहेका छन्। सोमबार मात्रै सभामुख सापकोटाविरुद्ध प्रदर्शनमा उत्रेका केहीलाई प्रहरीले पक्राउ गरेको छ।

सापकोटाले अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन गर्ने विषयमा सबै सांसदहरुको धारणा समेटेर अगाडि बढ्ने बताए। एमसीसीका विषयमा बाहिर बहस चलिरहेपनि आफूले अध्ययन गर्नै बाँकी रहेको र अध्ययनपछि मात्रै केही भन्न सक्ने अवस्था हुने उनले बताए।

‘अहिले भर्खर सभामुख भएको छु। त्यो अध्ययन गर्नुपर्यो, यो भित्र हेर्नुपर्यो। अहिले बाहिर बहस भइरहेको छ। ठिक छ, मैले सुनिरहेको छु तर भित्र पसेर हेरेपछि के हुन्छ भनेर मैले भन्न सक्ने हो। र, मैले १७५ जना सांसदहरुको भावना समेट्ने अधिकतम कोसिस गर्छु’, उनले भने।

प्रधानमन्त्रीलाई भेट्न कुदेर गएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको विषयमा सापकोटाले यसलाई अन्यथा नलिन आग्रह गरेका छन्। सपथग्रहणपछि सबैको साझा भएपनि सभामुख बनाउने पार्टीको अध्यक्ष, दलको नेतालाई भेटनु स्वभाविक भएको उनले बताए। संसदको मूल्य मान्यता अुनसार नै आफूले प्रधानमन्त्रीलाई भेटेको र सुरुमा उनीबाट नै बधाई लिन चाहेको बताएका छन्।

आइतबार सभामुख निर्वाचित भएको घोषणा भएलगत्तै संसदमा सापकोटा प्रधानमन्त्री ओलीतर्फ लम्किएका थिए। सभामुख सापकोटाले संसदको मूल्य मान्यता अुनसार नै आफूले पहिला प्रधानमन्त्रीलाई भेटेको र सुरुमा उनीबाट नै बधाई लिन चाहेको बताए।

‘आज मैले सपथ ग्रहण गरेँ र सबैको साझा भएँ। यो भन्दा पहिले मेरा लागि प्रधानमन्त्री मात्र होइन उहाँ मलाई सभामुख बनाउने पार्टीको अध्यक्ष र दलको नेता पनि हो’, सापकोटाले भने, ‘संसदमा त्यतिबेला मैले प्रधानमन्त्रीबाट सुरु गर्न खोजेको थिएँ। यो स्वभाविक हो। संसदीय मूल्य, मान्यता र पद्धतिको गरिमासँग मेल खान्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .