ad ad

राजनीति


स्थानीय तहलाई अधिकार दिन कन्जुस्याँइ गर्नु हुँदैन : राष्ट्रपति

स्थानीय तहलाई अधिकार दिन कन्जुस्याँइ गर्नु हुँदैन : राष्ट्रपति

नेपालखबर
असोज ८, २०८० सोमबार १८:१८, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहलाई अधिकार सम्पन्न हुन नदिइएको बताएका छन्।

सोमबार महेन्द्रनारायण निधी मिथिला सांस्कृतिक केन्द्र भवनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्। संघीयतालाई कार्यान्वयनमा लैजान नसकिएको बताउँदै उनले संघ, प्रदेश र पालिकाहरु सबैलाई अधिकारको बाँडफाँट मिलाएर जानुपर्ने चुनौति रहेको बताए। 

‘संघीयता, गणतन्त्र र यो देशमा लोकतन्त्र हामीले जुन चरितार्थ गर्ने संविधान निर्माण गरेका छौँ, आज त्यसलाई कार्यान्वयनमा ल्याउनु छ। यो निजामति ऐनदेखि लिएर संघ, प्रदेश र पालिकाहरू सबैलाई अधिकारको बाँडफाँट मिलाएर जानुपर्ने छ,,’ उनले भने, ‘वास्तवमा हाम्रा स्थानीय तह र हाम्रा प्रदेशहरु, अहिले अझै पनि संविधानको मर्म अनुरुप अधिकार सम्पन्न हुन सकेका छैनन्। उनीहरू अझै पनि उनीहरुलाई नियन्त्रित रुपमा अड्कलेर अलि अलि अड्कलेर अधिकार दिइने एउटा कन्जुस्याँइ भएको छ। अब यो हुनु हुँदैन। अब दिल खोलेर जनतालाई अधिकार दिनुपर्छ।’

उनले स्थानीय तहलाई नियन्त्रित गरेर अधिकार दिने गरिएको भन्दै स्थानीय तहलाई अधिकार दिन कन्जुस्याँइ गर्नु नहुने पनि बताए। उनले जनतालाई अधिकार दिने कुरामा कुनै कन्जुस्याँइ गर्न नहुने बताए। उनले संघीयताअनुसार अधिकार दिन शीर्ष तीन दलका नेताहरुसँग आफूले आग्रह गर्ने पनि बताए।

‘अब जनतालाई अधिकार दिने कुरामा कुनै कन्जुस्याँइ गर्न हुँदैन। म प्रधानमन्त्री, पार्टीका नेताहरुलाई पार्टीका केन्द्रका नेताहरू, खासगरी तीन जना हाम्रो देशका अहिले जुन मुख्य शासकहरु, प्रचण्ड, केपी ओली र शेरबहादुर उहाँहरु तीन जनालाई पनि म राम्रैसँग मैले स्म्झाउने गरेको छु, सम्झाउँछु। म उहाँहरुलाई हेर्नुहोस्, तपाईहरु कन्जुस्याँई नगर्नुस् भनेर तपाईहरु तीन जनाले चाहने हो भने यो देश संघीयतामा पुग्छ भनेर सँगै बोलाएर भन्नेछु,’ उनले भने।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाले राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन गरेको थियो। उपमहानगरपालिका मेयर मनोज साहले उहाँलाई नागरिक अभिनन्दन सहित मायाको चिनो दिएर स्वागत समेत गरेका थिए। 

यस्तै प्रतिनिधि सभा सदस्य जुली महतो र मुख्यमन्त्री सरोजकुमार यादव समेतले उनलाई मायाको चिनो दिई सम्मान गरेका थिए। 

यसअघि राष्ट्रपति पौडेलले आज बिहान जानकी मन्दिरमा विशेष पूजा अर्चना गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .