नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयक संघीयता बिरोधी भएको बताएका छन्।
शुक्रवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले सिकाउने शिक्षक सडकमा, सिक्ने विद्यार्थी वैदेशिक रोजगारीमा गइरहेको भन्दै शिक्षा विधेयकको विरोधको नाममा सडकमा भएको अवरोध हटाउन सरकारले पहल गर्नुपर्ने बताए। उनले स्थानीय तहको अधिकार खोस्ने र जिल्ला शिक्षा कार्यालयलाई पुनः स्थापित गर्ने कुरा संघीयता विरोधी भएको बताए।
उनले भने, ‘सिकाउने शिक्षक सडकमा, सिक्ने विद्यार्थी वैदेशिक रोजगारीमा छन्। शिक्षा विधेयकको विरोधको नाममा सडक अवरोध भएको छ। विधेयकमा केही विषय आपत्तिजनक भनेको छ। जस्तो स्थानीय तहको अधिकार खोस्ने र जिल्ला शिक्षा कार्यालयलाई पुनः स्थापित गर्ने यो संघीयता विरोधी भयो भनेर आएको छ।’
उनले विधेयकमा शिक्षकले राजनीति गर्न नपाउने उल्लेख गरिएको भन्दै अनियमितता हुनु भएन, देश र जनताको सेवा गर्नुपर्छ भन्ने पनि राजनीति भएकाले शिक्षा विधेयकले वाक स्वतन्त्रता हनन भएको बताउनु भयो ।
उनले भने, ‘राजनीति गर्न नपाइने भन्ने लेखेको छ। राजनीति गर्न नपाउने भनेर कतिले ठिक छ भने कतिले ठिक छैन भने। भ्रष्टाचार गर्नु हुँदैन भन्ने पनि राजनीति हो। अनियमितता हुनु भएन, देश र जनताको सेवा गर्नुपर्छ भन्ने पनि राजनीति हो। शिक्षकले त्यति पनि बोल्न नपाउने भए यो विधेयक ब्यालेन्स भएन। त्यसकारण यो संघीयता विरोधी भयो। अर्को राजनीतिको नाउँमा वाक स्वतन्त्रता पनि हनन हुने खालको भयो।’
सांसद सुवालले शिक्षकहरुले भ्रष्टाचार गर्नु हुँदैन, अनियमितता हुनु भएन, देश र जनताको सेवा गर्नुपर्छ भन्नेकुरा पनि राजनीति भएको बताए।
Shares

प्रतिक्रिया