राजनीति


संसद्को अघिल्लो कार्यकालमा हानाहान र तानातानको स्थिति मात्रै बन्यो, कानुन बनेन : सभामुख

संसद्को अघिल्लो कार्यकालमा हानाहान र तानातानको स्थिति मात्रै बन्यो, कानुन बनेन : सभामुख

तस्बिर : किरणराज विष्ट/रासस


नेपालखबर
असोज १, २०८० सोमबार १६:२७, काठमाडौँ

सभामुख देवराज घिमिरेले संसद्‌मा जरुरी कानुन बनाउने र बहस गर्ने काममा सोचेजस्तो सफलता नभएको बताएका छन्। राष्ट्रिय समाचार समिति (रासस) सँग कुराकानी गर्दै सभामुख घिमिरेले राजनीतिक अस्थिरता, संसद् विघटन र पुनःस्थापनाका कारण कानुन निर्माण गर्न अलमल र ढिलाइ भएको बताए।

‘गत कार्यकालको संसद् पूर्णतः सञ्चालन हुन सकेन। त्यहाँ तानातान र हानाहानको स्थिति भयो। विरोध र बहिष्कारको स्थिति भयो। जरुरी कानुन बनाउने र बहस छलफल गर्ने काममा सोचेजस्तो सफलता हासिल भएन। राजनीतिक अस्थिरता भयो,’ सभामुख घिमिरेले भने।

संसद्मा आवश्यक कानुन ल्याउन सरकार र राजनीतिक दलले चासो दिनुपर्ने सभामुख घिमिरेको भनाइ छ। 

‘कानुन बनाउने थलो कहिले विघटन भयो, कहिले पुनःस्थापित भयो। यसले गर्दा केही अलमल र ढिलाइ भयो। अब अहिलेको सदनमा आवश्यक कानुन ल्याउन सरकार र राजनीतिक दलले चासो दिनुपर्ने हुन्छ। संसद्, समितिहरू र संसद् सचिवालय आवश्यक सहजीकरण गर्न तयार छ,’ उनले भने।

 राजनीतिक अस्थिरता, अन्योल र अराजकता बढेपछि न्यायपालिका र व्यवस्थापिकाको सम्बन्ध शक्ति सन्तुलन नभएको उनले बताए। 

‘राजनीतिक अस्थिरता, अन्योल र अराजकता बढेपछि यस्ता कुरामा चलखेल हुने गरेको छ तर यो सुरुआती चरणमा देखिएको सवालका रूपमा लिनुपर्छ,’ उनले भने।

‘संविधानले स्पष्टरूपमा राज्यका तीन अङ्गलाई स्वायत्तता दिएको छ। कसले कहाँ–कहाँ के–के गर्ने भन्ने तोकिएको छ। त्यसमा मिलेन भने हस्तक्षेप दिने वा न्याय निरुपण गर्नुपर्ने कुरा हुन्छन्। त्यसमा व्यवहारमा केही समस्या देखापरेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad