कला


चेतन कार्कीले लेखेको तीजको त्यो कालजयी गीत!

चेतन कार्कीले लेखेको तीजको त्यो कालजयी गीत!

चर्चित गीतकार स्वर्गीय चेतन कार्की


वाशुदेव मिश्र
असोज १, २०८० सोमबार १६:५७, पोखरा

स्याङ्जाको बायटारीमा जन्मिएका चेतन कार्की मत्य विकास केन्द्रको हाकिम बनेर पोखरा बसे। त्यसपछि उनी वि.सं. २०२५ सालतिर काठमाडौं हानिए।

आमा र दिदीको मुखबाट सुनेका गीतबाट प्रभावित उनी सानैदेखि गाउँथे।

सूचना विभागले ‘चेतना’ नामक फिल्मका लागि लेखक–पटकथाकारको माग गर्‍यो। चेतनले बाजी मारे। उनले सहायक निर्देशनदेखि गीत पनि लेखे।

तर, पछि फिल्मको नाम बदलियो। परिवर्तन भएर दर्शकमाझ आयो। पछि चेतनले बम्बईबाट बीएस थापालाई  बोलाए अनि २०४१ सालमा कान्छी भन्ने फिल्म बन्यो।

कान्छीको संवाद र गीतका सर्जक पनि चेतन नै थिए। नारायणगोपाल र अरुणा लामाको स्वर, गोपाल योञ्जनको संगीत र चेतन कार्कीको गीतले चलचित्र संगीतमा नयाँ मानक खडा गर्‍यो। भनौँ, चेतन कार्की चम्किए। 

त्यसको केही समयपछिको कुरा हो, निर्देशक प्रकाश थापा ‘कन्यादान’ नामको सिनेमा बनाउँदै रहेछन्।

प्रकाशले आफ्ना फिल्मका गीतहरु किरण खरेललाई लेखाउँथे रे! जीवनको उत्तरार्द्धमा चेतन र यो पंक्तिकारबीच भएको संवादका अनुसार उनै प्रकाश एक दिन टुप्लुक्क चेतनकहाँ पुगेर भनेछन्,गीत लेखिदिनुपर्‍यो।’ 

‘तिम्रो मनपर्ने गीतकारले लेखेनन् र?,’ जवाफ दिँदै चेतनले ठाडै सोधेछन्। 

‘किरण खरेलले भनेरै त म यहाँ आएको! तपाईंले दुईवटा गीत लेखिदिनुपर्‍यो, एउटा तीजको, एउटा ठट्यौली,’ थापाले भनेछन्।

कथा सुनेपछि चेतनले टाउको हल्याएछन्। गीत त लेख्ने तर फिल्मको दृष्यसँग पनि मेल खानुपर्‍यो, तीजको मौलिकता पनि मिसिनुपर्‍यो। उनी गीत लेख्नेबेला बाल्यकालतिर फर्केछन्।

बायटारी र गण्डकीको सेरोफेरोका गीतहरु सम्झिँदै गर्दा उनले ‘बरिलै’ भाकामा उन्ने निर्णय गरेछन्। गाउँका भाका र दिदीबहिनीको मनको बहलाई उनले फिल्मको कथासँग मिलाएका रे!

गीत

‘गाउँघरमा यस्ता कुरा कति छन् कति,’  उनले त्यो बेला भनेका थिए,‘ उखानहरुको भाका पनि मीठो मर्म पनि मीठो। अनि जन्मिएछ– तीजको रहर आयो बरिलै ...। अहिले पनि तीज आउनासाथ यही गीत घन्किन्छ।

गीतमा ‘गाऔँ स्वर खोलेर दिदी र बहिनी,नाचौँ न मिलेर दामली सैनी, तीजको रहर आयो बरिलै ...’ मात्र छैन, बेदना पस्किने छोरीको जन्म हारेको कर्म, कहाँको जन्म भोग कहाँ जाँदैछ चेली, आँसु समेटी, माइतीलाई छोडी यहाँ! पनि रहेकै छ।  

अहिले त यो गीत भारतको देहरादुनतिर पनि बज्दो रहेछ, मैले गीतमा गाउँले चेलीले संगीलाई भन्ने सैनीजस्ता शब्द पनि खोजेँ-मिसाएँ।

२०४८ सालतिर आयो। निर्देशकले बम्बई पुगेर मनोहरि सिंहको संगीत र पूर्णिमा श्रेष्ठको स्वरमा रेकर्ड गराएछन्।

‘गीत हिट भयो,’चेतनले भनेका थिए, ‘नारीको उच्छ्वास बोल्ने र माटोको सुगन्ध मिसिएका गीतहरु कालजयी हुन्छन्।’

यस गीतमा गौरी मल्ल, शुभद्रा अधिकारी, बसुन्धरा भुषाललगायतको अभिनय रहेको छ। वसन्त श्रेष्ठ यो गीतका नृत्य निर्देशक हुन् भने छायाङ्कन पनि पोखरामै भएको हो।

चेतन कार्की अहिले यो संसारमा छैनन्, तर हरेक तीजले उनलाई सम्झाइरहन्छ, उनको याद दिलाइरहन्छ। त्यसो त रसिक चेतन त्यसबेला भन्थे,‘हरेक मायाप्रितिका गीतहरु मेरै हुन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .