ad ad

राजनीति


१३ देशका कूटनीतिक नियोगका प्रमुखसँग प्रधानमन्त्रीको अन्तरक्रिया

१३ देशका कूटनीतिक नियोगका प्रमुखसँग प्रधानमन्त्रीको अन्तरक्रिया

नेपालखबर
भदौ २५, २०८० सोमबार ११:८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रम आप्रवासन सम्बन्धी समस्याहरू र तिनको सम्बोधनमा केन्द्रित रहेर विदेशस्थित नेपाली कुटनीतिक नियोगका प्रमुखहरूसँग अन्तरक्रिया गरेका छन्।

सोमबार र मंगलबार २ दिनका लागि आयोजना गरिएको अन्तरक्रियामा १३ देशका कुटनीतिक नियोगका प्रमुख उपस्थित छन्।

अन्तरक्रियामा कुटनीतिज्ञहरूले अन्तर्राष्ट्रिय श्रम बजारसँग सम्बन्धित समस्या र त्यसको सम्बोधनका विषयमा अन्तक्रियात्मक रिपोर्ट प्रस्तुत गरेका छन्। 

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले श्रम आप्रवासनमन सवालहरू र कुटनीतिक नियोगको भूमिका विषयमा आफ्नो अवधारणा प्रस्तुत गरेका थिए।

भण्डारीले प्रस्तुत गरेको अवधारणापत्रमा श्रम बजार र आप्रवासन सम्बन्धि वर्तमान अवस्था, विप्रेषण र यसको सघन उपस्थिति, द्विपक्षीय श्रम सम्झौता र समझदारी, वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति, राहत, उद्दार र कल्याणकारी कार्यहरूको सञ्चालन, नयाँ श्रम गन्तव्य र श्रम बजारको सम्भावनाबारे उल्लेख छ।

अवधारणापत्रमा श्रम आप्रवासनका मुख्य १० गन्तव्यमा कतार, मलेसिया, साउदी अरब, संयुक्त अरब इमिरेट्स्, कुवेत, बहराइन, दक्षिण कोरिया, ओमान, जापान, रूमानिया रहेको उल्लेख छ। त्यसैगरी नेपाली श्रमिकहरूले वैदेशिक रोजगारीका क्रममा भोग्नुपरेको विभिन्न समस्या र समाधानका बिकल्पहरू प्रस्तुत गरिएको छ।

अन्तरक्रियामा मागपत्र प्रमाणिकरण, जाँचबुझमा रहेका समस्या, वैदेशिक रोजगारीमा हुने ठगी, कार्यस्थलमा श्रमिकले भोगेका समस्या, मानव तस्करीको समस्या, विदेशमा रहेका कागजातविहीन नेपाली श्रमिकका समस्या, फ्रि भिसा फ्रि टिकटको अवस्था र समस्या, इ–भिसा, सिजनेवल भिसाका समस्या, नेपाली कुटनीतिक नियोगको प्रभावकारिता लगायत श्रम आप्रवासनलाई सुरक्षित, मर्यादित र विश्वासनीय बनाउने विविध विषयमा छलफल हुनेछ।

अन्तरक्रियामा अष्ट्रियाका लागि नेपाली राजदूत भरत गौतम, ओमानका डोरनाथ अर्याल, जर्मनीका रामकाजी खड्का, जापानका दुर्गाप्रसाद सुवेदी, दक्षिण कोरियाका ज्योति प्याकुरेल, मलेसियाका डिल्लीराज पौडेल, कतारका नरेशविक्रम ढकाल, बहराइनका तीर्थराज वाग्ले, पाकिस्तानका तापस अधिकारी, कुवेतका घनश्याम लम्साल, संयुक्त अरब इमिरेट्स्का तेजबहादुर क्षेत्री, साउदी अरेयिबाका नवराज सुवेदी लगायत सहभागी थिए। 

उनीहरुले विदेशमा रहेका नेपाली कामदारहरूको अवस्था र त्यसमा सुधार ल्याउन चाल्नुपर्ने कदमहरूबारे आफ्नो रिपोर्टसहितको धारणा राखेका थिए।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, नेपाल सरकारका सचिवहरू उपस्थित थिए।

सोमबार र मंगलबार गरी २ दिन सञ्चालन हुने अन्तरक्रियामा मंगलबार प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूचि छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .