राजनीति


गण्डकीबाट नेकपाका उम्मेदवारको विजय निश्चित, नारायणकाजीको सिंहदरबार यात्रा पक्का

गण्डकीबाट नेकपाका उम्मेदवारको विजय निश्चित, नारायणकाजीको सिंहदरबार यात्रा पक्का

वाशुदेव मिश्र
माघ ९, २०७६ बिहिबार ८:१३,

पोखरा राष्ट्रियसभा निर्वाचनको लागि गण्डकी प्रदेशमा मतदान जारी छ। प्रदेशमा राष्ट्रियसभा सदस्यमा एक महिला र एक अन्य पदका लागि निर्वाचन भएको हो।

चुनवामा नेकपाले गोरखाका नारायणकाजी श्रेष्ठ र तनहुँकी भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ।

श्रेष्ठ पार्टी प्रवक्ता तथा सचिवालय सदस्य हुन्। उनी ०७४ को प्रतिनिधिसभा निर्वाचनमा समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए। त्यो पराजयपछि उनको सिंहदरबार यात्रा रोकिएको थियो। यो पटकको चुनावमा उनको विजय सुनिश्चित छ। विजयसँगै उनको सिंहदरबार यात्रा सुनिश्चित मात्र हुनेछैन, उनी पुनः सरकारमा जाने सम्भावना पनि रहेको राजनीतिक विश्लेषक बताउँछन्। उनी आफैँ पनि पार्टीले सरकामा पठाए त्यसका लागि तयार रहेको बताउँदै आएका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्याङजाका सूर्यप्रसाद रेग्मी र म्याग्दीकी विमला गौचनलाई उम्मेदवार बनाएको छ। संघको सभामुख पदमा उम्मेदवारी नै नदिएको कांग्रेसले यहाँ भने हार निश्चित भए पनि उम्मेदवार तयार गरेको हो। राष्ट्रिय जनमोर्चाले यसपटक राष्ट्रियसभामा शंंकरप्रसाद बराललाई उम्मेदवार बनाएको छ।

अहिलेको चुनावमा विगतको जस्तो एकल संक्रमणीय मत प्रणाली लागू नहुने भएकाले बहुमतीय आधारमा बढी मतभार ल्याउने उम्मेदवार नै विजयी बन्नेछन्। निर्वाचनमा स्थानीय तह र प्रदेशसभा सदस्य गरि कुल २७० जनाले मतदान गर्दैछन्। चुनावमा गण्डकीका मुख्यमन्त्रीदेखि कुटपिटको अभियोगमा उजुरी परेका प्रदेश सभासद राजीव गुरुङ मनाङेलेसम्म भोट खसालिसकेका छन्।

चुनावमा राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख÷उपप्रमुखको मतभार १८ तोकिएको छ। यसका आधारमा गण्डकीमा ६० प्रदेशसभा सदस्यको दुई हजार ८८० र ८५ स्थानीय तहका १७० जनप्रतिनिधिको मतभार तीन हजार ६० सहित कुल मतभार पाँच हजार ९४० रहेको छ। पाँच हजार ९४० मतभारमा बढी ल्याउने दुई उम्मेदवार विजयी बन्नेछन्।

यसपटक प्रदेशगत रुपमा प्रत्येक क्लस्टरबाट एक÷एक जनामात्रै चुनिने भएकाले बहुमत ल्याउने व्यक्तिले चुनाब जित्नेछन्।

गण्डकी प्रदेशसभामा नेकपाको एकल दुईतिहाई बहुमत छ भने स्थानीय तहमा पनि नेकपा नै अग्रस्थानमा छ। यस प्रदेशमा एक महानगर २६ नगरपालिका र ५८ गाउँपालिकासहित ८५ स्थानीय तह रहेका छन्। स्थानीय तहको मतपरिणाम अनुसार नेकपा ले प्रमुख÷अध्यक्षमा ३९ तथा उपप्रमुख÷उपाध्यक्षमा ४३ स्थानमा विजयी बनेको थियो।

त्यस्तै, नेपाली कांग्रेस प्रमुख÷अध्यक्षमा ४४ स्थान तथा उपप्रमुख÷उपाध्यक्षमा ३७ स्थानमा विजयी बनेको थियो।
राष्ट्रिय जनर्मोचा र स्वतन्त्रका उम्मेदवारले एक÷एक स्थानमा प्रमुख पद जितेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनर्मोचाले दुई÷दुई वटा उपप्रमुख पदमा विजयी बनेका थिए । उपप्रमुखमा एक स्वतन्त्र उम्मेदवार पनि विजयी बनेका थिए।

स्थानीय तह निर्वाचनमा प्रमुख÷उपप्रमुख गरी ८२ स्थानमा जित हात पारेको नेकपाको मतभार एक हजार ४७६ रहेको छ। प्रदेशसभामा ४० सिटसहित सत्तारुढ नेकपाको मतभार एक हजार ९२० सहित कुल तीन हजार ३९६ मतभार रहेको छ। नेकपाको मतभार ५७.१७ प्रतिशत रहेको छ।

८१ स्थानीय तहका प्रमुख÷उपप्रमुख जितेको कांग्रेसको मतभार एक हजार ४५८ रहेको छ। प्रदेशसभा निर्वाचनमा भने कांग्रेसले १५ सिट मात्र जितेको छ। यसमा प्रत्यक्ष ६ र समानुपातिकका ९ प्रदेससभा समावेश भएका छन्। १५ प्रदेससभा सदस्यको मतभार ७ सय २० हुन आउँछ। दुवै मिसाएर नेपाली कांग्रेसको मतभार दुई हजार १७८ हुन आउँछ। जुन कुल मतभारको ३६.६७ प्रतिशत हो।

प्रदेशमा सरकारलाई समर्थन गर्दै विपक्षमा बसेको राष्ट्रिय जनमोर्चाका तीन प्रदेशसभा सदस्य र स्थानीय तहका तीन प्रमुख÷उपप्रमुख मतदाता छन्। जनमोर्चाको मतभार कुल १९८ मतभार छ।

समाजवादी पार्टीका दुई प्रदेशसभा सदस्यको ९६, स्थानीय तहमा दुई स्थानामा जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीको ३६ र स्वतन्त्रबाट विजयी दुई जनप्रतिनिधिको ३६ मतभार रहेको छ। जनमोर्चाले यसअघि नेकपालाई सघाएको थियो। अहिलेको चुनावमा पनि नेकपालाई नै सहयोग गरेको खण्डमा नेकपाले थप १९८ मत पाउनेछ। स्वतन्त्रबाट विजयी दुई स्थानीय तहका जनप्रतिनिधिको ३६ मतभार पनि नेकपाकै पोल्टामा छ।

यस प्रदेशमा २०७४ को निर्वाचनमा कांग्रेसबाट विजयी भएका सदस्य सुरेन्द्रराज पाण्डे र विन्दादेवी रानाको २ वर्षे पदावधि सकिन लागेपछि चुनाव भएको हो। पहिलो एकतिहाईको पदावधि दुई वर्षको हुने संवैधानिक व्यवस्था बमोजिम उनीहरुको भागमा दुईवर्षे कार्यकालको गोलाप्रथा परेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .