राजनीति


यसरी निर्वाचित हुँदैछन् राष्ट्रिय सभाका १८ सदस्य

यसरी निर्वाचित हुँदैछन् राष्ट्रिय सभाका १८ सदस्य

सागर न्यौपाने
माघ ९, २०७६ बिहिबार ७:४४,

फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रियसभाको १८ सिटका लागि नयाँ सदस्यहरु निर्वाचित हुँदैछन्। राष्ट्रिय सभामा पहिलो पटक रिक्त हुन लागेका सिटमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य वेदूराम भुसाल लगायत नेताहरु चुनावी मैदानमा छन्।

सातै प्रदेशसभाका कूल सदस्य ५ सय ५० र स्थानीय तहका गाउँ पालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिका प्रमुख तथा उपप्रमुख गरी १ हजार ५ सय ६ जना मतदाता रहेका छन्।
निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ तय गरिएको छ। यसको अर्थ प्रदेश सांसदले दिएको १ मतलाई ४८ र स्थानीय तह प्रमुख वा उपप्रमुखले दिएको मतलाई १८ मानी मत गणना गरिनेछ। एकजना प्रदेश सांसद र स्थानीय तह प्रमुख तथा उपप्रमुखले प्रतिनिधित्व गर्ने औसत जनसंख्याका आधारमा यो मतभार तय गरिएको हो।

हाल प्रदेश १ मा ९३ जना प्रदेश सांसद रहेका छन् भने स्थानीय तहबाट २७४ जनाले मतदानमा भाग लिनेछन्।

त्यसआधारमा प्रदेश १ मा जम्मा मत ९ हजार ३ सय ९६ रहेको छ यसमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवार विजयी हुनेछन्।

यस्तै प्रदेश २ मा प्रदेशसभाका सदस्य १ सय ७ रहेका छन् भने स्थानीय तहबाट २ सय ७२ जना छन्। प्रदेश २ मा दुवैतर्फको मतभारअनुसार गणना गर्दा कूल १० हजार ३६ मत रहेको छ।

प्रदेश २ मा सत्तारुढ नेकपा र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच गठबन्धन भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र समाजवादी पार्टीले पनि आपसमा गठबन्धन बनाएका छन्।
नेकपाका स्थायी समिति सदस्य बेदूराम भुसाल समेत उम्मेदवार रहेको वागमती प्रदेशमा १ सय १० जना प्रदेश सदस्यहरु मतदाता रहेका छन्। यसैगरी स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरी २ सय ३८ जनाले मत दिनेछन्। वागमतीमा दुवैतर्फ गरि ९ हजार ५ सय ६४ मत छ।

गण्डकी प्रदेशमा ६० जना प्रदेश सदस्य रहेका छन् भने, १ सय ७० जना स्थानीय तहका प्रमुख उपप्रमुखले राष्ट्रियसभा सदस्यलाई मतदान गर्नेछन्।

५ हजार ९ सय ४० मत रहेको गण्डकी प्रदेशबाट यसपटक सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि चुनावी मैदानमा छन्। २०७४ को प्रतिनिधी सभा निर्वाचनमा गृहजिल्ला गोरखाबाट पराजित श्रेष्ठ यसपटक माथिल्लो सदनको बाटोबाट संसदमा आउन लागेका हुन्।

प्रदेश ५ बाट ८७ जना प्रदेशसभा सदस्य र २ सय १८ स्थानीय तहका प्रमुख उपप्रमुखले मतदानमा भाग लिँदैछन्। प्रदेश ५ मा ८ हजार १ सय मत रहेको छ।

४० जना प्रदेश सांसद रहेको कर्णाली प्रदेशमा १ सय ५८ जना स्थानीय तहका प्रमुख र उपप्रमुख छन्। कर्णाली प्रदेशमा जम्मा ४ हजार ७ सय ६४ मत रहेको निर्वाचन आयोगका सूचना अधिकारी सुर्यप्रसाद अर्यालले नेपालखबरलाई जानकारी दिए।

सुदुरपश्चिम प्रदेशमा ५३ जना प्रदेशसभा सांसद छन्। स्थानीय तहका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गरी सो प्रदेशमा १ सय ७६ मतदाता छन्। सुदुरपश्चिम प्रदेशको कुल मत ५ हजार ७ सय १२ रहेको छ।

नेकपाका आठ, कांग्रेसका सात, राजपाका दुई, समाजवादीका एकजना सदस्यको कार्यकाल सकिन लागेको हो। राष्ट्रिय सभाका सदस्यहरुको कार्यकाल गोलाप्रथाद्वारा तय गर्दा एकतिहाई सदस्य (१९ जना) को दुई वर्ष परेको थियो। उनीहरुको कार्यकाल फागुन २० मा सकिन लागेको हो।

रिक्त हुन लागेका १९ मध्ये एक सदस्य युवराज खतिवडा राष्ट्रपतिबाट मनोनीत भएको हुँदा सो स्थानको पदपूर्तिका लागि राष्ट्रपतिबाटै मनोनयन गरिनेछ।

पदावधि सकिनुभन्दा ३५ दिन अघि नै नयाँ सदस्यका लागि निर्वाचन हुने संवैधानिक प्रावधानअनुसार आज मतदान भइरहेको हो।

निर्वाचन आयोगका सूचना अधिकारी सुर्यप्रसाद अर्यालले आजै साँझ मतपरिणाम सार्वजनिक भइसक्ने बताए। उनले भने, ‘चारबजे मतदान सकिएको केहीबेरपछि मतगणना सुरु हुनेछ, एक-डेढ घण्टामा नतिजा आउँछ।’

प्रदेश १ को मोरङ, प्रदेश २ को धनुषा, वागमती प्रदेशको ललितपुर, गण्डकीको कास्की, प्रदेश ५ को दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको डोटीमा मतदान भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .