नेकपा एमालेका नेताहरुलाई लिएर काठमाडौंबाट जनकपुरमा गएको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएको छ।
संसदीय दलका उपनेता सुवास नेम्वाङसहित दर्जनबढी नेताहरु बोकेर गएको जहाजमा प्राविधिक समस्या आएपछि अर्को जहाजमा नेताहरुलाई जनकपुर अवतरण गराइएको हो।
अर्को जहाजमा जनकपुर पुगेपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले सामाजिक सञ्जालमा सार्वजनिक गर्दै सकुशल अवतरण भएको जनाएका छन्।
बुधबार बिहान पौने ८ बजे काठमाडौंबाट उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि जनकपुर अवतरण नगरी काठमाडौं फर्काइएको थियो।
‘बुद्धकै अर्को जहाजमा केहीबेर अघि नेताहरु जनकपुर अवतरण गर्नुभएको छ ’ एमाले केन्द्रीय सदस्य सञ्जीव झाले भने।
जहाजमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, दलका उपनेता सुवासचन्द्र नेम्वाङ र उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायत थिए।
एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङले जनकपुरमा सकुशल अवतरण गरेर दही चिउरा खाएर सिराहातिर लागेको बताएका छन्।
उनले दोस्रो जहाजमा सकुशल जनकपुर आइपुगेको बताउँदै अब सिराहा गएर साँझ ७ बजे फर्किने बताएका छन्।
Shares

प्रतिक्रिया