ad ad

राजनीति


गैरआवासीय नेपालीलाई सहज ढंगले नागरिकता प्रदान गरिने छ : गृहमन्त्री श्रेष्ठ

गैरआवासीय नेपालीलाई सहज ढंगले नागरिकता प्रदान गरिने छ : गृहमन्त्री श्रेष्ठ

नेपालखबर
भदौ ९, २०८० शनिबार ९:४९, काठमाडौँ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नियमावली संशोधन गरेर गैरआवासीय नेपालीलाई सहज ढंगले नागरिकता प्रदान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।

गृहमन्त्रालयमा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा.बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा उनले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावलीमा समावेश गरिने प्रावधान गैरआवासीय नेपालीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताए।

उनले नागरिकतासम्बन्धी नियमावली छिट्टै निर्माण गरी गैरआवासिय नेपालीलाई सहजै नागरिकता प्रदान गर्न सहजीकरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। 

‘गैरआवासीय नेपाली नागरिकता लिन कुनै झन्झट नहोस् भन्नेमा सरकार सजग र प्रतिबद्ध छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘नियमावलीमा विदेशमा रहेका नेपालीलाई अप्ठ्यारो पर्ने प्रावधान राखिँदैन।’ 

भेटमा संघका कार्यकारी अध्यक्ष केसीले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावली यथाशक्य छिटो निर्माण गरी नागरिकता प्राप्तिका लागि मार्गप्रशस्त गरिदिन आग्रह गरेका थिए।
 

नियमावलीमा राखिने प्रावधान अप्ठ्यारा भए नागरिकता लिँदा झन्झटिलो हुने भएकाले निर्माण चरणदेखि नै सरकारले ध्यान दिनुपर्नेमा उनको जोड थियो। 

अध्यक्ष केसीले जिल्ला प्रशासन कार्यालयबाटै नागरिकता दिइने व्यवस्था मिलाउन र नागरिकताको ढाँचा अन्य नेपालीले पाउने नागरिकताजस्तै बनाई प्रमाणपत्रको किसिममा ‘गैरआवासीय’ लेख्दा उपयुक्त हुने सुझाव उनले दिए।
 
संघले अनलाइन तथा नेपाली दूतावास वा महावाणिज्य दूतावासबाटै नागरिकता प्राप्तिका लागि  निवेदन दिन मिल्ने व्यवस्था गर्नुपर्नेलगायत सुझाव पनि गृह मन्त्रीसमक्ष प्रस्तुत गरेका छन्। 

सरकारले विदेशमा बस्ने नेपालीका लागि गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्थाअनुरुप ऐन जारी गरे पनि त्यसको कार्यान्वयनका लागि आवश्यक नियमावली निर्माणकै चरणमा रहेकोले त्यसमा संघले आफ्ना सुझाव पेश गरेको हो।
 
भेटमा कार्यकारी अध्यक्ष केसीसहित उपाध्यक्ष डिबी क्षेत्री, आइसिसी युवा संयोजक अब्दुल बासिद, युरोप क्षेत्रीय संयोजक सन्तोष भट्टराई, एनसीसी थाइल्याण्डका भविन्द्र बस्नेत, पूर्वसल्लाकार टीबी कार्की, एनसीसी थाइल्याण्डका पूर्वयुवा संयोजक दिपेश श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउतलगायतको उपस्थिति थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .