ad ad

राजनीति


राजसंस्था पुनर्स्थापनाकै एजेन्डामा फर्किए कमल थापा

प्रदेश संरचना तत्काल खारेज हुनुपर्ने तर्क
राजसंस्था पुनर्स्थापनाकै एजेन्डामा फर्किए कमल थापा

नेपालखबर
भदौ ७, २०८० बिहिबार १७:१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले पार्टीको अबको मुख्य एजेन्डा राजसंस्थाको पुनःस्थापना भएको बताएका छन्। 

काठमाडौंमा बिहीबार सुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले राजसंस्था पुनः स्थापनाको एजेन्डा पार्टीले महत्वपूर्ण एजेन्डाको रुपमा अघि बढाउने बताए।

थापाले विगतमा पार्टीको एजेन्डा राजासंस्था नरहे पनि देशको वर्तमान अवस्था र पार्टीका सहयोगी र शुभचिन्तक र आम कार्यकर्ताको भावनालाई समेट्दै राजसंस्थासहितको प्रजातन्त्र राप्रपा नेपालको मुख्य एजेन्डा हुने उल्लेख गरे।

उनले संघीय गणतन्त्रको नाउँमा हाल कायम रहेको भ्रष्ट व्यवस्था अन्त्य भएपछि कायम गरिने राज्य व्यवस्थाको मूलभुत व्यवस्था जनतामा निहीत सार्वभौम सत्ता, राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी अधिकार युक्त प्रधानमन्त्री, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, समावेशी र समानुपातिक मान्यता, उदार आर्थिक व्यवस्था र सुशासन हुने बताए।

‘संघीय गणतन्त्रको नाउँमा हाल कायम रहेको भ्रष्ट व्यवस्था अन्त्य भएपछि कायम गरिने राज्य व्यवस्थाको मुलभुत व्यवस्था जनतामा निहीत सार्वभौम सत्ता, राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी अधिकार युक्त प्रधानमन्त्री, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, समावेशी र समानुपातिक मान्यता, उदार आर्थिक व्यवस्था र सुशासन हुनुपर्छ भन्ने राप्रपा नेपालको धारणा रहेको छ’, उनले भने, ‘राजनीतिलाई स्वच्छ तुल्याउन विद्यमान निर्वाचन प्रणाली आम सुधार आवश्यक छ। विगतमा पार्टीको एजेन्डा राजासंस्था नरहे पनि देशको वर्तमान अवस्था र पार्टीका सहयोगी र शुभचिन्तक र आम कार्यकर्ताको भावनालाई समेट्दै राजसंस्थासहितको प्रजातन्त्र राप्रपा नेपालको मुख्य एजेन्डा रहनेछ। राजसंस्था पुनः स्थापनाको एजेन्डा पार्टीले महत्वपूर्ण एजेन्डाको रुपमा अघि बढाउनेछ।’

अध्यक्ष थापाले संघीयता असफल मात्रै नभइ देशको निमित्त अभिशाप बन्न पुगेको बताए। उनले छोटो अभ्यासको क्रममा संघीयता एवं प्रदेश स्तरीय संरचना अस्थिरता, अराजकता र भ्रष्टाचारको अखडा स्थापित भएको दाबी गरे।

उनले प्रदेश संरचनाले आफ्नो औचित्य स्थापित गर्न नसकेकाले संघीयताको नाममा कायम रहेको प्रदेश स्तरीय संरचना तत्काल खारेज हुनुपर्ने बताए।

‘अहिले संघीयता असफल मात्रै होइन, देशको निमित्त अभिशाप बन्न पुगेको छ । छोटो अभ्यासको क्रममा संघीयता एवं प्रदेश स्तरीय संरचना अस्थिरता, अराजकता र भ्रष्टाचारको अखडा स्थापित भएको छ । प्रदेश संरचनाले आफ्नो औचित्य स्थापित गर्न सकेको छैन। नेपालको आर्थिक अवस्था र क्षमताले प्रदेश स्तरीय संरचना धान्नै नसक्ने भएको छ’, उनले भने, ‘संघीयताको नाममा कायम रहेको प्रदेश संरचना तत्काल खारेज गर्नुपर्छ। केन्द्रमा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा पनि बढी अधिकार सम्पन्न सुदृढ स्थानीय तह गरी दुई तहको सरकार उपयुक्त हुन्छ।’

अध्यक्ष थापाले नेपालमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी अधिकार सम्पन्न प्रधानमन्त्रीय प्रणाली उपयुक्त हुने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .