राजनीति


वामपन्थी आन्दोलनलाई प्रचण्ड र माधव नेपालले कमजोर पारे : महासचिव पोखरेल

वामपन्थी आन्दोलनलाई प्रचण्ड र माधव नेपालले कमजोर पारे : महासचिव पोखरेल

नेपालखबर
साउन ३२, २०८० बिहिबार २१:११, काठमाडौँ

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालको बामपन्थी आन्दोलनलाई पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले विगारेको आरोप लगाएका छन्। 

एमाले मुख्यालयमा ललितपुर जिल्लाबाट माओवादीमा आवद्ध कार्यकर्ताहरु एमाले प्रवेश कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। 

‘माओवादीबाट होस् अथवा एकीकृत समाजवादीबाट एमालेमा आउनेहरुको सन्दर्भमा होस हामी कसैलाई अपमान गर्दैनौँ,’ पोखरेलले भन्नुभयो, ‘नेपालको बामपन्थी आन्दोलन विगारेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले हो, कार्यकर्ताले होइन। हामीले त्यो कुरा बुुझेका छौँ। प्रचण्ड र माधव नेपालका कारण वामपन्थी आन्दोलनलाई ठूलो क्षति पुगेको छ।’ 

पोखरेलले मुलुकमा देखिएका समस्या र चुनौतीलाई सामना गरेर सुखी र समृद्ध नेपाल बनाउनुपर्छ भन्ने मान्यताका आधारमा नेकपा ९एमाले० अघि बढेको पनि बताए। 

‘बहुदलीय व्यवस्थाको स्थापनाको ३५ वर्षमा हामीले २८ जना प्रधानमन्त्री हेरिसकेका छौँ। एउटा प्रधानमन्त्रीले औसतमा ६ महिना पनि काम गर्न पाएको छैनन्,’ उनले भने, ‘यस्तो अवस्थामा मुलुकको विकास र समृद्धिको अपेक्षा गर्न सकिदैँन।’ 

उनले पछिल्लो समय हाम्रो समाजमा सामाजिक अराजकताको स्थिति उत्पन्न भएको भन्दै त्यसले राज्य र संरचनालाई कमजोर बनाएको र नेपाली समाजलाई अगाडि बढ्नबाट बाटो छेकेको स्मरण गराए। 

‘यस्तो अवस्थामा हाम्रो पार्टीको मान्यता के–हो भने अब नेपालमा धेरै राजनीतिक दल होइन। बलिया राजनीतिक दलहरुको आवश्यकता छ। त्यो भनेको नीतिका आधारमा देशको नेतृत्व गर्न सक्ने बलियो राजनीतिक दल आवश्यक छ भनेको हो,’ पोखरेलले भन्नुभयो, ‘हामीले दुनियाँको विकसित मुलुक हेरेका छौँ। त्यहाँ दलहरु थोरै मात्रै हुन्छन्। हामीले अमेरिकाकै उदाहरण हेर्ने हो भने पनि त्यहाँ सयौँ वर्षदेखि दुईवटा दल मात्रै प्रतिस्पर्धामा छन्। ती दुई दलले नै जनताको परिवर्तनको अपेक्षाको नेतृत्व गर्दछन् र नयाँ नेतृत्वको निर्माण पनि ती दलले नै गरेका हुन्छन्।’ 

संसदीय दलको जननी भन्ने बेलायतमा पनि त्यस्तै रहेको भन्दै पोखरेलले हाम्रो देशमा धेरै राजनीतिक दलका कारण बलियो सरकार बनाउन नसकेको दाबी गरे। 

‘धेरै राजनीतिक दल हुनु भनेको जनमतको विभाजन हो र राज्यलाई कमजोर पार्ने आधार हो,’ उनले भने, ‘त्यसकारण हामीले बुझ्नुपर्छ जति धेरै राजनीतिक दल त्यति धेरै राजनीतिक विचलल, जति धेरै राजनीतिक दल त्यति धेरै राजनीतिक अस्थिरता, जति धेरै राजनीतिक दल त्यति धेरै बैदेशिक हस्तक्षेप।’

पोखरेलले एमालेको नेतृत्व गरिरहनु भएका अध्यक्ष केपी शर्मा ओली नेपालमा भएका राजनीतिक दलका नेताहरुको तुलनामा नेपाली समाजलाई गहिरोसँग बुझ्न सक्ने नेता भएको उल्लेख गरे।

साथै, उनले नेकपा माओवादी केन्द्रले पहिलो संविधानसभामा करिब ३० प्रतिशत मतसहित पहिलो दलका रुपमा आएको स्मरण गर्दै दोस्रो संविधानसभामा पुग्दा ओरालो झरेर करिब २३ प्रतिशतको हाराहारीमा पुगेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .