राजनीति


ओलीको जिकिर : प्रतिनिधि सभा विघटन नगरेको भए वाम आन्दोलन ध्वस्त हुन्थ्यो

ओलीको जिकिर : प्रतिनिधि सभा विघटन नगरेको भए वाम आन्दोलन ध्वस्त हुन्थ्यो

एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर : राजन काफ्ले


नेपालखबर
साउन ३०, २०८० मंगलबार १७:४७, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधि सभा विघटन गरेको बताएका छन्।

मंगलबार नेकपा(एमाले) बागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजना रोक्न प्रतिनिधि सभा विघटन गरेको बताए।

उनले प्रतिनिधि सभा विघटन नगरेको भए देशको वामपन्थी आन्दोलन ध्वस्त हुने बताए।

ओलीले तत्कालीन समयमा आफूहरुलाई झुण्ड्याएर मार्ने डोरी बनाइएको भन्दै आफूले संसद विघटन गरिदिएर उक्त डोरी छिनाल्दिएको बताए।

उनले प्रतिनिधि सभा विघटनपछि पार्टीको सदस्यबाटै निकालिएका आफूहरुले संगठन बिस्तार र सुदृढ गरेर मजबुत र प्रमुख पार्टीको रुपमा पुनःस्थापित गरी प्रतिनिधि सभामा प्रवेश गरेको बताए।

उनले प्रतिनिधि सभा विघटन त्यस बेलाको अपरिहार्यता भएको उल्लेख गर्दै सो कदम राजनीतिक, संवैधानिक र संसदीय भएको जिकिर गरे।

‘हामीले पुष ५ गते प्रतिनिधि सभा विघटनको सिफारिस गर्यौँ‍। विघटन गर्‍यौँ। हामीले ठिक ठानेर गर्‍यौँ। ठिक भनेर गर्यौँ‍। ठिक थियो र गर्‍यौँ। नगरी नहुने थियो र गर्‍यौँ। बिल्कुलै समसामयिक कदम चाल्यौँ। होइन भने हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो। ध्वस्त पार्ने षड्यन्त्र थियो। त्यस षड्यन्त्रलाई, हामीलाई झुण्ड्याउन जुन डोरी उनीहरुले तयार गरेका थिए, त्यो डोरी हामीले छिनाल्दियौँ’, उनले भने, ‘ पुस ५ गतेको कदम त्यही हो। हामीलाई झुण्ड्याएर मार्ने जुन डोरी उनीहरुले बनाएका थिए, त्यो डोरी काटिदियौँ। षड्यन्त्र छिन्यो। षड्यन्त्र छिनेपछि उनीहरु असाध्यै आत्तिए। उनीहरुले जे योजना गरेका थिए वर्षौंदेखि, उनीहरुलाई त्यही डर थियो।’

प्रतिनिधि सभा पुनःस्थापना भएर पनि केही पनि नबिग्रिएको उनले बताए। ‘हामीमाथि त्यतिबेलाको सबभन्दा ठूलो संगठनात्मक प्रहार थियो। हाम्रो संगठन ध्वस्त पार्ने, चकनाचुर पार्ने र नेपालमा वामपन्थी आन्दोलन, परिवर्तनकारी आन्दोलन समाप्त पार्ने योजना थियो। त्यसलाई हामीले विफल बनायौँ’, उनले भने, ‘संसदको आफैँमा त्यसको अस्तित्व त्यस्तो थियो ? त्यसका क्रियाशिल पात्रहरु जो थिए उनीहरुको षड्यन्त्र र त्यसको पृष्ठभागमा बसेका पुतली नचाउने कुसुलेहरु थिए। उनीहरुको हिसावले प्रतिनिधि सभा भंग गर्नै नहुने कुरा थियो।’

उनले आफ्नो अस्तित्वका लागि पनि उक्त कदम चाल्न बाध्य भएको बताए। ‘हामीलाई समाप्त पार्ने उनीहरुको योजना खत्तम हुन्थ्यो। हाम्रो लागि त्यो नगरी नहुने अपरिहार्य थियो। त्यो राजनीतिक, संवैधानिक, संसदीय कदम थियो। मुख्य रुपमा त्यो प्रतिक्रियावादी षड्यन्त्रको विरोधमा जाने एउटा सचेत कदम थियो’, उनले भने, ‘त्यसपछि हामी फागुन ११ मा फेरि प्रतिनिधि सभा पुनःस्थापना हुँदासम्म हामी प्रतिनिधि सभामा मजबुत रुपमा, फेरि पनि प्रमुख पार्टीको रुपमा प्रतिनिधि सभा पुनःस्थापना हुँदासम्म पुग्यौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad