ad ad

राजनीति


प्रधानमन्त्री भदौ ३० मा अमेरिका जाँदै, असोज ५ गते न्यूयोर्कबाट सिधै चीन पुग्ने

प्रधानमन्त्री भदौ ३० मा अमेरिका जाँदै, असोज ५ गते न्यूयोर्कबाट सिधै चीन पुग्ने

प्रधानमन्त्री प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
साउन ३०, २०८० मंगलबार १७:८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन आगामी भदौ ३० गते अमेरिका जाने भएका छन्।

मंगलबार सम्पादकहरुको एउटा टोलीसँगको छलफलका क्रममा प्रचण्डले आफ्नो अमेरिका र चीन भ्रमणको मिति सार्वजनिक गरेका हुन्। 

उनले आफू भदौ ३० अर्थात सेप्टेम्बर १६ तारिखमा अमेरिका गएर असोज ४ गते राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने जानकारी दिएका हुन्। 

उनी राष्ट्रसंघको महासभामा भाग लिने क्रममा ५ दिनसम्म अमेरिकामा रहनेछन्। राष्ट्रसंघको ७९ औँ महासभा आगामी सेप्टेम्बर १० तारिखदेखि अमेरिकाको न्यूयोर्कमा सुरु हुँदैछ।

त्यहाँबाटै उनी नेपालको उत्तरी छिमेकी चीनको बेइजिङतर्फ लाग्ने भएका छन्। राष्ट्रसंघीय महासभामा भाग लिएपछि उनको टोली पूर्वनिर्धारित कार्यक्रमअनुसार सीधै चीन जाने छ। 

असोज ५ गते बेलुका न्यूयोर्कबाट चीनका लागि उड्ने तालिका सार्वजनिक गरेका प्रचण्डले आफू असोज ६ र ७ गते त्यहाँ उच्च राजनीतिक भेटघाटमा जुट्ने बताएका छन्। 

चीन भ्रमणका क्रममा क्रस बोर्डर ट्रान्समिसन विद्युत् लाइन निर्माणबारे सम्झौता गर्ने उनले बताए। प्रधानमन्त्रीका अनुसार उक्त लाइन केरुङ-रसुवागढी र  संखुवासभाको किमाथांका नाका हुँदै निर्माण गरिने छ। 

संखुवासभामा पर्ने माथिल्लो अरुण जलविद्युत् परियोजना निर्माणमा चीनले चासो दिइरहेका बेला ट्रान्समिसन लाइनमा पनि सम्झौता हुन लागेको हो। 

प्रधानमन्त्रीले भ्रमणका क्रममा जलविद्युत् निर्माणका लागि समेत सम्झौता हुने बताएका छन्। उनले आफ्नो भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पनि भेट्ने बताए। 

उक्त भ्रमणका क्रममा सन् २०१७ मै सम्झौता भइसकेको बेल्ट एन्ड रोड इनिसियटिभलाई अघि बढाउनेबारे पनि दुई देशले योजना बनाउने उनले बताए। बीआरआईमार्फत नेपालमा विकास परियोजना अघि बढाउने तयारी भएको उनले बताए।

प्रचण्डले सुरुमा कम्तीमा एउटा नमूना परियोजना सफल बनाएपछि बीआरआई परियोजनालाई अघि बढाउने गरी तयारी भएको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .