ad ad

राजनीति


पैसाको बलमा पार्टी संगठन गर्नेसँग संघर्ष गर्नुपर्ने चुनौती थपियो : प्रकाशमान सिंह

पैसाको बलमा पार्टी संगठन गर्नेसँग संघर्ष गर्नुपर्ने चुनौती थपियो : प्रकाशमान सिंह

फाइल तस्बिर


नेपालखबर
साउन २९, २०८० सोमबार १३:४, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक दल एवम् मुलुकको शासन व्यवस्था लोकतान्त्रिक मूल्य-मान्यता र विधिको शासनअनुसार चल्नुपर्ने बताएका छन्। 

कांग्रेसका पूर्वमहामन्त्री सिंहले प्रजातान्त्रिक विचार समाजको प्रतिनिधिमण्डलसँग निजी निवास चाक्सीबारीमा भएको भेट तथा अन्तरक्रियामा मुलुकमा स्थापित लोकतन्त्र, नागरिक अधिकारसहित राष्ट्रको अस्तित्वमाथि नै सङ्कट आउन लागेकाले देशभरका प्रजातन्त्रवादी शक्तिबीच एकता हुन आवश्यक रहेको बताए।

मुलुकमा व्याप्त विकृति, विसङ्गति, भ्रष्टाचार र कुशासनविरुद्ध राजनीतिक दलहरु एकजुट हुनुपर्ने खाँचो पूर्वउपप्रधानमन्त्री सिंहले औँल्याए। 

‘पैसाको बलमा पार्टी सङ्गठन कब्जा गर्ने र राजनीति नै खरिद गर्ने प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्नुपर्ने चुनौती थपिएको छ’, उनले भने, ‘राजनीतिक दल र नेताभन्दा पनि माथि उठेर विचार, सिद्धान्त, नीति एवं नैतिकताको पक्षमा वकालत गर्न वैचारिक समाजका सदस्यसहित प्रजातन्त्रवादी बौद्धिक समुदायको ध्यानाकर्षण गर्दछु।’

प्रजातन्त्रको अभावमा प्रजातान्त्रिक विचार समाजलगायत वैचारिक नागरिक सङ्घ, संस्थाको अस्तित्वसमेत नामेट हुने प्रसङ्ग उनले उल्लेख गरे।

नेता सिंहले मानवअधिकार र प्रजातन्त्रको रक्षाका लागि एकताबद्ध हुन सम्पूर्ण युवा, विद्यार्थी, पेसा व्यवसायीसहित नागरिक समाजसँग समेत अनुरोध गरे।

समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले लोकतन्त्रप्रति बढ्दो खतरा, व्याप्त भ्रष्टाचार, राज्य संयन्त्रप्रति बढ्दो अविश्वास र राज्यका तीनै तहमा देखिएको अराजकताप्रति राजनीतिक दल र तिनका नेता सचेत रहनुपर्ने बताए। 

उनले लोकतन्त्र, मानवअधिकार र सुशासनको पक्षमा भेटघाट तथा अन्तरक्रियात्मक अभियान सञ्चालन गरेको स्पष्ट गरे।

कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्याल, सचिव प्रा डा अकलदेव मिश्रसहित सदस्यले देशको शिक्षा, स्वास्थ्य, बेरोजगारी, दुर्गम जनजीवनले भोगिरहेको दुःख–पीडालगायत विषयमा कांग्रेस नेता सिंहको ध्यानाकर्षण गराए।

अध्यक्ष वाग्लेको नेतृत्वमा वैचारिक समाजको नवनिर्वाचित प्रतिनिधिमण्डलले शीर्ष नेतासँगको भेटवार्तालाई निरन्तरता दिनेक्रममा यसअघि कांग्रेस नेता डा. शेखर कोइराला र अर्जुननरसिंह केसीसँग पनि भेटेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .