राजनीति


नेकपासँग उपसभामुख माग्दै कांग्रेस, हार्ने सभामुखमा उम्मेदवारी नदिने

नेकपासँग उपसभामुख माग्दै कांग्रेस, हार्ने सभामुखमा उम्मेदवारी नदिने

नेपालखबर
माघ ६, २०७६ सोमबार १४:२२,

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माघ १२ गते हुने सभामुखको निर्वाचनमा उम्मेदवारी दिने संभावना नरहेको नेताहरुले बताएका छन्।

संसदले सोमबार सार्वजनिक गरेको कार्यतालिकामा सभामुखको उम्मेदवारी मनोनयन मंगलबार गर्ने तय गरेको छ भने सोमबार साँझसम्म कांग्रेसका नेताहरुको मनस्थिति हेर्दा हार्ने निश्चित भएको पदमा उम्मेदवारी दिने संभावना देखिँदैन।

उम्मेदवारी नदिए पनि कांग्रेसले सभामुखमा नेकपाका उम्मेदवार अग्नि सापकोटालाई मत दिने संभावना कम रहेको कांग्रेसका नेताहरु बताउँछन्।

तर नेकपाको सचिवालय बैठकले आइतबार सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरि सहयोग गर्न आग्रह गरेको बुझिएको छ।

नेकपा स्थायी समितिका एक नेताका अनुसार प्रचण्ड सकेसम्म सापकोटालाई सर्वसम्मत रुपमा सभामुखमा चयन गर्न चाहन्छन्। कांग्रेसले उम्मेदवारी नदिए सापकोटा सर्वसम्मत हुने संभावना छ। तर कांग्रेसले भने उपसभामुख आफुलाई दिए सभामुखमा उम्मेदवारी नदिने संकेत गरको छ।

देउवाले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग उपसभामुखबारे कुरा गरे नगरेको खुलेको छैन। तर कांग्रेसका नेताहरू उपसभामुख दिन नेकपा तयार भए सभामुखमा उम्मेदवारी नदिने बताउन थालेका छन्।

सोमबार बिहानदेखि नै कांग्रेसले सापकोटाविरुद्ध सभामुखमा पुष्पा भुसाललाई उठाउने चर्चा भएपनि यस सम्बन्धी निर्ण गरिसकेको छैन। कांग्रेसले सभामुख वा उपसभामुख कुन पदमा उम्मेदवारी दिने भन्ने निर्णय गर्न मंगलबार बिहान संसदीय दलको बैठक राखेको छ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सभामुख पदमा उम्मेदवारी दिने संभावना कम रहेको बताए।

‘संविधानमा सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने उल्लेख छ, नेकपाले सभामुख लिएपछि अब कसरी जाने भन्ने बारेमा छलफल गर्दैछौं,’ कांग्रेसले उपसभामुखका लागि नेकपाको सहयोग खोजेको संकेत गर्दै खाँडले नेपालखबरसँग भने।

कांग्रेस सांसद डा मिनेन्द्र रिजालले अहिले सभामुखमा उम्मेदवारी दिन आवश्यक नरहेको बताए।

‘ठूलो पार्टी भएकाले नेकपाले सभामुख लिने निर्णय गरिसकेको छ’, रिजालले भने, ‘हामीले चुनाव जित्ने स्थिति छैन, हार्ने पदमा उम्मेदवारी नदिँदै उपयुक्त हुन्छ।’

सभामुखमा नेकपाका उम्मेदवार अग्नि सापकोटालाई मत दिने कि नदिने भन्ने निर्णय भने पार्टीले छलफल गरेर गर्ने रिजालको भनाई छ।

कांग्रेसका तर्फबाट सभामुखको उम्मेदवारका रुपमा चर्चा गरिएकी कांग्रेस सचेतक पुष्पा भुसालले मंगलबार बिहान ९ बजे बोलाइएको संसदीय दलको बैठकले अन्तिम निर्णय गर्ने बताइन्।

‘हाम्रो संसदीय दलको कार्यसमिति बैठक भोलि ९ बजे सिंहदरबारमा बस्दैछ,’ उनले नेपालखबरसँग भनिन, ‘सोही बैठकबाट उम्मेदवारी दिने वा नदिनेबारे निर्णय हुनेछ।’

सोमबार बसेको प्रतिनिधिसभा बैठकले सभामुख चयनको लागि निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ। मंगलबार बिहान ११ बजेदेखि २ बजेसम्म सभामुख पदमा उम्मेदवारी दिने समय तोकिएको छ।

सोमबारको संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले पदबाट राजिनामा दिएकी थिइन्।

नेकपाको आइतबार बसेको सचिवालय बैठकले रिक्त सभामुखमा पार्टीका स्थायी समिति सदस्य अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।

संसद सचिवालयमा कार्यरत कर्मचारीलाई बलात्कार प्रयासको आरोप लागेपछि तत्कालिन सभामुख कृष्णबहादुर महराले असोज १४ गते पदबाट राजीनामा दिएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad