राजनीति


सत्र महिनादेखि अपडेट छैन माओवादीको वेबसाइट

न पुराना विवरण हेर्न मिल्छ, न नयाँ सूचना नै राखिएको छ
सत्र महिनादेखि अपडेट छैन माओवादीको वेबसाइट

फाइल तस्बिर


नेपालखबर
साउन २४, २०८० बुधबार १७:४२, काठमाडौँ

सत्तारुढ नेकपा माओवादी केन्द्रले पार्टीलाई सूचना र प्रविधिको भरपूर प्रयोग गर्दै सञ्चालन गरिरहेको दाबी गर्छ।

डिजिटलाइज्ड सदस्यता, अनलाइनमै सदस्य बन्न पाउने सुविधा ल्याइसकेको माओवादीले बताउने गरेको छ।

अर्कातिर वेबसाइटमै नेताहरुका प्रोफाइल बनाएको जिकिर उनीहरुले गर्ने गरेका थिए। तर तथ्यमा भने त्यस्तो छैन। माओवादीको वेबसाइट सत्र महिनादेखि अद्यावधिक (अपडेट) नै छैन।

माओवादीको आधिकारिक वेबसाइट सीपीएनएमसी डट ओआरजी खोलेर हेर्दा सन् २०२२ अप्रिल २२ तारिखमा अन्तिम पटक अपडेट गरिएका सामग्री मात्रै देखिन्छन्। 

त्यो भनेको सत्र महिनाअघि हो। जबकि यसबीचमा २०७९ वैशाख ३० गते स्थानीय तह र त्यही साल मंसिर ४ गते  प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव भइसकेको छ। 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन्। 

सरकारले भ्रष्टाचारविरोधी अभियानलाई तीव्र पारेसँगै सामाजिक सञ्जालमा पनि प्रशंसा पाइरहेको छ।

प्रधानमन्त्री प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चालेको कदमबारे १७–२१ साउनमा सम्पन्न भएको केन्द्रीय समितिको बैठकमा पनि चर्चा भयो।

तर, पार्टीको गतिविधि राख्नैका लागि बनाइएको वेबसाइट भने डेढ वर्षदेखि अद्यावधिक गरिएको छैन।

सरकारका राम्रा कामको पार्टीभित्रैबाट चर्चा नभएको, समाजिक सञ्जालमा कुनै स्टाटस नलेखेको भन्दै गुनासो गरे। 

सरकारको कामबारे नेताहरुले सामाजिक सञ्जालमा दिनको दुई पटक लेख्नुपर्ने उनको भनाइ थियो।

तर, नेताले मात्रै होइन, संसारभरबाट हेर्न सक्ने वेबसाइट भने अलपत्र जस्तै छ।

यसपटक माओवादीका बैठकले पार्टीभित्रका आन्तरिक द्वन्द्वलाई समाधान गरेको सन्देश दिएको छ। 

१३ महिनापछि बसेको केन्द्रीय समितिका सबै निर्णय सार्वजनिक भइसकेका छन्। 

तर, त्यति महत्वपूर्ण र ऐतिहासिक निर्णय गर्न सफल भएको केन्द्रीय समितिको कुनै कुरा पनि वेवसाइटमा प्रकाशित भएका छैनन्। 

प्रधानमन्त्री समेत रहेकाले प्रचण्डको सचिवालयमा प्रेस सल्लाहकार छन्। आइटी विज्ञ पनि छन्, २० जनाबढी त सचिवालयमा काम गर्ने नै छन्। 

यस आधारमा वेबसाइट अपडेट गर्न जनशक्ति नभएको पक्कै होइन। 

माओवादीको वेबसाइट अद्यावधिक नभएको मात्रै होइन, पुराना सामग्री हेर्ने सुविधा पनि छैन।

माओवादीको स्थापना र जनयुद्धका केही विषय भए पनि वेबसाइटमा अहिलेसम्मका सबै महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति, पोलिटव्युरो, स्थायी र सचिवालयको नाम पनि छैन।

माओवादी पार्टी सञ्चालनका लागि पेरिसडाँडामा भव्य कार्यालय छ। मुख्यसचिव श्रीराम ढकाल छन्। सचिव डोरप्रसाद उपाध्याय पनि कार्यालयमै खटिन्छन्। 

माओवादीका महासचिव देवप्रसाद गुरुङ पनि कार्यालय पुग्छन् तर, वेबसाइट भने १७ महिनादेखि अध्यावधिक छैन।

पार्टी सदस्यता डिजिटलाइज्ड गरिरहेको माओवादीले वेबसाइटलाई भने वेवास्ता गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad