ad ad

राजनीति


अबका निर्वाचनमा विदेशका नेपालीहरु निर्णायक हुन्छन् : वर्षमान पुन

अबका निर्वाचनमा विदेशका नेपालीहरु निर्णायक हुन्छन् : वर्षमान पुन

नेपालखबर
साउन २४, २०८० बुधबार १४:७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन 'अनन्त'ले अबका निर्वाचनहरुमा विदेशमा रहेका नेपालीहरु निर्णायक हुने बताएका छन्। 

पुनले प्रविधिको उच्चतम् विकास र प्रयोगका कारण विदेशमा बसेका नागरिकको हैसियत मुलुकभित्रको राजनीतिक समीकरण बदल्ने सक्ने अवस्था आएको बताए। 

पार्टीहरुले यसअघि नागरिकका घर-घरमा गएर विचार प्रवाह गर्ने र संगठन निर्माण गर्ने अवस्थाको अन्त्य हुन सक्ने उनले बताए। 

‘आजको युग प्रविधिको हो। पहिला जसरी मानिसका घरघरमा गएर संगठन बनाउने र विचार राख्ने अवस्था नरहन सक्छ’, बुधबार पार्टीको उपत्यका विशेष प्रदेशको जिम्मेवारी सम्हाल्ने क्रममा पेरिसडाँडामा आयोजित कार्यक्रममा पुनले भने, ‘प्रविधिका कारण अबका निर्वाचनमा देशकाभन्दा बाहिर रहेका नेपालीहरु निर्णायक हुनेजस्तो देखिएको छ।’ 

उनले वैचारिक बहसको थलो पनि ‘डायस्पोरा’ नै हुन थालेको उल्लेख गरे। पुनले पार्टी सदस्यदेखि सबै कमिटीका नेता कार्यकर्तालाई आफ्ना एजेण्डाबारे सामाजिक सञ्जालबाट बहस सञ्चालन गर्न निर्देशनसमेत दिए।

उनले हरेक घरमा डिजिटल बहस हुने गरेको भन्दै एकै घरमा पनि फरकफरक विचारका मानिसहरु हुन थालेको स्मरण गरे। 

‘पहिला-पहिला मुखिया र जिम्मावालहरुको धारणा नै आममानिसको हुने जस्तो थियो। पछि राजनीतिक दलहरुका धारणामा मानिसहरु विभाजित थिए’, उनले भने, ‘अहिले त एउटा घरमा चार जना छ र फरक-फरक पेशामा छ भने चारैथरि विचारको छ, चारैवटा स्वार्थको प्रतिनिधित्व गरेको छ। प्रविधिले समाजको चरित्रमा बदलाब आएको छ।’ 

प्रविधिको उपयोग गर्न नजान्ने र नसक्नेहरुले राजनीतिमा टिक्न नसक्ने भन्दै पुनले पार्टीलाई प्रविधिमैत्री बनाउन आफू सक्रिय रहेको बताए। 

उनले नेपाल प्रविधिको व्यापारका लागि उपयुक्त थलो भएको भन्दै आगामी ५ वर्षभित्र वार्षिक ५ खर्ब रुपैयाँ प्रविधिका उत्पादन निर्यातबाट आम्दानी हुने प्रक्षेपण हालै मात्र सार्वजनिक भएको चर्चा गरे।

यद्यपि प्रविधिले नै उत्पादन गरेको कृत्रिम बौद्धिकता भने मानिसका लागि चुनौतीका रुपमा आएको तर्क पुनले गरे।

फरक प्रसंगमा पुनले सय केजी सुन प्रकरणमा पार्टीका कोही पनि नेताको संलग्नता पुष्टि हुने आधार भए कानूनी कठघरामा उभिनुपर्ने दोहोर्‍याए। 

‘यदि कुनै पनि तहको नेताले गल्ती गरेको रहेछ र छानबिनले देखाए ऊ जान्छ’, पुनले भने, ‘तर, आरोप लाग्दैमा कोही पनि अपराधी हुँदैन। आरोप लाग्दैमा हो हो भनेर जानु पनि हुँदैन।’ 

पुनले सुनमा तस्करी प्रकरणको छानबिन प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले गरिरहेको भन्दै त्यो सकिएपछि प्रतिपक्षी एमालेले भनेजस्तो विशेष समिति गठन गर्न सकिने विकल्प बाँकी रहेको औंल्याए। 

पुनलाई हालैको केन्द्रीय समिति बैठकले उपत्यका विशेष प्रदेश समितिको इन्चार्जको जिम्मेवारी दिएको छ। 

यसअघिका इन्चार्ज लीलामणि पोखरेलको बिदाइ पनि कार्यक्रममा गरियो। पोखरेल मधेस प्रदेशको इन्चार्जमा सरुवा भएका छन्। 

कार्यक्रममा पोखरेलले पुनजस्तो सक्रिय र राजनीतिक कुशलता भएको नेता पाएको भन्दै विशेष प्रदेश समितिलाई बधाई दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .