ad ad

कारोबार


वीरगञ्ज भन्सारको अनुगमन गर्दै अर्थमन्त्रीले भने : कर्मचारी इमान्दार भए राजस्वको लक्ष्य पूरा हुन्छ

वीरगञ्ज भन्सारको अनुगमन गर्दै अर्थमन्त्रीले भने : कर्मचारी इमान्दार भए राजस्वको लक्ष्य पूरा हुन्छ

नेपालखबर
साउन १८, २०८० बिहिबार १८:२, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले वीरगञ्ज भन्सार पुगेर कर्मचारीले मात्रै इमान्दार भएर काम गरे भन्सारको राजस्व बढ्ने बताएका छन्।

भन्सार तर्फको राजस्व कमजोर बनिरहेको अवस्थामा अर्थमन्त्री महतले कर्मचारीलाई इमान्दार बन्न भनेका हुन्।

बिहीबार अर्थमन्त्रीले वीरगञ्जस्थित सुख्खा बन्दरगाह र वीरगन्ज भन्सार कार्यालयको निरीक्षण गरेका छन्। महतले भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिएको भन्दै सबै इमान्दार बने सजिलै लक्ष्यमा पुग्न सक्ने बताए।

अर्थमन्त्री महतले आयात भएन, माग आएन भने भन्सार शुल्क नउठ्नु स्वभाविक भएको बताए। त्यसरी राजश्व नउठ्नु कर्मचारीको नियन्त्रण बाहिरको कुरा भएको बताए।

‘तर, बजारमा प्रशस्त मालवस्तु छ, तर राजश्व घटिरहेको छ भने त्यो अवस्थामा तपाईंहरुलाई प्रश्न गर्नेछन्’  मन्त्री महतले भने, ‘हामीले यथेष्ट काम गरेनौं, हामी जिम्मेवार भएनौं, हामीले आँखा चिम्ल्यौं अथवा हामीले सार्वजनिकभन्दा निजी फाइदालाई महत्व दियौँ भने राजस्व कम उठ्छ।’

उनले थपे, ‘दोस्रो यहाँ हामी अनावश्यक झन्झट दिन्छौं, जायज कुरालाई पनि यो भएन भन्छौं, अरु खाले माग गरिराख्यौं भने यो झन्झट व्यहोर्नुभन्दा व्यवसायीले जोखिम मोलेरै भए पनि अर्को बाटो रोज्छ। त्यो अवस्थामा प्रहरी प्रशासनको भूमिका रहन्छ।’

मन्त्री महतले राजश्वको लक्ष्य के छ? गत वर्ष कस्तो प्रगति भयो, के कारणले लक्ष्य प्राप्त गर्न सकिएन? कार्यालयको योजना के छ? यसको समाधान गर्ने बाटो के हुनसक्छ? मन्त्रालयसँग के अपेक्षा छ? भन्ने कुरामा सबै स्पष्ट रहेको मन्त्र महतले प्रष्ट पारे।

उनले भने, ‘हाम्रो आय स्रोतको ८० प्रतिशतभन्दा बढी राजश्वबाट प्राप्त हुन्छ। यो ८० प्रतिशतभन्दा बढी राजश्व हामीले भन्सार र आन्तरिक राजश्वबाट उठाउनुपर्छ। यो राजश्वबाट झन्डै आधा अर्थात् ४८ प्रतिशत भन्सारबाट उठाउनुपर्छ। भन्सार योगदानको ४० प्रतिशत सुख्खा बन्दरगाह भन्सार र बीरगन्ज भन्सार कार्यालयबाट प्राप्त हुन्छ। यस हिसाबले कर्मचारीको जिम्मेवारी कति गहन छ भन्ने बुझ्नुपर्छ।’

उनले भन्सार कार्यालयमा के भइरहेको छ भन्ने कुरा सबैले हेरिरहेको भन्दै सजग हुन कर्मचारीलाई आग्रह गरे।

‘राजश्वको लक्ष्य प्राप्त गर्नका लागि धेरै ठूलो जिम्मेवारी यी दुई भन्सार कार्यालयको छ। सुख्खा बन्दगाहमा के भइरहेको छ? वीरगन्ज भन्सार कार्यालयमा के भइरहेको छ? सबैले हेरिरहेका हुन्छन्’ उनले भने, ‘त्यहाँ त लक्ष्य प्राप्ति भएको छैन, हामीलाई मात्रै भन्ने? वीरगन्जमा हुनुपर्यो नि, सुख्खा बन्दगाहमा हुनुपर्यो भनेर तपाईंहरुलाई भन्ने छन्। त्यसकारण तपाईंहरु सजक रहनुहोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .